राम बहादुर बिश्वकर्मा
प्यूठान,चाडपर्वको नाममा बढ्दो प्लास्टिकजन्य प्रदूषण र पटाकाको प्रयोगलाई निरुत्साहित गर्न प्यूठान नगरपालिकाले तिहार तथा छठ पर्व लक्षित विशेष सूचना जारी गरेको छ। नगरपालिकाले नगरक्षेत्रभित्र प्लास्टिकका माला र पटाकाको आयात, बिक्री,वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा चाडपर्वलाई स्वच्छ,सभ्य र वातावरणमैत्री बनाउन सबै नगरवासीलाई प्लास्टिकका कृत्रिम माला तथा पटाका प्रयोग नगर्न आग्रह गरिएको छ।
तिहारमा फूल र मालाको विशेष महत्त्व रहे पनि पछिल्लो समय बजारमा प्लास्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ। यसले एकातिर वातावरण प्रदूषणको जोखिम बढाएको छ भने अर्कोतिर स्थानीय किसानले उत्पादन गरेका फूलले बजार नपाउने अवस्था सिर्जना गरेको छ।
नगरपालिकाले स्थानीय किसानको उत्पादनलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न प्राकृतिक फूलका मालाको प्रयोगमा जोड दिएको छ। स्थानीय स्तरमा उत्पादित फूल प्रयोग गर्दा किसानको आम्दानी बढ्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै,पटाकाबाट निस्कने धुवाँ र ध्वनि प्रदूषणले मानव स्वास्थ्यमा असर पार्ने भएकाले यसको प्रयोग नगर्न नगरपालिकाले अनुरोध गरेको छ।
सूचनाको उल्लङ्घन गरी प्रतिबन्धित सामग्रीको आयात,बिक्री,वितरण तथा प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाको यो निर्णय कार्यान्वयनमा आए तिहारमा प्लास्टिकजन्य फोहोर न्यूनीकरण,स्थानीय फूल खेतीको प्रवर्द्धन र ध्वनि तथा वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्