राम बहादुर बिश्वकर्मा
प्यूठान,समाजको अवस्था,सोच र समयको यथार्थलाई शब्दमार्फत अभिव्यक्त गर्ने माध्यम हो साहित्य। यसले मानिसलाई सचेत बनाउने मात्र होइन,गलत प्रवृत्तिविरुद्ध प्रश्न उठाउन र परिवर्तनका पक्षमा उभिनसमेत प्रेरित गर्छ। साहित्यको यही सामाजिक महत्त्व र परिवर्तनकारी भूमिकाबारे नयाँ पुस्ताको धारणा खोज्दै प्यूठानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाइएको छ।
साहित्य परिषद् प्यूठान,खेमराज कालिका स्मृति प्रतिष्ठान प्यूठान र जनता माध्यमिक विद्यालयको संयुक्त आयोजनामा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासहित समारोह आयोजना गरिएको हो। ‘समाज परिवर्तनमा साहित्यको भूमिका’ शीर्षकमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले साहित्यले समाजमा पार्ने प्रभाव र सामाजिक रूपान्तरणमा यसको योगदानबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले साहित्यलाई समाजको यथार्थ चित्रण गर्ने माध्यमका रूपमा व्याख्या गर्दै सामाजिक विकृति,विसङ्गति,चेतना र सकारात्मक परिवर्तनका विषयमा आफ्ना तर्क राखेका थिए। प्रतियोगिताले विद्यार्थीमा रहेको विचार क्षमता,सिर्जनशीलता र सार्वजनिक रूपमा आफ्ना धारणा प्रस्तुत गर्ने कलालाई उजागर गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगीले साहित्य समाजका विकृति र विसङ्गतिलाई रूपान्तरण गर्ने माध्यम भएको बताए। समाजलाई समग्र रूपमा बुझ्न साहित्यले सहयोग गर्ने उल्लेख गर्दै उनले साहित्य सधैँ सकारात्मक प्रकृतिको मात्र नहुने धारणा राखे। कहिलेकाहीँ साहित्यमा आक्रोश,विद्रोह र रापताप पनि देखिने भन्दै उनले यस्ता अभिव्यक्तिले समेत समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले सिर्जनशीलता र सामाजिक रूपान्तरणको सम्बन्धबारे चर्चा गर्दै साहित्यकारले आस्तिक र नास्तिक दुवै विचार तथा चरित्रलाई बुझ्न सक्ने दृष्टिकोण राख्नुपर्ने बताए।
साहित्य परिषद् प्यूठानकी अध्यक्ष विमला खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक सिर्जना,पठन संस्कृति र नयाँ पुस्तामा साहित्यप्रतिको रुचि विकास गर्नुपर्ने विषयमा चर्चा गरिएको थियो।
खेमराज कालिका स्मृति प्रतिष्ठान प्यूठानका अध्यक्षले खेमराज कालिकाको योगदान स्मरण गर्दै उहाँको निधनको ९१ दिनपछि तस्बिर अनावरण गरिएको प्रसङ्ग उल्लेख गरे। उहाँको स्मृति र योगदानलाई साहित्यिक गतिविधिमार्फत जीवन्त राख्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले लेखन क्षमता सबैसँग नहुने उल्लेख गर्दै सिर्जनशील व्यक्तिको सम्मान गर्नुपर्ने बताए। विद्यार्थीहरूको प्रस्तुति र क्षमताको प्रशंसा गर्दै प्रतिभावान बालबालिकालाई धन्यवाद व्यक्त गरे। साहित्यकारप्रति सम्मान प्रकट गर्दै साहित्य सिर्जनालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुति देखेर आफू गौरवान्वित भएकोसमेत उनले बताए।
वक्तृत्वकलामा प्रभात माविका देविसिंह के.सी प्रथम
प्रभात माध्यमिक बिध्यालय आहालखोलामा अध्ययनरत बिध्यार्थी देविसिंह के.सि
अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयका देविसिंह के.सी प्रथम भएका छन्।भानुभक्त माध्यमिक विद्यालयकी वर्षा पौडेल द्वितीय,जनता माध्यमिक विद्यालयका तण्डु पण्डित तृतीय र मुक्ति माध्यमिक विद्यालयकी सबिना बिष्ट सान्त्वना भएकी छन्।
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रमणि पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन साहित्य परिषद प्यूठानका उपाध्यक्ष ध्रुव गिरीले गरेका थिए।
महाकवि देवकोटाको जन्मजयन्तीलाई साहित्यिक उत्सवका रूपमा मनाउँदै आयोजना गरिएको कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउनुका साथै विचार,तर्क र सिर्जनशील अभिव्यक्तिको महत्त्व स्थापित गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया राख्नुहोस्