अपराधको जरा खोज्दै,नागरिक सुरक्षाको आधार बन्दै प्यूठान प्रहरी

राम बहादुर बिश्वकर्मा
प्यूठान,सुरक्षित भविष्यको सपना बोकेर रोजगारी खोज्दै घरबाट निस्किएकी एउटी किशोरी शोषणको जोखिममा पर्छिन्।अर्कोतर्फ युवाहरू लागूऔषध कारोबारमा जोडिएको घटना सार्वजनिक हुन्छ। यी घटना केवल प्रहरीका अभिलेखमा सीमित विषय होइनन्, समाजको सुरक्षा र भविष्यसँग जोडिएका गम्भीर प्रश्न हुन्। यस्तै चुनौतीबीच जिल्ला प्रहरी कार्यालय प्यूठानले अपराध अनुसन्धान, कानुनी कारबाही र सामाजिक सचेतनालाई सँगसँगै अघि बढाइरहेको छ।


जिल्ला प्रहरी कार्यालय प्यूठानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरीक्षक निरीक्षक नरहरि अधिकारीले सार्वजनिक गरेको पछिल्लो विवरणले जिल्लाको सुरक्षा अवस्था,अपराधका चुनौती र प्रहरीले सञ्चालन गरिरहेका गतिविधिको चित्र प्रस्तुत गरेको छ। मानव बेचबिखन तथा लागूऔषध कारोबारजस्ता गम्भीर अपराधको अनुसन्धानदेखि अदालतका फैसला कार्यान्वयन,अवैध गतिविधि नियन्त्रण र नागरिक सचेतनासम्मका कामलाई प्रहरीले अघि बढाएको अधिकारीले जानकारी गराएका छन्।रोजगारीको आशामा घर छाडेकी १५ वर्षीया बालिकामाथि भएको शोषणको घटना यसमध्ये सबैभन्दा संवेदनशील छ। गत कात्तिक १३ गते बिहान मल्लरानी गाउँपालिका–४ खलंगा बसपार्कमा रोइरहेको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले ती बालिकालाई फेला पारेको थियो। सोधपुछका क्रममा प्यूठान नगरपालिका–४ बिजुवारस्थित होटल जेस्ना एण्ड लजमा काम गर्न आएकी उनलाई होटल सञ्चालकले अपरिचित व्यक्तिसँग शारीरिक सम्पर्क राख्न दबाब दिएको खुलेको प्रहरी विवरणमा उल्लेख छ।

 


अनुसन्धानका क्रममा बालिकालाई असोज १६ गतेदेखि कात्तिक ७ गतेसम्म जबर्जस्ती यौन कार्यमा लगाइएको खुलेपछि अभिभावकको जाहेरीका आधारमा होटल सञ्चालक नारायण पोख्रेललाई पक्राउ गरिएको थियो। जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको अधिकारीले बताएका छन्।
रोजगारीको नाममा किशोरीमाथि भएको यस्तो शोषणले अवसरको खोजीमा घरबाहिर निस्कने बालबालिका तथा महिलाको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। सुरक्षित रोजगारीको सुनिश्चितता,बाल संरक्षण र मानव बेचबिखनविरुद्ध सामाजिक निगरानीको आवश्यकता यस घटनाले थप उजागर गरेको छ।
अर्कोतर्फ जिल्लामा लागूऔषध कारोबार नियन्त्रण पनि प्रहरीका लागि चुनौती बनेको छ। कात्तिक २० गते प्यूठान नगरपालिका–८ बाग्दुलामा शंकास्पद अवस्थामा फेला परेका झिमरुक गाउँपालिका–६ का २८ वर्षीय दानबहादुर ढकाललाई जाँच गर्दा उनको साथबाट ६ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।
उनले उक्त पदार्थ प्यूठान नगरपालिका–२ का २५ वर्षीय विश्वास के.सी बाट खरिद गरेको बताएपछि प्रहरीले केसीको कोठामा खानतलासी गरेको थियो। त्यसक्रममा थप ४ ग्राम ६५ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको थियो। अनुसन्धानकै क्रममा प्यूठान नगरपालिका–८ का २५ वर्षीय सुजन पराजुलीसमेत संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई कात्तिक २१ गते पक्राउ गरेको अधिकारीले जानकारी दिएका थिए। घटनामा संलग्न तीनै जनामाथि अनुसन्धान जारी रहेको छ।
यी दुई घटनाले समाजमा देखिएका फरक प्रकृतिका सुरक्षा चुनौतीलाई उजागर गर्छन्। एकातिर बालिका तथा किशोरीको संरक्षणको सवाल छ भने अर्कोतिर युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउने चुनौती छ। त्यसैले अपराध नियन्त्रणसँगै सामाजिक सचेतना र रोकथामका प्रयास पनि उत्तिकै आवश्यक देखिन्छन्।

