राम बहादुर बिश्वकर्मा
प्यूठान,कला,संस्कृति र मौलिक परम्पराको संरक्षणसँग जोडिएको ऐतिहासिक डल्ले सराँए मेलामा यस वर्ष खैरा समूहले आफ्नो उत्कृष्ट प्रस्तुति प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। भाइटीकाको दोस्रो दिन आयोजना हुने डल्ले सराँए मेलामा खैरा समूहको प्रस्तुतिले दर्शक तथा निर्णायकको मन जित्न सफल भएको हो।
प्रतियोगितामा सापडाँडा समूहले दोस्रो र पाण्डेडाँडा समूहले तेस्रो स्थान हासिल गरेका छन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई आयोजकले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ। प्रतियोगितामा सहभागी अन्य समूहलाई पनि प्रोत्साहनस्वरूप यातायात खर्चबापत प्रतिग्रुप २० हजार रुपैयाँ उपलब्ध गराइएको आयोजक समितिले जनाएको छ।
यस वर्षको सराँए प्रतियोगितामा खैरा,कार्कीडाँडा, थापडाँडा, सारीबाङ, पुण्यखोला क्वाडी र सापडाँडासहित सात समूहले सहभागिता जनाएका थिए। विभिन्न समूहको सहभागिताले मेलाको रौनक थप बढाएको थियो।
डल्ले सराँए मेला प्यूठानको सांस्कृतिक पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा परिचित छ। पुस्तौँदेखि चल्दै आएको यस परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै स्थानीय कला, संस्कृति र सामूहिक सहभागितालाई जीवन्त राख्ने उद्देश्यले मेला आयोजना हुँदै आएको छ।
२०७१ सालदेखि डल्ले सराँए मेलालाई प्रतियोगितात्मक स्वरूपमा सञ्चालन गर्न थालिएको हो। त्यसयता मेलाले परम्पराको निरन्तरतासँगै स्थानीय समूहबीच स्वस्थ प्रतिस्पर्धा र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ।
यस वर्षको प्रतियोगिताको मूल्यांकन गेहराज थापाको संयोजकत्वमा गठित तीन सदस्यीय मूल्यांकन समितिले गरेको थियो।
डल्ले सराँए मेलामा खैरा समूहको यस वर्षको सफलता केवल प्रतियोगिताको जितमा मात्र सीमित छैन, यसले स्थानीय कला, संस्कृति र मौलिक परम्पराप्रतिको समर्पणलाई समेत उजागर गरेको छ।

प्रतिक्रिया राख्नुहोस्