सिता बि.क
प्युठान,प्युठानको शिक्षा इतिहासमा महत्वपूर्ण स्थान ओगटिरहेको स्वर्गद्वारी बहुमुखी क्याम्पसले आफ्नै १२औँ अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै आवश्यकता,अवसर र परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ। क्याम्पसको प्रगति र सुशासनका लागि महत्वपूर्ण मानिने क्याम्पस सञ्चालक समितिमा यस वर्ष विविध अनुभव,पृष्ठभूमि र दृष्टिकोण भएका प्रतिनिधिहरू निर्वाचित भएका छन्।
अधिवेशनले अध्यक्षमा हुकुमबहादुर बिष्टलाई सर्वसम्मतका आधारमा नेतृत्व प्रदान गरेको छ। शिक्षा क्षेत्रप्रति दीर्घकालीन अनुभव र संस्थागत विकासप्रतिको सक्रिय सोचका कारण बिष्टलाई आगामी दिनमा क्याम्पसका उच्च प्राथमिकताहरू गुणस्तरीय शिक्षा,पूर्वाधार सुदृढीकरण र पारदर्शी व्यवस्थापन अगाडि बढाउने क्षमता भएको नेतृत्वका रूपमा हेरिएको छ।
समितिमा नेहरसिंह केसी,केशव कर्माचार्य,डिलबहादुर थापा,डिमराज पोख्रेल,पदमा पण्डित,पार्बता आचार्य,धना कार्की र अर्जुनकुमार कक्षपती सदस्यका रूपमा निर्वाचित हुँदा क्याम्पसले बहुआयामिक क्षमता जोडेको देखिन्छ।
शैक्षिक तथा सामाजिक संरचनामा सक्रिय योगदानकर्तादेखि प्रशासनिक अनुभव बोकेका व्यक्तिहरूसम्म यो टोलीमा समावेश हुनु क्याम्पसको समग्र विकासका लागि सकारात्मक संकेत मानिन्छ।
महिला सदस्यहरूको प्रभावकारी प्रतिनिधित्व र समावेशितातर्फ क्याम्पसले गरेको प्रतिबद्धता झल्किन्छ।
भूमिकाअनुसार जिम्मेवारी बाँडफाँट र सामूहिकतामा आधारित निर्णय प्रक्रियाले क्याम्पसलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
अधिवेशनले केवल नयाँ नेतृत्व मात्र चयन गरेको छैन,यसले क्याम्पसलाई आधुनिक शिक्षाको प्रतिस्पर्धी वातावरणमा रुपान्तरण गर्ने मार्गचित्र पनि कोरेको छ। समुदायको निरन्तर विश्वास,विद्यार्थीहरूको आकांक्षा र प्रध्यापक -उप प्रध्यापक र कर्मचारीहरूको समर्पणले आगामी दिनमा क्याम्पसलाई अझ उचाइतर्फ बढाउने संकेत दिएको छ।
स्वर्गद्वारी बहुमुखी क्याम्पसको नयाँ नेतृत्व जब जिम्मेवारी र अपेक्षाका बीच यात्रा सुरु हुन्छ,त्यतिबेला शिक्षा र परिवर्तनको वास्तविक चित्र भविष्यले कोरिदिन्छ।
प्रतिक्रिया राख्नुहोस्