फैसला कार्यान्वयनमा पनि सक्रियता

अपराध अनुसन्धानसँगै अदालतबाट भएका फैसला कार्यान्वयनमा पनि प्रहरीले सक्रियता देखाएको छ। अधिकारीले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको कात्तिक २३ गतेसम्म फैसला कार्यान्वयनका क्रममा २९ जना पक्राउ परेका छन्। उनीहरूबाट ६ लाख ४१ हजार ६०५ रुपैयाँ जरिवाना तथा १८ वर्ष ३ दिन कैद असुल गर्नुपर्ने देखिएको छ।
त्यस्तै, असोज २३ देखि कात्तिक २२ गतेसम्मको एक महिनाको अवधिमा फैसला कार्यान्वयनका क्रममा ६ जना पक्राउ परेका छन्। उनीहरूबाट एक लाख ३८ हजार रुपैयाँ जरिवाना र ३ महिना २९ दिन कैद असुल गर्नुपर्ने विवरणमा उल्लेख छ।

विवाद समाधान र सचेतनामा जोड

प्रहरीको भूमिका अपराधी पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्यमा मात्र सीमित छैन। समुदायमा उत्पन्न हुने सामान्य विवादलाई समयमै समाधान गर्ने र नागरिकलाई सम्भावित जोखिमबारे सचेत बनाउने काम पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी हो।
असोज २३ देखि कात्तिक २२ गतेसम्म प्रहरीमा परेका आठवटा ठाडो उजुरी सबै मिलापत्रबाट टुङ्गिएको विवरणमा उल्लेख छ। यसै अवधिमा नागरिक सुनुवाइ, लागूऔषध नियन्त्रण, लैङ्गिक हिंसा, साइबर अपराध तथा आत्महत्या न्यूनीकरणलगायत विषयमा जिल्लाभर ६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
ती कार्यक्रमबाट ४४७ महिला र ५८० पुरुष गरी कुल एक हजार २७ जना लाभान्वित भएको अधिकारीले जानकारी गराएका थिए। अपराध भइसकेपछि कानुनी कारबाही गर्नु महत्वपूर्ण भए पनि अपराध हुन नदिन नागरिकलाई सचेत बनाउनु अझ प्रभावकारी उपाय मानिन्छ। यस अर्थमा समुदायस्तरमा सञ्चालन गरिएका यस्ता कार्यक्रमको आफ्नै महत्व छ।

अवैध गतिविधिमाथि कारबाही

यस अवधिमा प्रहरीले अवैध गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा पनि कारबाही अघि बढाएको छ। अवैध रूपमा भैँसी ओसारपसार गर्नेबाट पाँच हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने १९२ सवारीसाधनमाथि कारबाही गरी दुई लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्नबाट १० हजार रुपैयाँ जरिवाना संकलन गरिएको प्रहरी विवरणमा उल्लेख छ।
यसैबीच, स्वर्गद्वारी नगरपालिका–३ देउरालीस्थित खोलामा गाईको मासु काटिएको भन्ने सूचना पाएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई पशुपन्छीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
सुरक्षित समाजका लागि साझा जिम्मेवारी
प्रहरीको पछिल्लो विवरणले जिल्लामा अपराध अनुसन्धान, फैसला कार्यान्वयन, सामाजिक विवाद समाधान, अवैध गतिविधि नियन्त्रण र नागरिक सचेतनाका क्षेत्रमा भइरहेका प्रयासलाई देखाउँछ। तर सार्वजनिक भएका घटनाले समाजमा अझै पनि विभिन्न प्रकृतिका सुरक्षा चुनौती कायम रहेको तथ्यलाई पनि उजागर गरेका छन्।