राम बहादुर बिश्वकर्मा
प्युठान,शिक्षा क्षेत्रमा निरन्तर लगानी र प्रतिबद्धताले मात्र समाजको दीर्घकालीन विकास सम्भव हुन्छ भन्ने विश्वासका साथ प्युठान नगरपालिकाले आफ्नो शिक्षाप्रति प्रतिबद्धता जारी राखेको छ। पुराना माध्यमिक विद्यालयहरूको पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै यसैक्रममा भुवनेश्वरी माध्यमिक विद्यालय,खैरामा नयाँ ४ कोठे भवन निर्माण सम्पन्न भएको छ।
विद्यालयको वार्षिकोत्सव समारोहमा नगर प्रमुख विष्णु योगिले भवन विधिवत हस्तान्तरण गर्दै विद्यार्थी,शिक्षक र अभिभावकहरूसँग आफ्नो खुसी साट्नुभयो। समारोहमा विद्यार्थीहरूको उत्साहित मुद्रा,शिक्षकहरूको गर्व र अभिभावकहरूको खुशीले वातावरण उत्सवपूर्ण बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख योगिले समारोहमा भन्नुभयो,“प्युठान नगरपालिका शिक्षा क्षेत्रमा पूर्वाधार निर्माण,गुणस्तर सुधार र आधुनिक शिक्षण प्रक्रियामा निरन्तर सहकार्य गर्ने प्रतिबद्धतामा दृढ छ। यस नयाँ भवनले विद्यार्थीहरूको सिकाइ वातावरणलाई सुरक्षित,सक्षम र प्रेरणादायी बनाउने छ।”उहाँका अनुसार नवनिर्मित भवनले केवल भौतिक सुविधा मात्र नभई विद्यार्थीहरूको सिकाइ क्षमता,मनोबल र आत्मविश्वासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ।
त्यस्तै नगर उपप्रमुख देवेन्द्र वर्माले शिक्षा क्षेत्रमा निरन्तर लगानी र समर्पणले मात्र दीर्घकालीन प्रभाव पार्दैन,यसले समाजको भविष्य र बालबालिकाको प्रतिभा विकास सुनिश्चित गर्छ।उहाँले भन्नुभयो।
वर्माका अनुसार,“हामी हरेक बालबालिकालाई सक्षम,सुरक्षित र प्रेरणादायी शिक्षण वातावरण उपलब्ध गराउन प्रतिबद्ध छौं।”
प्युठान नगरपालिका यसअघि पनि नगरका विद्यालयहरूमा पूर्वाधार सुधार,गुणस्तर सुधार र आधुनिक शिक्षण प्रक्रियामा निरन्तर सहकार्य गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्