आज गाई तिहार : फूलमाला र टीकाले सजिए गाई, घरघरमा विशेष पूजा

राम बहादुर बिश्वकर्मा 
प्युठान,हिन्दू धर्मावलम्बीहरूको महान् पर्व तिहारअन्तर्गत आज गाई तिहार श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।धार्मिक मान्यताअनुसार गाईलाई माता तथा धनधान्यकी देवी लक्ष्मीको प्रतीकका रूपमा पुज्ने परम्पराअनुसार बिहानैदेखि घरघरमा गाईको पूजा गरिएको छ।
गाई तिहारका दिन गाईलाई नुहाइदिएर फूलमाला पहिर्‍याउने,निधारमा रातो टीका लगाइदिने र मिठा परिकार खुवाएर पूजा गर्ने चलन छ। गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले यसको पूजा गर्दा घरपरिवारमा सुख,शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ।
नेपाली समाजमा गाईको महत्त्व धार्मिक आस्थामा मात्र सीमित छैन।ग्रामीण जीवनमा दूध,दही,घिउजस्ता पोषिलो पदार्थ उपलब्ध गराउनेदेखि कृषि कार्यका लागि मल उत्पादनमा समेत गाईको महत्त्वपूर्ण योगदान रहँदै आएको छ। त्यसैले गाईलाई परिवारको सदस्यसरह माया र सम्मान गर्ने परम्परा नेपाली समाजमा विकसित भएको पाइन्छ।
स्थानीयवासी भगत कर्मचार्यका अनुसार गाई तिहार बाल्यकालदेखि नै मनाउँदै आएको आफ्नो मौलिक परम्परा हो।उनले धर्म,संस्कृति र संस्कारसँग जोडिएका यस्ता पर्वलाई नयाँ पुस्ताले पनि बुझ्न र जोगाउनुपर्ने बताए।'हामीले सानैदेखि गाई तिहार मनाउँदै आएका छौँ। यो हाम्रो धर्म,संस्कृति र परम्परासँग जोडिएको पर्व हो। नयाँ पुस्ताले पनि यस्ता संस्कारलाई बुझेर निरन्तरता दिन आवश्यक छ,'उनले भने।
पछिल्लो समय गाउँघरमा पशुपालन गर्ने परिवारको सङ्ख्या घट्दै जाँदा गाई तिहार मनाउने पुरानो शैलीमा समेत परिवर्तन आएको ज्येष्ठ नागरिकहरूको अनुभव छ। पहिले प्रायः हरेक घरमा गाई पालिने भएकाले तिहारका बेला गाउँभरि छुट्टै उत्साह र रौनक हुने गरेको उनीहरू सम्झन्छन्।
आधुनिक जीवनशैली,बसाइँसराइ र वैदेशिक रोजगारीका कारण परम्परागत पशुपालन प्रभावित हुँदै गएको अवस्थामा गाई तिहारले पशुपालनको महत्त्व र संरक्षणको आवश्यकतालाई समेत स्मरण गराएको छ।स्थानीयवासीहरूका अनुसार गाईको पूजा गर्नु भनेको एक दिन फूलमाला र टीका लगाइदिनु मात्र होइन,वर्षभरि नै पशुप्रति माया,दया र जिम्मेवारी देखाउनु पनि हो।पशुलाई उचित आहार,स्वच्छ आवास र समयमै स्वास्थ्य उपचार उपलब्ध गराउनु नै वास्तविक संरक्षण हो।