राम बहादुर बिश्वकर्मा
प्यूठान,स्वस्थ जीवनयापनका लागि प्रकृतिअनुकूल आहार,औषधि र विहारलाई प्राथमिकता दिनुपर्ने सन्देश सहित प्यूठानमा २७औँ राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती २०८३ मनाइएको छ।
“प्रकृतिअनुकूल आहार,औषधि र विहारः रोगमुक्त समाजको आधार” भन्ने मूल नाराका साथ प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र, खलंगाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले आयुर्वेद चिकित्सा पद्धतिको महत्वलाई आत्मसात गर्दै स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुभयो। उहाँले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिन खानपान,आहारविहार र दैनिक जीवनशैलीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले प्राकृतिक जडीबुटीको संरक्षण,पहिचान र सदुपयोगमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। स्थानीय स्तरमा पाइने जडीबुटीको महत्वबारे नागरिकलाई जानकारी गराउँदै यसको उपयोग र प्रवर्द्धन गर्न सके आयुर्वेद चिकित्सा पद्धतिको विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो। उहाँले आयुर्वेदसम्बन्धी चेतना अभिवृद्धि गर्न विद्यालय तहदेखि नै योग शिक्षालाई लागू गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष रमेश बिश्वकर्माले आयुर्वेद चिकित्सा पद्धति नेपालको मौलिक उपचार प्रणाली भएकाले यसको संरक्षण,विकास र प्रभावकारी सेवा प्रवाहमा सबै पक्षको ध्यान जानुपर्ने बताउनुभयो। आयुर्वेदसम्बन्धी ज्ञान र चेतना नयाँ पुस्तासम्म पुर्याउनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय पाठ्यक्रममा आयुर्वेद शिक्षालाई समावेश गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो।
उहाँले आयुर्वेद स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नागरिकलाई स्वस्थ जीवनयापनप्रति सचेत बनाउन आवश्यक रहेको पनि बताउनुभयो।
कार्यक्रममा अतिथि सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख टुक बहादुर रोकाले गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्