धनतेरसबाटै तिहारको चटारो,प्युठानका बजारमा बढ्यो चहलपहल

राम बहादुर बिश्वकर्मा 
प्युठान,नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आगमनसँगै प्युठानका बजारमा चाडपर्वको रौनक छाएको छ। धनतेरसको अवसर पारेर बिहानैदेखि बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ। सुनचाँदीका पसलदेखि कपडा, भाँडाकुँडा र दैनिक उपभोग्य सामग्रीका पसलसम्म ग्राहकको चहलपहल देखिन थालेको छ।
धनतेरसका दिन सुन,चाँदी तथा धातुका सामग्री खरिद गर्नु शुभ मानिने धार्मिक तथा सांस्कृतिक विश्वासका कारण सुनचाँदी पसलमा विशेष आकर्षण देखिएको छ। यस वर्ष सुन खरिद गर्ने ग्राहकको सङ्ख्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको माल्भिका ज्वैलर्सका सञ्चालक मिनराज गहतराजले बताउनुभयो।उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष सुन खरिद गर्ने मानिसहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।”

               मीनराज गहतराज                  सन्चालक,माल्भिका जैलवर्स


जिल्लाको बिजुवार,बाग्दुलालगायत प्रमुख व्यापारिक केन्द्रमा बिहानैदेखि उपभोक्ताको आवतजावत बाक्लिएको छ। तिहारका लागि आवश्यक सामग्री खरिद गर्न बजार पुगेका सर्वसाधारण सुनचाँदीका गरगहना,भाँडाकुँडा,नयाँ लत्ताकपडा, मिठाई तथा पूजाका सामग्री खरिद गर्न व्यस्त देखिन्छन्।तिहार केवल किनमेल र रमाइलोको पर्व मात्रै होइन,पारिवारिक आत्मीयता,आपसी सद्भाव र सम्बन्धलाई नवीकरण गर्ने अवसर पनि हो। वर्षभरिका दुःख, व्यस्तता र कामको थकान बिर्सेर परिवारसँग खुसी साट्ने यस पर्वमा घर सजावटदेखि दाजुभाइ तथा दिदीबहिनीबीच उपहार आदानप्रदान गर्ने परम्पराले पनि बजारको चहलपहल बढाएको छ।चाडपर्वको आगमनसँगै बढेको कारोबारले स्थानीय व्यापार व्यवसायमा समेत उत्साह थपेको छ। तिहारका अवसरमा हुने किनमेलले साना तथा ठूला व्यवसायीलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।धार्मिक आस्था,सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयताको सङ्गम बनेको तिहारले प्युठानका बजारदेखि गाउँघर र परिवारसम्म उल्लास थप्न थालेको छ।धनतेरससँगै सुरु भएको किनमेलको रौनकले तिहारको आगमनलाई थप उत्सवमय बनाएको छ।