गुरुहरूको मार्गदर्शनले आजको “म”- क्याम्पस अधिवेशनमा मन्त्री राणाको आत्मीय सम्बोधन

गुरुहरूको मार्गदर्शनले आजको “म”- क्याम्पस अधिवेशनमा मन्त्री राणाको आत्मीय सम्बोधन

राम बहादुर बिश्वकर्मा 
प्युठान,स्वर्गद्वारी बहुमुखी क्याम्पसको १२औँ अधिवेशन तथा १४औँ क्याम्पस सभा मङ्गलबार सम्पन्न भएको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णध्वज खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाको प्रमुख आतिथ्यतामा क्याम्पसको सभाहल, पुण्यखोलामा कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख अतिथि मन्त्री राणाले आफ्नो विद्यार्थी जीवन स्मरण गर्दै क्याम्पसका गुरुजन तथा अग्रजहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो-“क्याम्पसको आमन्त्रणलाई म सम्मानका रूपमा लिन्छु। यहाँका गुरुहरूकै मार्गदर्शनका कारण आज म यो स्थानमा छु।”
क्याम्पस विकाससम्बन्धी योजनामा सरकार गम्भीर रहेको बताउँदै मन्त्री राणाले यस वर्ष अनुभवको कमीका कारण क्याम्पसमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको खुलासा गर्नुभयो उहाँले थप भन्नुभयो
“प्युठानलाई समृद्ध र शैक्षिक रूपमा सक्षम बनाउनु मेरो लक्ष्य हो। आगामी वर्ष क्याम्पसको भौतिक,शैक्षिक तथा प्राविधिक विकासलाई शीर्ष प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरिनेछ।”
क्याम्पसमा भौतिक संरचना निर्माणका लागि दीर्घकालीन र निशुल्क सहयोग गर्दै आएका जिल्लाका प्रतिष्ठित व्यवसायी मेगराज कक्षपतिलाई कार्यक्रममा दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।
क्याम्पसका अध्यक्ष खड्काले कक्षपतिबाट प्राप्त सहयोगले क्याम्पसको भौतिक विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।
त्यस्तै कार्यक्रममा क्याम्पसले आगामी वर्षका लागि केही प्रमुख योजनाहरू पनि प्रस्तुत गरेको छ।
नयाँ शैक्षिक र प्राविधिक कार्यक्रम सञ्चालन,पुस्तकालय तथा प्रयोगशाला सुदृढीकरण,क्याम्पस भवनको विस्तार,विद्यार्थी सहायता कार्यक्रम विस्तार,स्थानीय तहसँग समन्वय गर्दै शैक्षिक गुणस्तर उन्नयन लगायत रहेका छन।
क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले क्याम्पसलाई प्युठानको प्रमुख शिक्षा केन्द्रको रूपमा विकसित गर्न सबै तहबाट सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।