झिमरुक–५ मा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु,१३ समूह उपाधि दौडमा

झिमरुक–५ मा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु,१३ समूह उपाधि दौडमा

राम बहादुर बिश्वकर्मा
प्युठान,गाउँघरमा खेलकुदको रौनक छाएको छ। खेल मैदानमा खेलाडीको उत्साह, दर्शकको हुटिङ र प्रतिस्पर्धाको रोमाञ्चकता थपिँदै गर्दा झिमरुक गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
श्री बाल शिक्षा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा महिलातर्फ ४ समूह र पुरुषतर्फ ९ समूहले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्नुका साथै गाउँमा रहेका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।
वडा अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलसहित जनप्रतिनिधि,बुद्धिजीवी, समाजसेवी, खेलप्रेमी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।