राम बहादुर बिश्वकर्मा
प्युठान,विद्यालय नेतृत्वलाई थप प्रभावकारी, उर्जाशील र मानसिक रूपमा सुदृढ बनाउने उद्देश्यले प्युठान नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूका लागि तीनदिने योग विज्ञान शिविर सञ्चालन गरेको छ।
दैनिक प्रशासनिक जिम्मेवारी,शैक्षिक व्यवस्थापन,अभिभावक समन्वय तथा विद्यार्थीको सिकाइ उपलब्धिलगायत विविध कार्यभारका कारण विद्यालय नेतृत्व तहमा बढ्दो मानसिक दबाबलाई ध्यानमा राख्दै स्वास्थ्य र शिक्षालाई एकसाथ जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
बाग्दुलामा सञ्चालन भइरहेको शिविरमा सहभागीहरूलाई योग,ध्यान,प्राणायाम,आसन अभ्यास,तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकाससम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिँदैछ। प्रशिक्षकहरूले योगलाई स्वस्थ शरीर,शान्त मन र सन्तुलित जीवनशैलीको आधारका रूपमा व्याख्या गर्दै नियमित अभ्यासले कार्यक्षमता,आत्मविश्वास र मानसिक सन्तुलन वृद्धि हुने बताएका छन्।
सहभागी प्रधानाध्यापक तथा विद्यालय प्रतिनिधिहरूले कार्यक्रमले आफूहरूलाई शारीरिक ताजगीसँगै मानसिक शान्ति र सकारात्मक उर्जा प्रदान गरेको बताएका छन्। विद्यालयमा सिकाई वातावरणलाई थप अनुशासित,मैत्रीपूर्ण र प्रभावकारी बनाउन यस्ता अभ्यास उपयोगी हुने उनीहरूको भनाई छ।
शिविरबाट प्राप्त ज्ञान र अभ्यासलाई आफ्ना विद्यालयमा शिक्षक तथा विद्यार्थीमाझ विस्तार गर्ने योजना सहभागीहरूले व्यक्त गरेका छन्। यसले विद्यालयमा योग संस्कृतिको विकास भई विद्यार्थीको एकाग्रता,अनुशासन र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले योग र ध्यान केवल शारीरिक अभ्यासमा सीमित नरही व्यक्तिको जीवनशैलीसँगै सोचमा समेत सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।
उहाँका अनुसार नियमित योग अभ्यासले शरीरलाई स्वस्थ बनाउनुका साथै मनलाई शान्त,विचारलाई स्पष्ट र व्यवहारलाई अनुशासित बनाउने भएकाले समग्र व्यक्तित्व विकासमा यसको महत्वपूर्ण भूमिका रहन्छ।योगले मानिसको दृष्टिकोण परिवर्तन गर्दै सकारात्मक सोच विकास गर्न मद्दत गर्ने उहाँले उल्लेख गर्नुभयो।
नगर प्रमुख योगीले विद्यालयका शिक्षकहरू समाज परिवर्तनका प्रमुख संवाहक भएकाले उनीहरूमा विकास भएको सकारात्मक सोच र व्यवहार विद्यार्थी हुँदै समाजसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई केवल औपचारिक शिक्षाको केन्द्रका रूपमा मात्र नभई असल संस्कार, नैतिक मूल्य र जिम्मेवार नागरिक निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
प्युठान नगरपालिकाका प्रवक्ता सुमन राज श्रेष्ठले योग तथा ध्यानसम्बन्धी तालिमले सहभागी शिक्षक तथा प्रतिनिधिहरूलाई आफ्ना विद्यालयमा पुगेर विद्यार्थीहरूलाई समेत व्यवहारिक रूपमा प्रशिक्षण दिन सहज हुने बताउनुभयो।उहाँले विद्यालयस्तरबाटै योग संस्कृतिको विकास गर्न सके विद्यार्थीमा मानसिक सन्तुलन,आत्मअनुशासन र सकारात्मक सोच विकास हुने उल्लेख गर्नुभयो।
उहाँका अनुसार आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण विद्यार्थीमा बढ्दो तनाव र अस्थिरता न्यूनीकरण गर्न योग र ध्यान प्रभावकारी माध्यम बन्न सक्छ। नियमित अभ्यासले सिकाइ वातावरणलाई थप अनुशासित,स्वस्थ र सिर्जनशील बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ।
विद्यालय नेतृत्वलाई योगमार्फत सकारात्मक उर्जा प्रदान गर्ने नगरपालिकाको यो पहललाई शिक्षा र स्वास्थ्यबीचको सन्तुलित अभ्यासका रूपमा हेरिएको छ। कार्यक्रमको सञ्चालन प्युठान नगरपालिकाका शिक्षा शाखा प्रमुख बासु पण्डितले गर्नुभएको थियो भने प्रशिक्षणको सहजीकरण प्रशिक्षक चिन्तामणि योगी र प्रकाश पाण्डेले गरिरहनुभएको छ।
प्रतिक्रिया राख्नुहोस्