‘अहो! त्यत्तिकै निमताराको चर्चा चलेको होइन रहेछ’

राम बहादुर बिश्वकर्मा


‘आज केको शिविर रहेछ ?’
कुनै ठाउँको चर्चा किन हुन्छ?प्रचारले,नामले वा त्यहाँ पुगेर मानिसले पाउने व्यवहारले?प्यूठानको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा झिमरुक गाउँपालिका–४,बादिकोटका रमेश थापाले व्यक्त गर्नुभएको एउटा प्रतिक्रियाले यो प्रश्नको जवाफ दिन्छ।आफ्नी पत्नी शान्ता थापालाई उपचारका लागि लिएर आउनुभएका रमेशले प्रतीक्षालयमा बिरामीको बाक्लो उपस्थिति देख्नुभयो।उहाँलाई लाग्यो,सायद कुनै स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।

 


‘आज केको शिविर रहेछ?’उहाँले जिज्ञासा राख्नुभयो।‘शिविर होइन,नियमित सेवा हो,’मैले जवाफ दिएँ।जवाफ सुन्नेबित्तिकै उहाँको अनुहारमा आश्चर्य झल्कियो। केहीबेर त्यहाँको वातावरण नियाल्नुभएका उहाँले सहजै भन्नुभयो,‘अहो!त्यत्तिकै निमताराको चर्चा चलेको होइन रहेछ।’

 

मङ्गलबारका दिन स्वयं म पनि स्वास्थ्य परामर्शका लागि निमतारा पोलिक्लिनिक पुगेको थिएँ।चिकित्सकको प्रतीक्षामा रहँदा भएको त्यो संवादले एउटा सामान्य दृश्यभित्र लुकेको असामान्य प्रयासतर्फ ध्यान खिच्यो। बिरामीको चहलपहल देखिनु एउटा पक्ष थियो,तर त्यसको पछाडि रहेको सेवाको सोच र मानवीय व्यवहार अझ चासोको विषय थियो।यो कथा हो,चिकित्सा शिक्षाबाट हासिल गरेको ज्ञान आफ्नै जन्मभूमिमा खर्चिने निर्णय गरेका दुई चिकित्सक दाजुभाइको। कथा हो,बिरामीको रोगसँगै उसको आर्थिक अवस्था र मनोभाव बुझ्ने प्रयासको।
आफ्नो भविष्यसँग जोडियो जन्मभूमिको स्वास्थ्य डा. सुबास जि.सी र डा. प्रकाश जि.सी ले चिकित्सा शिक्षा पूरा गरेपछि आफ्नो ज्ञान र सीपलाई आफ्नै ठाउँका नागरिकको स्वास्थ्य सेवामा लगाउने सोच बनाए। पेसागत भविष्य निर्माणका अनेक सम्भावनाबीच उनीहरूले जन्मभूमिलाई आफ्नो कर्मथलो बनाउने निर्णय गरे।ग्रामीण क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य समस्याका लागि समेत टाढा जानुपर्ने बाध्यता उनीहरूले देखेका थिए।समयमै चिकित्सकीय परामर्श नपाउँदा स्वास्थ्य समस्या जटिल बन्ने र आर्थिक कठिनाइका कारण उपचार नै प्रभावित हुने अवस्था पनि उनीहरूका लागि चिन्ताको विषय थियो।
आफ्नै ठाउँका मानिसले स्वास्थ्य उपचारका लागि अनावश्यक दुःख पाउन नपरोस् भन्ने चाहनाले उनीहरूलाई स्वास्थ्य सेवा विस्तार गर्न प्रेरित गर्‍यो। यही सोचलाई व्यवहारमा उतार्दै दुई दाजुभाइले प्यूठान नगरपालिका–४,बिजुवारमा निमतारा पोलिक्लिनिक सञ्चालनमा ल्याए।
यो उनीहरूका लागि एउटा व्यावसायिक सुरुवात मात्र थिएन। आफूले हासिल गरेको ज्ञान,सीप र अनुभव आफ्नै समाजको सेवामा लगाउने अवसर पनि थियो।पोलिक्लिनिकका सञ्चालक डा.सुबास जि.सी ग्रामीण क्षेत्रका नागरिकले समयमै स्वास्थ्य सल्लाह र परामर्श नपाउँदा तथा आर्थिक अभावका कारण उपचार गर्न नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाले आफूलाई चिन्तित बनाउने बताउनुहुन्छ।
जिल्लाबासी तथा छिमेकी जिल्लाका नागरिकबाट प्राप्त माया र विश्वासले आफूहरूलाई थप जिम्मेवार बनाएको उहाँको भनाई छ।

