राम बहादुर बिश्वकर्मा
प्युठान,साना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराउन खलङ्गासम्म पुग्नुपर्ने बाध्यता अब हट्ने भएको छ।प्युठान नगरपालिकाको सहयोगमा आगामी मंसिर १३ गते सञ्चालन हुने स्वर्ण बिन्दु प्राशन कार्यक्रम अब बिजुवारस्थित विस्तारित आयुर्वेद सेवा केन्द्रबाटै सञ्चालन हुने भएको छ।
एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन हुँदै आएको कार्यक्रम बिजुवारबाटै उपलब्ध हुने भएपछि अभिभावकलाई सेवा लिन सहज हुनेछ। यसअघि सेवा लिन खलङ्गा पुग्नुपर्ने अवस्थाका कारण साना बालबालिकासहित यात्रा गर्नुपर्ने अभिभावकलाई असुविधा हुँदै आएको थियो। सेवा केन्द्रबाटै कार्यक्रम सञ्चालन हुने भएपछि उक्त समस्या कम हुने विश्वास गरिएको छ।
स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई जिल्लाका विभिन्न स्थानीय तहसम्म विस्तार गर्ने प्रयाससमेत भइरहेको छ। प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष रमेश बिश्वकर्माका अनुसार स्वर्गद्वारी नगरपालिका,नौबहिनी गाउँपालिका र माण्डवी गाउँपालिकामा कार्यक्रम सुरु भइसकेको छ। त्यस्तै,ऐरावती,गौमुखी,झिमरुक र सरुमारानी गाउँपालिकामा पनि कार्यक्रम सञ्चालनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ।
जिल्लाका विभिन्न पालिकामा कार्यक्रम विस्तार हुँदै जाँदा बालबालिकालाई लक्षित आयुर्वेदिक सेवा स्थानीय स्तरमै उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
नागरिक सरोकार समाज प्युठानका अध्यक्ष सुमन सुबेदिका अनुसार बिजुवारबाटै सेवा उपलब्ध गराउने व्यवस्थाले स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई थप सहज र पहुँचयोग्य बनाउने विश्वास गरिएको छ।
आगामी मंसिर १३ गते विस्तारित आयुर्वेद सेवा केन्द्र,बिजुवारमा सञ्चालन हुने कार्यक्रममा आफ्ना एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई सहभागी गराउन सम्पूर्ण अभिभावकलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्