राम बहादुर बिश्वकर्मा
प्यूठान,बाबुको काख र मायाको अर्थ बुझ्ने उमेरसमेत नपुगेका अढाई वर्षीय बालकले अकस्मात् आफ्नो अभिभावक गुमाएका छन्। भारतको नयाँ गुडगाउँमा भएको दुर्घटनामा बाबुराम रोकाको निधन भएपछि झिमरुक गाउँपालिका–४, कुन्टेपानीको परिवार शोकमा डुबेको छ। परिवारमा परेको यो बज्रपातले तत्कालको गुजारा मात्र होइन,सानो बालकको भविष्यसमेत अनिश्चित बनेको छ।
यही पीडाबीच परिवारलाई राहत र बालकको भविष्यका लागि भरोसा दिलाउने प्रयासमा जुट्नुभएको छ,झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल।
मंगलबार पोख्रेल पीडित परिवारको घरमै पुग्नुभयो। दिवंगत रोकाको १३औँ दिनको संस्कारका लागि आवश्यक खाद्यान्न सहयोग गर्दै उहाँले शोकमा रहेको परिवारलाई साथ दिने प्रयास गर्नुभयो। व्यक्तिगत पहलमा उहाँले परिवारलाई १० बोरा चामल,एक बोरा आलु,पाँच लिटर तेल र पाँच केजी नुन हस्तान्तरण गर्नुभयो।
तर परिवारको आवश्यकता तत्कालको खाद्यान्न सहयोगमा मात्र सीमित थिएन। बाबुरामको निधनपछि सबैभन्दा ठूलो प्रश्न बनेको थियो–अबोध बालकको भविष्य कसरी सुरक्षित गर्ने?
यही प्रश्नलाई आत्मसात् गर्दै पोख्रेलले बालकको पालनपोषण,शिक्षादीक्षा र भविष्यका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहनुभएको छ। अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग आउने क्रम जारी रहेको उहाँले बताउनुभएको छ। संकलित रकम बालककै भविष्यका लागि उपयोग गर्ने उद्देश्य राखिएको छ।
एउटा परिवारले भोगिरहेको असह्य पीडामा समाजको साथ जुटाउने पोख्रेलको यो प्रयासले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ। परिवारलाई खाद्यान्न उपलब्ध गराउनु तत्कालको आवश्यकता पूरा गर्ने प्रयास हो भने बालकका लागि सहयोग अभियान सञ्चालन गर्नु दीर्घकालीन जिम्मेवारीप्रतिको संवेदनशीलता हो।
सामाजिक सेवामा सक्रिय पोख्रेलले यसअघि पनि झिमरुक गाउँपालिका र जिल्लाका विभिन्न स्थानमा समस्यामा परेका विपन्न परिवारलाई व्यक्तिगत तथा सामूहिक पहलमा सहयोग गर्दै आउनुभएको छ। दुःखमा परेकाहरूलाई सहयोग जुटाउने उहाँको निरन्तर प्रयासले सामाजिक उत्तरदायित्वको सन्देशसमेत प्रवाह गरेको छ।
बाबुरामको परिवारका लागि अहिलेको समय सहज छैन। तर विपत्तिको घडीमा प्राप्त सहयोग र सद्भावले उनीहरूलाई केही राहत दिएको छ। विशेषगरी बाबुको साथ गुमाएका बालकको भविष्यका लागि समाजबाट जुटिरहेको सहयोगले आशाको आधार तयार गर्ने उहाँको बुझाई छ।

प्रतिक्रिया राख्नुहोस्