राम बहादुर बिश्वकर्मा
प्यूठान,धार्मिक संस्कार र परम्पराका नाममा पशुबलि दिने चलन अझै कतिपय समुदायमा कायम छ। तर झिमरुक गाउँपालिका–६ दहखोलाको गिरी समुदायले भने पशुबलि नगरी कुलपूजा गर्ने मौलिक परम्परालाई निरन्तरता दिँदै आएको छ। हिंसाभन्दा अहिंसा,बलिभन्दा शान्ति र सद्भावलाई प्राथमिकता दिने यो परम्पराले समुदायको छुट्टै धार्मिक पहिचान स्थापित गरेको छ।
यही परम्परालाई थप व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले दहखोलामा निर्माण गरिएको सिद्ध मन्दिरको शनिबार उद्घाटन गरिएको छ। झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले मन्दिरको उद्घाटन गरेका हुन्।
मन्दिर उद्घाटनसँगै गिरी समुदायको परम्परागत कुलपूजा पनि सम्पन्न भएको छ। पूजाका क्रममा नियमित धार्मिक विधि,लिङ्गो फेर्ने लगायतका संस्कार पूरा गरिएको थियो। यस अवसरमा समुदायका सदस्यहरू परम्परागत विधि र आस्थाअनुसार पूजामा सहभागी भएका थिए।
यस कुलपूजाको विशेष पक्ष नै पशुबलि नदिनु हो। गिरी समुदायले हिंसा,हत्या र काटमारबाट टाढा रहेर शान्तिको कामना गर्दै कुलपूजा गर्ने परम्परा अपनाएको छ। धार्मिक आस्थालाई अहिंसा र सद्भावसँग जोड्ने यो अभ्यासले मौलिक संस्कारको फरक सन्देश दिएको छ।
मन्दिर उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष महतराले गिरी समुदायको यस परम्पराको प्रशंसा गर्दै धर्म र संस्कारले शान्ति तथा सद्भावको सन्देश दिनुपर्ने बताए।उनले भने,“धर्म र संस्कारको मूल भावना शान्ति,सद्भाव र सकारात्मक सोच हो। गिरी समुदायले पशुबलि नदिई कुलपूजा गर्ने जुन परम्परा अपनाएको छ,यसले अहिंसा र शान्तिको राम्रो सन्देश दिएको छ। यस्ता मौलिक अभ्यासको संरक्षण हुनुपर्छ।”
मन्दिर निर्माणले समुदायको धार्मिक आस्था र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वाससमेत उनले व्यक्त गरे।
कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको नाम उल्लेख गरिएको शिलालेखसमेत अनावरण गरिएको थियो। कार्यक्रममा झिमरुक गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर पुन,वडा नम्बर ५ का वडाध्यक्ष दधिराम पोख्रेललगायत स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्