आमाबुवाको स्मृतिमा सामाजिक सेवाको बाटो रोज्दै पोख्रेल दाजुभाइ

आमाबुवाको स्मृतिमा सामाजिक सेवाको बाटो रोज्दै पोख्रेल दाजुभाइ

प्युठान,आफ्ना आमाबुवाको सम्झनालाई केवल मन र तस्बिरमा सीमित नराखी सामाजिक सेवामार्फत जीवन्त बनाउने एउटा सुन्दर प्रयास प्युठानमा देखिएको छ । स्वर्गीय बुवा सुरेश पोख्रेल र आमा सरिता पोखरेलको स्मृतिमा दुई दाजुभाइ सचिन पोख्रेल र सुवर्ण पोख्रेलले विपन्न, असहाय तथा अशक्त परिवारलाई खाद्यान्न सहयोग गरेका छन्।
प्युठान नगरपालिका–२, क्वाडीका सचिन र सुवर्णले आफ्नो स्वर्गीय आमाबुवाको सम्झनामा प्युठान नगरपालिका–२ का ३० अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका हुन्।
दैनिक गुजारा चलाउनसमेत कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गर्दै उनीहरूले चामल, दाल, नुन, तेललगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरेका छन्। बिहान–बेलुकाको छाक टार्न संघर्ष गरिरहेका तथा आर्थिक अभावका कारण आधारभूत आवश्यकता पूरा गर्न नसकिरहेका परिवारका लागि यो सहयोग केही राहत र आशाको माध्यम बनेको छ । सानो सहयोगले विपन्न परिवारलाई सहयोग पुग्ने अपेक्षा पोख्रेलको छ । 
मानिसले आफ्ना प्रियजन गुमाएपछि उनीहरूको सम्झना विभिन्न तरिकाले गर्ने गर्छन्। कसैले स्मृतिमा कार्यक्रम आयोजना गर्छन् त कसैले धार्मिक तथा सामाजिक कार्य गर्छन्। तर सचिन र सुवर्ण पोख्रेलले भने आफ्ना स्वर्गीय आमाबुवाको सम्झनालाई विपन्न नागरिकको सेवासँग जोड्ने प्रयास गरेका छन्।
आर्थिक अवस्था कमजोर भएका, असहाय तथा अशक्त नागरिकलाई लक्षित गरी गरिएको खाद्यान्न सहयोगले स्थानीय स्तरमा मानवीय सेवाको महत्त्वलाई पुनः उजागर गरेको छ।
कसैका लागि चामल, दाल, नुन र तेल सामान्य दैनिक उपभोग्य वस्तु हुन सक्छन्। तर आर्थिक अभावमा गुजारा गरिरहेका परिवारका लागि यिनै सामग्री जीवनयापनका महत्त्वपूर्ण आधार हुन्।
त्यसैले सहयोगको मूल्य सामग्रीको परिमाणमा मात्र होइन, त्यो सहयोग आवश्यक परेको समयमा कसैको घरसम्म पुग्न सक्यो कि सकेन भन्ने कुरामा पनि निर्भर हुन्छ। सचिन र सुवर्णको यो प्रयासले सहयोगको वास्तविक अर्थ बुझाउने काम गरेको छ।
पछिल्लो समय समाजमा व्यक्तिगत उपलब्धि र स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिका बीच अरूको दुःखमा साथ दिने यस्ता सामाजिक कार्यले समुदायमा सहयोग, सद्भाव र मानवीयताको भावना बलियो बनाउन मद्दत गर्छन्।