गजलका हरफमा ट्राफिक सचेतना,ढुङ्गेठाटी मेलामा न्यौपानेको फरक प्रस्तुति

गजलका हरफमा ट्राफिक सचेतना,ढुङ्गेठाटी मेलामा न्यौपानेको फरक प्रस्तुति

राम बहादुर बिश्वकर्मा
प्यूठान,हजारौँ दर्शकको जमघट,सांगीतिक प्रस्तुतिको उत्साह र ऐतिहासिक सराय नाचको रौनक। तिहारको तेस्रो दिन प्यूठान नगरपालिका–५ स्थित ढुङ्गेठाटी मेलामा मनोरञ्जनको माहोल चलिरहेको थियो। यही माहोलबीच जिल्ला ट्राफिक प्रहरी प्रमुख विष्णु न्यौपानेले भने फरक शैलीमा दर्शकको ध्यान आफूतर्फ खिच्नुभयो। उहाँले ट्राफिक सुरक्षासम्बन्धी सन्देशमूलक गजल वाचन गरेर दर्शकमाझ सचेतनाको सन्देश प्रवाह गर्नुभयो।
सामान्यतया ट्राफिक नियम र सडक सुरक्षाबारे प्रहरीका सचेतनामूलक कार्यक्रम सडक तथा सार्वजनिक स्थानमा सञ्चालन हुने गर्छन्।तर न्यौपानेले साहित्यलाई माध्यम बनाएर मेलाको मञ्चबाटै नागरिकलाई जिम्मेवार र सचेत बन्न आग्रह गर्नुभयो।
गजलको लय र शब्दमार्फत उहाँले ट्राफिक नियमको महत्त्व र सडक सुरक्षाप्रतिको जिम्मेवारी स्मरण गराउनुभयो। मनोरञ्जनका लागि भेला भएका दर्शकलाई गजलमार्फत जनचेतनाको सन्देश दिनु उहाँको फरक प्रस्तुति थियो।
चाडपर्वका बेला मेलापर्व,भेटघाट र आवतजावत बढ्ने भएकाले सडक सुरक्षाको विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।सवारी दुर्घटना न्यूनीकरणका लागि चालक,यात्रु र पैदलयात्री सबै सचेत हुनुपर्ने सन्देशलाई साहित्यिक प्रस्तुतिसँग जोडेर उहाँले दर्शकमाझ पुर्‍याउनुभयो।
ढुङ्गेठाटी मेलामा कलाकारका सांगीतिक प्रस्तुतिले मनोरञ्जन दिइरहेका बेला ट्राफिक प्रमुखको गजल वाचनले कार्यक्रमलाई अर्को आयाम थपेको थियो। यसले मेला तथा सांस्कृतिक कार्यक्रम मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक चेतना फैलाउने प्रभावकारी थलो पनि बन्न सक्छन् भन्ने सन्देश दिएको छ।