राम बहादुर बिश्वकर्मा
प्यूठान,जीवन सधैँ सोचेजस्तो हुँदैन। कहिलेकाहीँ एउटा दुर्घटनाले मानिसको जीवनको लय नै बदलिदिन्छ। प्यूठान नगरपालिका–३ चकृबाङका हिमाल के.एम.को जीवनमा पनि त्यस्तै भयो।एक वर्षअघि भएको ट्याक्टर दुर्घटनाले उनको हिँडडुल गर्ने क्षमता खोस्यो।ढाड भाँचिएपछि लामो समय उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार आएन।अहिले उनी बिस्तारामै दिन बिताउन बाध्य छन्।
दुर्घटनाअघिको सामान्य दैनिकी अहिले उनका लागि सम्झनामा सीमित भएको छ।आफैँ हिँडडुल गर्न र दैनिक काम गर्न नसक्दा अरूको सहारा लिनुपर्ने अवस्था छ।शारीरिक कठिनाइसँगै जीवनलाई सहज बनाउने चुनौती पनि थपिएको छ।
हिमालको यही अवस्थालाई मध्यनजर गर्दै प्यूठान नगरपालिकाले सहयोगको हात अघि बढाएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष सुमनराज श्रेष्ठ हिमालको घरमै पुगेर एक थान ह्विलचेयर हस्तान्तरण गरेका छन।
अशक्त हिमाल के.एम लाई ह्विल चिएर हस्तान्तरण पछि प्युठान नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ
नगर प्रवक्ता श्रेष्ठले अपाङ्गता भएका नागरिकलाई दयाभन्दा पनि आवश्यकताअनुसार सहयोग र सहज जीवनयापनको वातावरण आवश्यक रहेको बताए। “अपाङ्गता भएका नागरिकलाई दया होइन,आवश्यकताअनुसार सहयोग र सहज जीवनयापनको वातावरण चाहिन्छ। उहाँहरूको समस्या बुझेर स्थानीय तहबाट गर्न सकिने सहयोगलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो मान्यता हो,” उनले भने।
नगरपालिकाको सहयोगमा उपलब्ध गराइएको ह्विलचेयरले हिमालको आवतजावत र दैनिक जीवनयापनमा सहजता थप्ने अपेक्षा गरिएको छ। लामो समयदेखि बिस्तारामा सीमित रहँदै आएका उनका लागि यो सहयोग सामान्य सामग्री हस्तान्तरण मात्र नभई कठिन दैनिकीमा सहजता थप्ने प्रयास पनि हो।
शारीरिक अवस्थाका कारण विभिन्न चुनौती सामना गरिरहेका नागरिकसम्म स्थानीय सरकारको सहयोग पुग्न सके उनीहरूको जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।हिमाललाई प्रदान गरिएको ह्विलचेयरले पनि उनको दैनिक जीवनमा केही सहजता थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्