तिहारमा स्थानीय फूलको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिँदै सरुमारानी

तिहारमा स्थानीय फूलको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिँदै सरुमारानी

राम बहादुर बिश्वकर्मा
प्युठान,तिहारमा प्रयोग हुने फूलमालाको मागलाई स्थानीय उत्पादनसँग जोड्दै सरुमारानी गाउँपालिकाले प्राकृतिक फूलको प्रयोग बढाउने अभियान थालेको छ।वातावरण संरक्षणसँगै गाउँपालिकाभित्रका फूल उत्पादक किसानलाई बजारको अवसर सिर्जना गर्ने उद्देश्यले पालिकाले प्लास्टिकजन्य फूलमालाको कारोबार नगर्न आग्रह गरेको हो।
गाउँपालिकाले जारी गरेको सूचनामा प्लास्टिकका कृत्रिम फूलमाला आयात,बिक्री वितरण तथा भण्डारण नगर्न व्यवसायी र स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ।चाडपर्वमा प्रयोग हुने यस्ता सामग्रीले वातावरण प्रदूषण गर्नुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकाले प्राकृतिक फूलबाट बनेका माला प्रयोग गर्न गाउँपालिकाले जोड दिएको छ।
विशेषगरी तिहारमा सयपत्री र मखमली फूलको माग उच्च हुने गर्दछ।तर स्थानीय स्तरमा उत्पादन भएका फूलले बजार नपाउने र कृत्रिम मालाको प्रयोग बढ्ने अवस्थालाई बदल्न गाउँपालिकाले स्थानीय कृषक र उपभोक्ताबीच सम्पर्क स्थापित गर्ने प्रयास गरेको छ।
गाउँपालिकाले व्यावसायिक पुष्पखेती गर्ने कृषकको नाम,ठेगाना र मोबाइल नम्बर संकलन गर्न आग्रह गर्दै प्राकृतिक फूलमाला खरिद गर्न इच्छुक व्यवसायी तथा सर्वसाधारणलाई स्थानीय उत्पादकसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

 

सरुमारानी गाउँपालिका प्युठानले जारी गरेको सुचना 


सूचनामा सरस्वती माध्यमिक विद्यालय,बाङ्गेशाल क्षेत्रका चार जना सम्पर्क व्यक्तिको विवरणसमेत राखिएको छ।यसबाट स्थानीय स्तरमा फूल खरिद तथा बिक्री वितरण सहज बनाउने अपेक्षा गरिएको छ।
स्थानीय किसानले उत्पादन गरेको फूल स्थानीय बजारमै खपत हुने वातावरण बनेमा किसानको आम्दानी बढ्नुका साथै गाउँको उत्पादन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्नेछ।तिहारलाई झिलिमिली र उत्साहपूर्ण बनाउने क्रममा वातावरणलाई असर गर्ने सामग्रीको प्रयोग घटाउनु अहिलेको आवश्यकता हो। सरुमारानी गाउँपालिकाले अघि सारेको यो पहलले चाडपर्वको मौलिकता जोगाउने,प्राकृतिक स्रोतको सम्मान गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने सन्देश दिएको छ।