राम बहादुर बिश्वकर्मा
प्यूठान,जिल्लाका सहकारी संस्थालाई दीर्घकालीन योजना निर्माण,संस्थागत विकास र व्यावसायिक रूपमा सबल बनाउने उद्देश्यले सञ्चालन गरिएको दुईदिने रणनीतिक व्यावसायिक योजना निर्माणसम्बन्धी तालिम सम्पन्न भएको छ।
जिल्ला सहकारी संघ प्यूठानको आयोजनामा शुक्रबारदेखि जुम्रीमा सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो।तालिममा जिल्लाका विषयगत सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी र व्यवस्थापनमा कार्यरत कर्मचारी गरी ३४ जनाको सहभागिता रहेको थियो।तालिमको सहजीकरण कोमलराज अधिकारीले गर्नुभएको थियो। सहभागीलाई संस्थाको वर्तमान अवस्था विश्लेषण,दीर्घकालीन लक्ष्य निर्धारण,व्यावसायिक योजना निर्माण तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगका विषयमा प्रशिक्षण दिइएको थियो।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले सहकारी संस्थालाई व्यवस्थित,पारदर्शी र उद्देश्यअनुरूप सञ्चालन गर्न योजनाबद्ध कार्य आवश्यक रहेको बताउनुभएको थियो।
जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट नारायण बहादुर जि.सी र शर्मिला रावतले मन्तव्य राख्दै तालिम प्रभावकारी र उपलब्धिमूलक भएको बताउनुभयो।तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्ना संस्थामा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत उहाँहरूले व्यक्त गर्नुभयो।कार्यक्रममा प्रशिक्षक अधिकारी,प्राविधिक सल्लाहकार प्रकाश वैद्य,संघका सञ्चालक समिति सदस्य तथा विभिन्न सहकारी संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।तालिमले सहकारी संस्थालाई स्पष्ट रणनीति र योजनासहित अघि बढ्न तथा दीर्घकालीन रूपमा संस्थागत र व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने संघले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्