प्यूठान अस्पतालबाटै अब पायल्स,एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया हुने

प्यूठान अस्पतालबाटै अब पायल्स,एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया हुने

राम बहादुर विश्वकर्मा
प्यूठान,पायल्स,एपेन्डिक्स,पित्तथैलीको पत्थरीलगायत विभिन्न शल्यक्रियाका लागि अब प्यूठानवासीले जिल्ला बाहिर धाउनुपर्ने बाध्यता कम हुने भएको छ। जिल्ला अस्पताल प्यूठानले सोमबारदेखि जनरल सर्जरी सेवा सुरु गरेसँगै जिल्लामै विभिन्न प्रकारका शल्यक्रिया गर्ने सुविधा थपिएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बसेल (रोयल कृष्ण) ले लामो समयदेखिको प्रयासपछि अस्पतालमा सर्जन सेवा सञ्चालन गर्न सफल भएको बताउनुभयो। जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने लक्ष्यअनुसार सेवा सुरु गरिएको उहाँको भनाइ छ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलका अनुसार जनरल सर्जरी सेवाबाट पेट,मलद्वार,पित्तथैली, छाला तथा नरम तन्तुसम्बन्धी विभिन्न समस्याको शल्यक्रिया गर्न सकिनेछ।
उहाँका अनुसार पायल्स तथा मलद्वारसम्बन्धी समस्या,एपेन्डिक्सको अप्रेसन,आन्द्रामा अवरोध हुँदा गरिने शल्यक्रिया,पेटभित्रका विभिन्न समस्याको उपचार,पित्तथैलीमा पत्थरी हुँदा गरिने अप्रेसन र आवश्यकताअनुसार पित्तथैली निकाल्ने सेवा उपलब्ध हुनेछ।
त्यस्तै शरीरमा देखिने बोसोको गाँठो (लिपोमा), सिस्ट तथा अन्य गाँठागुँठी निकाल्ने,फोका तथा पिप जमेको ठाउँ चिरेर सफा गर्ने,स्तनमा गाँठो देखिएमा आवश्यक शल्यक्रिया गर्ने र स्तनको बायोप्सीलगायतका सेवा पनि सञ्चालन हुने डा. पौडेलले जानकारी दिनुभयो।
शल्यक्रिया सेवा सञ्चालनका लागि दुई जना एनेस्थेटिस्टको व्यवस्थासमेत गरिएको उहाँले बताउनुभयो।
यसअघि यस्ता शल्यक्रियाका लागि बिरामीले जिल्ला बाहिरका अस्पताल पुग्नुपर्ने अवस्था थियो। उपचारका लागि टाढा जानुपर्दा लाग्ने यातायात खर्च,बसाइ र समयको भार अब कम हुने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका नागरिकलाई यस सेवाले सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बसेलले सर्जन सेवामा मात्रै सीमित नभई आगामी दिनमा अन्य विशेषज्ञ सेवा पनि थप गर्दै जाने बताउनुभएको छ।
जिल्ला अस्पतालमा जनरल सर्जरी सेवा सञ्चालन हुनु प्यूठानको स्वास्थ्य पूर्वाधार र उपचार सेवाको दायरा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। अब स्थानीय नागरिकले आफ्नै जिल्लामा विभिन्न शल्यक्रियासम्बन्धी उपचार पाउने अपेक्षा गरिएको छ।