राम बहादुर बिश्वकर्मा
प्यूठान,स्वास्थ्य समस्या देखिएपछि मात्रै उपचार खोज्ने होइन,नागरिकको स्वास्थ्य अवस्थाबारे चासो राख्दै उनीहरू भएकै ठाउँमा पुगेर सेवा दिने उद्देश्यसहित बिजुवारस्थित निमतारा पोलिक्लिनिकले सामाजिक सेवाको पहललाई निरन्तरता दिएको छ। व्यापारिक व्यस्ततासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको पोलिक्लिनिकले यसपटक मल्लरानी गाउँपालिका–४ सारिबाङमा आयोजित पूर्णिमा मेलामा निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ। उक्त सेवाबाट करिब ६७ जना नागरिक लाभान्वित भएका छन्।
पोलिक्लिनिकका अनुसार शिविरमा सुगर,प्रेसर,ग्यास्ट्राइटिसलगायत स्वास्थ्य समस्यासम्बन्धी परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यकताअनुसार औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।
तिहारपछि बर्सेनि लाग्ने पूर्णिमा मेलामा रमाइलो गर्न पुगेका ज्येष्ठ नागरिक,महिला,बालबालिका तथा अन्य सर्वसाधारणले मेलाकै अवसरमा स्वास्थ्य परीक्षण गराउने सुविधा पाए। मेला घुम्न र आफन्तसँग भेटघाट गर्न आएका नागरिकका लागि स्वास्थ्य जाँचको अवसर थपिएपछि मेला सेवामूलक गतिविधिसँग पनि जोडिएको छ।
निमतारा पोलिक्लिनिकका सञ्चालक डा. सुवास जिसीले जिल्लावासीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर निःशुल्क परीक्षणको व्यवस्था मिलाएका हुन्। उनका लागि यो कार्यक्रम केवल स्वास्थ्य परीक्षण गराउने अभियान मात्र नभई जिल्लावासीसँग जोडिने र उनीहरूको स्वास्थ्यमा सहयोग पुर्याउने अवसर पनि हो।
प्यूठानका धेरै नागरिक व्यस्त जनजीवन र आर्थिक अभावका कारण स्वास्थ्यमा समस्या देखिँदासमेत सहज रूपमा परीक्षण गराउन नसक्ने अवस्थामा रहेको डा. जिसी बताउँछन्। मेलामा रमाइलोका लागि आएका नागरिकलाई स्वास्थ्य सेवा दिन पाउँदा आफूलाई विशेष खुसी लागेको उनको भनाइ छ।
‘प्यूठान जिल्लाका आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको व्यस्त जनजीवन र आर्थिक अभावका बीच स्वास्थ्य समस्या पनि थपिने गरेको छ। उहाँहरूलाई मेलाकै अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा मलाई खुसी लागेको छ,’ उनले भने।
जिल्लावासीलाई सहयोग गर्न पाउनु आफ्नो लागि सन्तुष्टिको विषय भएको उनी बताउँछन्।स्वास्थ्य सेवा सहज पहुँचमा नहुँदा सामान्य समस्यालाई समेत बेवास्ता गर्नुपर्ने अवस्था ग्रामीण क्षेत्रमा अझै देखिन्छ। यस्तो अवस्थामा नागरिकको जमघट हुने मेला तथा सार्वजनिक कार्यक्रममा स्वास्थ्य परीक्षणजस्ता सेवा सञ्चालन गर्नु प्रभावकारी माध्यम बन्न सक्छ।

प्रतिक्रिया राख्नुहोस्