संगठनको समीक्षा र नयाँ कार्यदिशाको खोजीमा मुक्ति समाज नेपाल,केन्द्रीय बैठक च्यासलमा

संगठनको समीक्षा र नयाँ कार्यदिशाको खोजीमा मुक्ति समाज नेपाल,केन्द्रीय बैठक च्यासलमा

ललितपुर,संगठनको राजनीतिक तथा सांगठनिक अवस्थाको समीक्षा गर्दै आगामी कार्ययोजना र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित मुक्ति समाज नेपालको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा संगठनका अध्यक्ष मनोहर बी. पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा राजनीतिक परिस्थिति,संगठनको अवस्था,राष्ट्रिय सम्मेलनका उपलब्धि तथा आर्थिक गतिविधिसहित विभिन्न विषयले प्रवेश पाएका छन्।
बैठकको पहिलो दिन अध्यक्ष पौडेलले निर्धारित कार्यसूचीसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। महासचिव अनुभूति बम नेपालीले सांगठनिक प्रतिवेदनमार्फत संगठनका गतिविधि र अवस्थाबारे जानकारी गराएकी छन्। त्यसैगरी उपमहासचिव सोम पोर्तेलले राष्ट्रिय सम्मेलनको समग्र प्रतिवेदन तथा अर्थसचिव कल्पना बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन्।
यसैक्रममा निर्वाचन आयोगका तर्फबाट सुन्दर विश्वकर्मा र लेखा आयोगका तर्फबाट गोपाल परियारले आ–आफ्ना प्रतिवेदन बैठकमा पेस गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै जनसंगठन समन्वय संयन्त्रका प्रमुख विशाल भट्टराईले संगठनको महत्व र भूमिकाबारे धारणा राखेका थिए। संगठनका इन्चार्ज जितु गौतमको समेत उपस्थिति रहेको बैठकमा प्रस्तुत प्रतिवेदनलाई आगामी छलफल र निर्णयको आधारका रूपमा लिइएको छ।
बैठकको दोस्रो दिन प्रस्तुत सबै प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले आफ्नो धारणा, सुझाव र समीक्षा प्रस्तुत गर्नेछन्। छलफलबाट प्राप्त निष्कर्षका आधारमा संगठनका आगामी योजना,प्राथमिकता र कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णय लिने तयारी गरिएको छ।
पार्टी नेतृत्वको सम्बोधनसमेत रहने दोस्रो दिनको बैठक भोलि बिहान ८ बजे पुनः सुरु हुनेछ। त्यसपछि महत्वपूर्ण निर्णयसहित बैठक समापन गरिने कार्यक्रम रहेको छ।
मुक्ति समाज नेपालको यो बैठकलाई संगठनको वर्तमान अवस्थाको समीक्षा गर्ने मात्र नभई आगामी राजनीतिक तथा सांगठनिक यात्रालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ।