वर्षमान पुनको अभिव्यक्तिमा सूर्य थापाको प्रतिवाद,एमाले एकताका लागि आतुर छैन

वर्षमान पुनको अभिव्यक्तिमा सूर्य थापाको प्रतिवाद,एमाले एकताका लागि आतुर छैन

राम बहादुर बिश्वकर्मा 
प्यूठान,नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनको अभिव्यक्तिलाई लिएर एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।उनले एमाले कुनै पार्टीसँग एकता गर्न आतुर नरहेको स्पष्ट पार्दै राजनीतिक मुद्दाका आधारमा सहकार्य गर्ने नीति रहेको बताएका छन्।
फेसबुक पेजमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले पुनका अभिव्यक्तिलाई भ्रम र आत्मरतिको संज्ञा दिएका छन्। उनले नेकपा सँग पार्टी एकता गर्न एमालेका नेता तथा कार्यकर्ता आतुर नरहेको उल्लेख गर्दै एकताको चर्चालाई अनावश्यक भ्रमका रूपमा व्याख्या गरेका छन्।
थापाका अनुसार नेकपा (एमाले) को वर्तमान नीति पार्टी एकताभन्दा राजनीतिक मुद्दाका आधारमा सहकार्य गर्नु हो। प्रदेश सरकारमा सहकार्य गर्ने,संसद र सडकमा संयुक्त संघर्ष गर्ने तथा विभिन्न राजनीतिक दलबीच मुद्दाआधारित कार्यगत एकता कायम गर्ने एमालेको नीति रहेको उनले बताएका छन्।
उनले बढीमा स्थानीय तहमा चुनावकेन्द्रित तालमेल हुन सक्ने सम्भावना औँल्याए पनि पार्टी एकता भने नहुने स्पष्ट पारेका छन्। ‘पार्टी एकता हुने छैन,गरिने छैन र यस्ता वाहियात भ्रममा पर्नुपर्ने पनि जरूरी छैन,’ थापाले लेखेका छन्।
विगतमा भएका राजनीतिक सहकार्यका अनुभव र विभिन्न प्रदेशमा भइरहेका गतिविधिलाई समेत उल्लेख गर्दै उनले एकताको चर्चा गर्नुअघि त्यसको राजनीतिक आधार र परिणामबारे बुझ्नुपर्ने आशय व्यक्त गरेका छन्।
पद,प्रतिष्ठा र व्यक्तिगत स्वार्थका कारण एकताको अपेक्षा गरिएको हो भने त्यस्तो भ्रमबाट मुक्त हुनुपर्ने उनको टिप्पणी छ। एमालेको संगठनात्मक अवस्था,राजनीतिक नीति र पार्टीपंक्तिको धारणा नबुझी एकताको विषयमा धारणा बनाउनु उचित नहुने उनको भनाइ छ।थापाले आफ्नो अभिव्यक्तिको अन्त्यमा एमालेको राजनीतिक पहिचान र संगठनात्मक धरातल बुझ्न अझै बाँकी रहेको उल्लेख गर्दै लेखेका छन,‘एमाले चिन्न धेरै बाँकी र कठिन छ।’
उनको यो अभिव्यक्तिले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको सम्भावनाबारे भइरहेको चर्चामा एमालेका तर्फबाट असहमति सार्वजनिक गरेको छ। साथै,पार्टी एकताभन्दा राजनीतिक मुद्दामा आधारित सहकार्यलाई प्राथमिकता दिने उनको धारणा स्पष्ट पारेको छ।