श्रेष्ठको व्यक्तित्वबाट प्रभावित उत्तमले बनाए आकर्षक स्केच

राम बहादुर बिश्वकर्मा
प्यूठान,कला केवल मनोरञ्जनको माध्यम मात्र होइन,भावना,सम्मान र आत्मीयता व्यक्त गर्ने सशक्त माध्यम पनि हो। कसैप्रतिको माया र सम्मान शब्दले मात्र होइन,आफ्नै सिर्जनामार्फत पनि व्यक्त गर्न सकिन्छ भन्ने उदाहरण प्यूठानका एक युवाले प्रस्तुत गरेका छन्।
प्यूठान नगरपालिका–९ निवासी उत्तम बिश्वकर्माले फरक र भावनात्मक शैलीमा प्यूठान नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठप्रति सम्मान व्यक्त गरेका छन्। उनले श्रेष्ठको तस्बिर आफ्नै हातले स्केच गरेर उपहारस्वरूप प्रदान गरेका हुन्।
सानैदेखि अनुशासित र मिलनसार स्वभावका उत्तमलाई चित्रकला निर्माणमा विशेष रुचि छ। अरूको तस्बिरलाई आफ्नै हातले कागजमा उतार्नु उनको रुचि र सिर्जनात्मक क्षमताको अभिव्यक्ति हो। यही रुचिलाई सम्मानको भावनासँग जोड्दै उनले श्रेष्ठको स्केच तयार पारेका हुन्।
श्रेष्ठ बालबालिका,युवायुवती,प्रौढ तथा ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका व्यक्तिसँग सहज रूपमा घुलमिल हुन सक्ने स्वभावका छन्। विभिन्न पुस्ताका मानिससँगको आत्मीय सम्बन्ध र सामाजिक व्यवहारले उनलाई समुदायमा माया र सद्भाव प्राप्त भएको छ।उत्तमले आफ्नै हातले तस्बिर तयार पारेर उपहार दिनु पनि त्यही आत्मीयताको एउटा सुन्दर अभिव्यक्ति बनेको छ।
उत्तमले बनाएको तस्बिरमा श्रेष्ठको अनुहार मात्र छैन,त्यसलाई तयार पार्न खर्चिएको समय,धैर्य,मेहनत र भावना पनि जोडिएको छ। एउटा चित्र तयार पार्न कलाकारले गर्ने मिहिनेत चित्र हेर्दा मात्र होइन,त्यसको पछाडि लुकेको लगाव बुझ्दा पनि महसुस गर्न सकिन्छ।
उत्तमको यो सिर्जनाले श्रेष्ठलाई पनि भावुक बनाएको छ। आफ्नो तस्बिर आफ्नै हातले तयार पारेर उपहार दिएकोमा उनले उत्तमप्रति आभार व्यक्त गरेका छन्। श्रेष्ठले भने,“मलाई माया गरेर भाइ उत्तमले देखाउनुभएको सद्भावप्रति आभार व्यक्त गर्दछु। बालबालिकामा हुने यस्ता नवप्रतिभालाई म सधैँ सम्मान गर्छु।यस्ता प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ।”
श्रेष्ठले उत्तमको सिर्जनालाई व्यक्तिगत सम्मान र आत्मीयताको अभिव्यक्तिका रूपमा लिँदै स्थानीयस्तरमा रहेका यस्ता प्रतिभाको पहिचान र प्रोत्साहन आवश्यक रहेको बताए। नयाँ पुस्तामा रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्न सके उनीहरूले आफ्नो कला र सिर्जनामार्फत छुट्टै पहिचान बनाउन सक्ने उनको भनाइ छ। सानो अवसर, प्रशंसा र हौसलाले पनि सिर्जनशील व्यक्तिलाई थप मेहनत गर्न प्रेरित गर्ने उनले उल्लेख गरे।
आजको समयमा उपहार दिनु सामान्य कुरा हुन सक्छ। तर कसैका लागि समय निकालेर,आफ्नो सीप प्रयोग गरेर र मनदेखि एउटा सिर्जना तयार पार्नु आफैँमा विशेष अर्थ राख्छ। यस्तो उपहारको मूल्य पैसाले होइन,त्यसमा मिसिएको भावना र मेहनतले निर्धारण गर्छ।