प्युठान अस्पताल : चुनौतीबीच सुधारको तीन वर्षे यात्रा

बिजय बिराज बिष्ट
प्युठान जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था प्युठान अस्पताल पछिल्ला केही वर्षयता सुधार, विस्तार र व्यवस्थापनका कारण चर्चामा रह्यो। राजनीतिक उतारचढाव,सीमित स्रोत–साधन र प्रशासनिक जटिलताबीच अस्पतालले सेवा विस्तारसँगै संरचनागत सुधारका काम अघि बढायो। तीन वर्षे कार्यकाल पूरा गर्दै अस्पताल विकास समितिको नेतृत्वले सार्वजनिक रूपमा आफ्नो अनुभव, उपलब्धि र चुनौतीहरू प्रस्तुत गरेको छ।
अस्पताल विकास समितिमा नियुक्त हुँदा अस्पतालको आन्तरिक अवस्था अत्यन्त जटिल रहेको थियो। कर्मचारी व्यवस्थापनदेखि सेवा सञ्चालनसम्मका विषय चुनौतीपूर्ण थिए। अस्पतालभित्र समन्वयको कमी,पुराना संरचनागत समस्या,सीमित पूर्वाधार र सेवाग्राहीको बढ्दो चापबीच सेवा प्रभावकारी बनाउनु नेतृत्वका लागि सहज थिएन। तर समस्यालाई टालटुल गर्नेभन्दा समाधान खोज्ने उद्देश्यसहित व्यवस्थापन पक्ष अघि बढेको दाबी गरिएको छ।


कार्यकालभर कार्यालय प्रमुख,विशेषज्ञ चिकित्सक,विभागीय प्रमुख तथा कर्मचारीहरूसँग समन्वय र सहकार्य गर्दै अस्पताललाई व्यवस्थित बनाउने प्रयास गरिएको थियो।नेतृत्वले चिफ मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्याल,सुपरिटेन्डेन्ट डा. सुभाष पौड्याल, डा. राजेन्द्र पौडेल, डा.प्रमिला खनाललगायत सम्पूर्ण चिकित्सक तथा कर्मचारीको भूमिकालाई महत्वपूर्ण मानेको छ।
यस अवधिमा अस्पतालले विभिन्न नयाँ सेवा तथा पूर्वाधार विस्तारका कामहरू अघि बढायो। विशेषगरी जिल्लामै हेमोडायलासिस सेवा सञ्चालनको पहललाई महत्वपूर्ण उपलब्धि मानिएको छ। मिर्गौला रोगीलाई उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनका लागि लामो समयदेखि पहल गरिएको थियो।यस अभियानमा लायन्स क्लब अफ प्युठान,सामाजिक अभियन्ता, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ,स्थानीय तह तथा विभिन्न संघ–संस्थाको सहयोग महत्वपूर्ण रहेको जनाइएको छ।


त्यसैगरी एसएनसीयू सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको,माइनर ओटी स्थापना गरिएको,अस्पतालको विद्युत समस्या समाधान गर्न छुट्टै ट्रान्सफर्मर जडान गरिएको तथा बिरामीको चाप व्यवस्थापन गर्न थप तीन ओटा ओपिडी कक्ष निर्माण गरिएको उल्लेख गरिएको छ। अस्पताल भवन मर्मत, सेवा कक्ष व्यवस्थापन र पूर्वाधार सुधारका काम पनि निरन्तर अघि बढाइएको दाबी गरिएको छ।
अस्पतालमा कार्यरत कर्मचारीको अवस्था सुधारतर्फ पनि केही कदम चालिएको जनाइएको छ। वर्षौंदेखि न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा उपलब्ध गराउने काम गरिएको छ। यसले कर्मचारीको मनोबल वृद्धि हुनुका साथै सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको दाबी गरिएको छ।
तर सुधार अभियानबीच अस्पतालले राजनीतिक र प्रशासनिक विवाद पनि झेल्नुपर्‍यो। नेतृत्व परिवर्तन,नियुक्तिसम्बन्धी विवाद तथा सर्वोच्च अदालतसम्म पुगेका मुद्दाले अस्पतालको व्यवस्थापनमा प्रभाव पारेको थियो। 


रोचक पक्ष के रह्यो भने तीन वर्षे कार्यकालमा एकपटक नियुक्ति र दुईपटक सर्वोच्च अदालतको फैसलामार्फत आफ्नो कार्यकाल पूरा गर्ने अवसर पनि मैले नै प्राप्त गरेँ।पदमा रहँदा वा नरहँदा पनि सेवाभावलाई पवित्र धर्म ठानी अस्पताल र जनताको सेवामा समर्पित रहने प्रयास गरियो।


यसबीचमा छड्के नियुक्तिको जिम्मेवारी सम्हाल्नु भएका आदरणीय दाजु सुभाष के.सि र भाइ कृष्ण बसेलप्रति मेरो कुनै आग्रह वा पूर्वाग्रह छैन। प्रदेश सरकारका राजनीतिक नियुक्तिका भागबन्डा र मन्त्रिपरिषद्का केही निर्णयहरू नै यस गडबडीका प्रमुख कारण र जिम्मेवार पक्ष भएको मेरो बुझाइ छ। तर यस विषयमा धेरै तल झर्नु उपयुक्त ठान्दिनँ।
हाल अस्पताल भवन निर्माण र लापत्ता ठेकेदारको समस्या अस्पतालको सबैभन्दा ठूलो चुनौती बनेको छ। भवन निर्माणमा भएको ढिलाइले सेवा विस्तार र व्यवस्थापनमा असर परेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
कार्यकाल पूरा गर्दै नेतृत्वले नवनियुक्त अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बसेललाई सफल कार्यकालको शुभकामना छ। साथै अस्पताल विकास समिति गठन गर्दा कानुनी अधिकारसहित जिल्ला समन्वय प्रमुख वा स्थानीय तहका प्रमुखलाई जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसमक्ष राखिएको छ।
स्वास्थ्य सेवा केवल पद र जिम्मेवारीसँग मात्र नजोडिने उल्लेख गर्दै नेतृत्वले पदमा रहँदा वा नरहँदा पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु साथै कार्यकालभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति,संस्था र सरोकारवालाप्रति आभार प्रकट गर्दछु।

 

अध्यक्ष बिष्ट आज ३ बर्षे कार्यकाल पूरा गरि बिदा हुनुभएको छ।