चिकित्सकको व्यवहारमा भेटिने उपचारको भरोसा

बिरामी स्वास्थ्य संस्था पुग्दा उसले आफ्नो रोगको उपचार मात्रै खोजिरहेको हुँदैन। आफ्नो समस्या कसैले ध्यानपूर्वक सुनिदेओस्,स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी मिलोस् र उपचार प्रक्रियामा सहजता होस् भन्ने अपेक्षा पनि राखेको हुन्छ।
निमतारा पोलिक्लिनिकमा डा. सुबास जि.सी र डा.प्रकाश जि.सीले बिरामीका कुरा सुन्ने,उनीहरूको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य परामर्श दिने प्रयास गर्नुहुन्छ। बिरामीसँगको आत्मीय व्यवहार र सहज संवादले सेवाग्राहीसँग विश्वासको सम्बन्ध विकास गर्न सहयोग पुर्‍याएको छ।
त्यस्तै,ओपीडी,फार्मेसी र ल्याबमा कार्यरत कर्मचारीको मिलनसार व्यवहारले पनि यहाँ आउने नागरिकलाई सहज वातावरण प्रदान गरेको छ।जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट समेत नागरिक उपचारका लागि पुग्नु र नियमित सेवाकै क्रममा बिरामीको चहलपहल देखिनुले पोलिक्लिनिकप्रतिको आकर्षणलाई देखाउँछ।
चिकित्सा सेवामा दक्षता र उपचारको गुणस्तर महत्वपूर्ण हुन्छन्। तर बिरामीले पाउने व्यवहार र परामर्शले पनि स्वास्थ्य संस्थाप्रतिको विश्वास निर्माणमा उत्तिकै भूमिका खेल्छ। निमताराले आफ्नो सेवाशैलीमा यही पक्षलाई महत्व दिएको देखिन्छ।

बिरामीको आर्थिक अवस्था पनि बुझ्ने प्रयास

सबै बिरामीको आर्थिक अवस्था समान हुँदैन। कसैका लागि उपचार सामान्य खर्च हुन सक्छ,कसैका लागि त्यही खर्च जुटाउनु ठूलो चुनौती बन्न सक्छ। स्वास्थ्य समस्या लिएर अस्पताल वा पोलिक्लिनिक पुग्ने विपन्न परिवारका लागि आर्थिक कठिनाइले उपचारको बाटो नै बन्द गरिदिन सक्छ।
यही समस्यालाई ध्यानमा राखेर निमतारा पोलिक्लिनिकले आर्थिक रूपमा कमजोर नागरिकलाई सहयोग गर्दै आएको छ।
गरिब तथा विपन्न बिरामीको आर्थिक अवस्था पहिचान गरी पोलिक्लिनिकबाट उपलब्ध हुने सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्ने गरिएको छ। थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने अवस्था आएमा समेत सम्भव भएसम्म नगद सहयोग गर्ने गरिएको डा. सुबास जि.सी बताउनुहुन्छ।

 

निमतारा पोलिक्लिनिक संचालक डा: सुवास जि.सि 


आर्थिक अभावका कारण कसैले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मानवीय भावनाले यस्तो सहयोग गर्दै आएको उहाँको भनाई छ।
बिरामीको पीडा बुझ्नु भनेको उसको रोग मात्र बुझ्नु होइन,उपचारमा आइपर्ने कठिनाइ पनि बुझ्नु हो। आर्थिक समस्याका कारण उपचार गर्न नसक्ने अवस्थाका नागरिकलाई सहयोग गर्नुले स्वास्थ्य सेवामा मानवीय संवेदनाको महत्वलाई अझ स्पष्ट पार्छ।
यस्तो सहयोगले बिरामीलाई उपचारको अवसरसँगै कठिन समयमा साथ पाएको अनुभूति पनि गराउँछ।
एउटा संस्थाको चर्चा,दुई दाजुभाइको जिम्मेवारी
आफ्नै ठाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने सोचबाट सुरु भएको निमतारा पोलिक्लिनिकको यात्रा अहिले नागरिकको विश्वाससँग जोडिएको छ। दुई चिकित्सक दाजुभाइले आफ्नो पेसागत दक्षतालाई जन्मभूमिप्रतिको जिम्मेवारीसँग जोड्दै अघि बढाएको प्रयासले स्थानीय नागरिकलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर दिएको छ।
कुनै पनि स्वास्थ्य संस्थाको पहिचान प्रचारले मात्र निर्माण हुँदैन। त्यहाँ पुग्ने बिरामीले पाएको सेवा, व्यवहार र कठिन समयमा प्राप्त गरेको सहयोगले त्यसको वास्तविक परिचय दिन्छ।
निमताराको चर्चा पनि यही मानवीय पक्षसँग जोडिएको छ। उपचारका लागि आउने बिरामीको चहलपहल एउटा दृश्य हो,तर त्यस दृश्यको आधारमा रहेको सेवाभाव,आत्मीयता र सहयोगको अभ्यास यसको अर्को महत्वपूर्ण पक्ष हो।
त्यस दिन रमेश थापाले व्यक्त गर्नुभएको प्रतिक्रिया यसैको एउटा उदाहरण बन्यो। उहाँले देख्नुभएको बिरामीको उपस्थिति पछाडि आफ्नै जन्मभूमिमा केही गर्ने अठोट बोकेका दुई चिकित्सकको निरन्तर प्रयास जोडिएको छ।
‘अहो! त्यत्तिकै निमताराको चर्चा चलेको होइन रहेछ’ भन्ने उहाँको भनाइले अन्ततः एउटा महत्वपूर्ण कुरा सम्झाउँछ–स्वास्थ्य संस्थाले कमाउने सबैभन्दा ठूलो सम्पत्ति बिरामीको विश्वास हो। त्यो विश्वास औषधि र उपचारले मात्र होइन,आत्मीय व्यवहार,जिम्मेवारी र मानवीय सहयोगले पनि निर्माण हुन्छ।