अभाव र संघर्षबीच संगीतमा चम्किँदै बिनोद परियार,एकैपटक दुई नयाँ गीत ल्याउने तयारी

अभाव र संघर्षबीच संगीतमा चम्किँदै बिनोद परियार,एकैपटक दुई नयाँ गीत ल्याउने तयारी

राम बहादुर बिश्वकर्मा
प्यूठान,बाल्यकालमै बुवाको साथ गुमाउनुको पीडा,आर्थिक अभाव र जीवनका अनेकौँ कठिनाइसँग जुध्दै पनि आफ्नो सपना नछाड्ने कलाकार हुन् प्यूठानका बिनोद परियार। सानैदेखि गीतसंगीतप्रति आकर्षित उनी अहिले त्यही रुचिलाई आफ्नो पहिचान बनाउने यात्रामा निरन्तर अघि बढिरहेका छन्।
बुवाको साथविहीन बाल्यकाल उनका लागि सहज थिएन।अभाव र चुनौतीबीच हुर्किँदै गर्दा पनि उनले मनभित्रको सांगीतिक सपना मर्न दिएनन्।जीवनमा अनेकौँ कठिन परिस्थिति आए पनि संगीतप्रतिको मोह र केही गरेर देखाउने इच्छाशक्तिले उनलाई अघि बढ्न प्रेरित गरिरह्यो। संघर्षपूर्ण यात्रामा दर्शक तथा स्रोताबाट प्राप्त माया,सद्भाव र हौसलालाई उनी आफ्नो सबैभन्दा ठूलो उर्जा मान्छन्।
सांगीतिक क्षेत्रमा स्थापित हुने लक्ष्यसहित निरन्तर मेहनत गरिरहेका बिनोद आफ्नै स्वर,शब्द र संगीतमार्फत दर्शकमाझ पुग्ने प्रयासमा छन्। उनका लागि संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई जीवनका अनुभव,पीडा र भावना व्यक्त गर्ने माध्यमसमेत बनेको छ।
यसैबीच,आफ्नो सांगीतिक यात्रालाई नयाँ उचाइ दिने उद्देश्यले उनले दुई नयाँ गीतको छायांकन सम्पन्न गरेका छन्। ‘रातो माटो’ र ‘बार्दलीमा बतास’ नामका यी गीत सार्वजनिक हुने तयारीमा छन्।
‘रातो माटो’ मा बिनोद परियार र शान्तिश्रीको स्वर,विकास बिष्टको शब्द तथा बिनोदकै संगीत रहेको छ। त्यसैगरी, ‘बार्दलीमा बतास’ मा बिनोद परियार र दीपा पराजुलीको स्वर, अमर दर्लामीको शब्द तथा बिनोद परियारकै संगीत रहेको छ।
दुवै गीत फरक–फरक युट्युब च्यानलबाट सार्वजनिक गरिनेछन्। ‘रातो माटो’ विकास बिष्टको युट्युब च्यानलमार्फत र ‘बार्दलीमा बतास’ बिनोद परियारको आफ्नै युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याउने तयारी गरिएको छ।
जीवनका कठिन अनुभवलाई आत्मबलमा बदल्दै सांगीतिक यात्रामा अघि बढिरहेका बिनोदका लागि यी दुई गीत केवल नयाँ सिर्जना मात्र होइनन्,लामो समयदेखिको मेहनत,लगाव र सपनाको अर्को खुड्किलो पनि हुन्। अभावले सपना रोक्न सक्दैन भन्ने विश्वासका साथ अघि बढिरहेका उनको सांगीतिक यात्राले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।