शिक्षक संगठनको नेतृत्वमा घर्ती,२९ सदस्यीय टिमले सम्हाल्यो जिम्मेवारी

शिक्षक संगठनको नेतृत्वमा घर्ती,२९ सदस्यीय टिमले सम्हाल्यो जिम्मेवारी

राम बहादुर बिश्वकर्मा
प्यूठान,शिक्षकका पेशागत अधिकार,संगठनात्मक एकता र शिक्षाको गुणस्तर सुधारका विषयलाई केन्द्रमा राख्दै नेपाल शिक्षक संगठन प्युठानले नयाँ नेतृत्व चयन गरेको छ।संगठनको सातौँ जिल्ला अधिवेशनले नरबहादुर घर्तीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो।
शिक्षकका समस्या र शैक्षिक क्षेत्रका चुनौतीलाई सामूहिक रूपमा उठाउनुपर्ने आवश्यकताबीच सम्पन्न अधिवेशनले संगठनको आगामी यात्राका लागि नयाँ नेतृत्व र जिम्मेवारी तय गरेको छ। अधिवेशनमा शिक्षकका पेशागत हकहितको संरक्षणदेखि विद्यालयको शैक्षिक वातावरण सुधारसम्मका विषयले प्राथमिकता पाएका थिए।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जायश्वर जैसी,उपाध्यक्षमा तेज पी.एम.,महिला उपाध्यक्षमा सीता के.सी,सचिवमा विजयसागर गिरी,सहसचिवमा जुना रायमाझी र कोषाध्यक्षमा टिकाराम रिजाल चयन हुनुभएको छ।
अधिवेशनका क्रममा उठेका विचारहरूले शिक्षकको भूमिका कक्षाकोठामा पाठ्यक्रम पूरा गराउने जिम्मेवारीमा मात्र सीमित नरहेको स्पष्ट पारे।समाजमा चेतना अभिवृद्धि, असल नागरिक निर्माण र राष्ट्रको भविष्य निर्धारणमा शिक्षकको महत्वपूर्ण योगदान रहने भएकाले उनीहरूको पेशागत सम्मान,सुरक्षा र अधिकार सुनिश्चित हुनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
शिक्षकका समस्या समाधानका लागि संगठनले आवाज उठाउनुका साथै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने र शैक्षिक गुणस्तर अभिवृद्धिमा पनि जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिएको थियो। शिक्षक संगठनहरूबीच सहकार्य,आपसी सद्भाव र एकताले मात्रै साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन सकिने सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डे र विशेष अतिथि नेकपा लुम्बिनी प्रदेशका सहसंयोजक कृष्ण अधिकारी ‘प्रकाश’ रहनुभएको थियो।अधिवेशनको अध्यक्षता जिल्ला अध्यक्ष कमल जि.सी ले गर्नुभएको थियो।
नेकपा जिल्ला संयोजक यक्षबहादुर के.सी,झिम्रुक गाउँपालिका अध्यक्ष पीत बहादुर महतरा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगी,नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठ,युवा नेता लिलासिंह के.सी लगायतको उपस्थिति रहेको थियो।
विभिन्न राजनीतिक दलसम्बद्ध शिक्षक संगठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै शिक्षकका साझा सवालमा एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए।कार्यक्रमको सञ्चालन गोपालप्रसाद घिमिरेले गर्नुभएको थियो।