ढुङ्गेठाटी मेलामा कमल बि.सी. (माल्दाई) को धमाकेदार प्रस्तुति,दर्शकलाई नचाए छमछमी

ढुङ्गेठाटी मेलामा कमल बि.सी. (माल्दाई) को धमाकेदार प्रस्तुति,दर्शकलाई नचाए छमछमी

राम बहादुर बिश्वकर्मा
प्यूठान,तिहारको उमङ्ग,ऐतिहासिक सराय नाचको मौलिकता र सांगीतिक प्रस्तुतिको रौनकले प्यूठान नगरपालिका–५ स्थित ढुङ्गेठाटी मेला उल्लासमय बनेको छ। परम्परागत संस्कृतिको उत्सवमा यसपटक कलाकार कमल बि.सी.(माल्दाई) को सांगीतिक प्रस्तुतिले दर्शकको विशेष ध्यान खिचेको छ।
तिहारको तेस्रो दिन आयोजित ऐतिहासिक सराय नाच तथा विविध सांस्कृतिक कार्यक्रममा बि.सी.ले आफ्नो प्रस्तुतिमार्फत मेलामा छुट्टै उत्साह थपे। उनको प्रस्तुति सुरु हुनासाथ दर्शकको ध्यान मञ्चतर्फ केन्द्रित भयो। गीतको लय,शब्द र मनोरञ्जनात्मक शैलीले मेलामा उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनायो।
विशेषगरी ‘आयो आयो बर्दियाको बाघ,फुच्चे साइड लाग’ भन्ने गीत गुञ्जिएपछि मेलाको माहोल थप तातियो। गीतको तालसँगै दर्शकहरू मञ्चअगाडि नाच्न थाले। कोही गीतसँगै स्वर मिलाइरहेका थिए भने कोही छमछमी नाच्दै रमाइरहेका थिए। कलाकारको प्रस्तुतिमा दर्शकले दिएको उत्साहपूर्ण साथले ढुङ्गेठाटीको माहोल केही समय सांगीतिक उत्सवमा परिणत भयो।
प्यूठानका विभिन्न स्थानबाट मेला हेर्न आएका दर्शकसँगै छिमेकी जिल्ला रोल्पाबाट पुगेका दर्शकसमेत उनको प्रस्तुतिमा झुमेका थिए। स्थानीय कला र संस्कृतिको उत्सवमा आधुनिक सांगीतिक प्रस्तुतिले थप रौनक थप्दा माल्दाईको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बनेको थियो।
ढुङ्गेठाटीमा हरेक वर्ष तिहारको तेस्रो दिन आयोजना हुने सराय नाच यहाँको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ। पुस्तौँदेखि चल्दै आएको यस परम्पराले स्थानीय मौलिकता, धार्मिक आस्था र सामाजिक एकतालाई जीवन्त राख्दै आएको छ। सराय नाचसँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई समेत आफ्नो कला र संस्कृतिसँग जोड्ने अवसर प्रदान गरेको छ।
परम्परागत सराय नाच र आधुनिक सांगीतिक प्रस्तुतिको संगम बनेको कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगी,उपप्रमुख देवेन्द्र वर्मा, नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष सुमन श्रेष्ठ र वडा नम्बर ५ का अध्यक्ष नन्दे पुनलगायत जनप्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।
ढुङ्गेठाटीको यो उत्सव मनोरञ्जनमा मात्र सीमित रहेन। यसले परम्परागत संस्कृति र नयाँ पुस्ताको सांगीतिक रुचिबीचको सम्बन्धलाई समेत उजागर गरेको छ। सराय नाचको ऐतिहासिक विरासतसँगै माल्दाईको प्रस्तुतिमा झुमेका दर्शकले यस वर्षको मेलालाई थप उल्लासमय र स्मरणीय बनाएका छन्।