गाउँमै न्यायको बाटो देखाउँदै प्यूठान नगरपालिका,थपिए २६ मेलमिलापकर्ता

गाउँमै न्यायको बाटो देखाउँदै प्यूठान नगरपालिका,थपिए २६ मेलमिलापकर्ता

राम बहादुर बिश्वकर्मा
प्यूठान,सामान्य विवाद समाधानका लागि नागरिकले लामो न्यायिक प्रक्रिया र खर्चिलो बाटो अपनाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँघरमै न्यायको पहुँच विस्तार गर्ने उद्देश्यले प्यूठान नगरपालिकाले समुदायस्तरमा मेलमिलापको अभ्यासलाई प्राथमिकता दिँदै आएको छ। यसै अभियानलाई निरन्तरता दिँदै नगरपालिकाले यस वर्ष थप २६ जना मेलमिलापकर्ता तयार पारेको छ। तालिम पुर्ब नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताको संख्या ४७ पुगेको छ।
समाजमा हुने सामान्य असमझदारी,मनमुटाव र विवादलाई समयमै समाधान गर्न नसक्दा त्यसले ठूलो रूप लिनुका साथै पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पुर्‍याउन सक्छ। कतिपय अवस्थामा सामान्य विवादले नै वर्षौँसम्म मनमुटाव र द्वन्द्वको अवस्था सिर्जना गर्ने भएकाले यस्ता समस्यालाई संवाद, सहकार्य र आपसी सहमतिका माध्यमबाट समुदायमै समाधान गर्ने उद्देश्यले नगरपालिकाले मेलमिलापसम्बन्धी तालिम सञ्चालन गर्दै आएको हो।
स्थानीयस्तरमै विवाद समाधान गर्न सक्ने दक्ष जनशक्ति तयार पार्ने लक्ष्यसहित सञ्चालन गरिएको तालिममा नगरपालिकाका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी सहभागी छनोट गरिएको थियो। तालिममा मेलमिलाप परिषद्मा सूचीकृत तामाकोशी सेवा समिति रामेछापका प्रशिक्षक हिमाल ढुङ्गेल र मञ्जु कार्कीले प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा सहभागीलाई विवादको प्रकृति पहिचान गर्ने,दुवै पक्षका कुरा ध्यानपूर्वक सुन्ने,निष्पक्ष रूपमा सहजीकरण गर्ने तथा आपसी सहमतिमा समाधान खोज्ने विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।
नगर उपप्रमुख देवेन्द्र वर्माले दुर्गम क्षेत्रका नागरिकले सामान्य विवाद समाधानका लागि पनि पालिकासम्म धाउनुपर्ने अवस्था कम गर्न नगरपालिकाले हरेक वर्ष मेलमिलापसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। गाउँघरमै विवाद समाधान गर्न सक्ने जनशक्ति तयार हुँदा नागरिकको समय र खर्च बचत हुनुका साथै न्यायमा सहज पहुँच स्थापित हुने उहाँको भनाइ छ। स्थानीयस्तरमै विवाद समाधानको वातावरण निर्माण गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो।
तालिमको समापन कार्यक्रममा नगरप्रमुख विष्णुबहादुर योगीले समाजमा देखिने सामान्य विवादलाई बेवास्ता गर्दा त्यसले कहिलेकाहीँ ठूलो घटना निम्त्याउन सक्ने भएकाले समयमै सम्बोधन गर्नुपर्ने बताउनुभयो। विवादलाई सुरुमै संवाद र सहमतिका माध्यमबाट समाधान गर्न सके सम्भावित द्वन्द्व न्यूनीकरण हुनुका साथै पारिवारिक,सामाजिक र आपसी सम्बन्धमा आउने दरारसमेत रोक्न सकिने उहाँको भनाइ थियो। 
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले मेलमिलापलाई केवल विवाद समाधान गर्ने माध्यमका रूपमा मात्र नलिई सामाजिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा बुझ्नुपर्ने बताउनुभयो। समाजमा आपसी विश्वास, सहकार्य र सद्भाव कायम राख्न मेलमिलापको अभ्यासले महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो। स्थानीयस्तरमा मेलमिलापको संस्कार विकास गर्न सके समाजमा अनावश्यक द्वन्द्व र असमझदारी कम गर्न सकिने उहाँले बताउनुभयो।
तालिममा सहभागीका तर्फबाट पुरुष प्रतिनिधि रमेश गिरीले तालिमले विवादलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। विवाद समाधान गर्दा दुवै पक्षका कुरा धैर्यपूर्वक सुन्ने,निष्पक्ष भएर सहजीकरण गर्ने र कुनै एक पक्षको हार वा जितभन्दा पनि दुवै पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने व्यावहारिक ज्ञान तालिमबाट प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो। तालिमबाट सिकेका सीपलाई समुदायमा प्रयोग गर्दै सद्भावपूर्ण,न्यायपूर्ण र मेलमिलापयुक्त समाज निर्माणमा योगदान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी महिला प्रतिनिधि बिमला विष्टले पनि तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा हुने विवाद समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।
नगर उपप्रमुखको अध्यक्षता तथा नगरप्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन न्यायिक समितिका सदस्य तथा प्यूठान नगरपालिका–९ का वडाध्यक्ष विकास के.सी ले गर्नुभएको थियो।