वर्दी फुकालेर उद्यमशिला रोज्दै : सरद के.सी.को सेवापछिको नयाँ यात्रा

वर्दी फुकालेर उद्यमशिला रोज्दै : सरद के.सी.को सेवापछिको नयाँ यात्रा

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका-७ पुण्यखोलाका सरद के.सी.का लागि जिवनको एउटा महत्वपूर्ण अध्याय पूरा भएको छ। दुई दशक नेपाल प्रहरीमा रहेर राष्ट्र र नागरिकको सेवा गरेका उनी अब वर्दीबाट माटोतर्फ फर्किएका छन्। प्रहरी सेवाबाट निवृत्त भएपछि उनको रोजाइ बनेको छ-कृषि, उद्यमशीलता र आत्मनिर्भरताको बाटो।


मीठो बोली र सेवाभावलाई आफ्नो स्वभाव बनाएका सरदले प्रहरी सेवामा प्रवेश गर्ने योजना भने बाल्यकालदेखि नै बनाएका थिएनन्। अध्ययनकै क्रममा साथीको लहैलहैमा प्रहरी सेवातर्फ आकर्षित भएका उनी अन्ततः यही पेशालाई आफ्नो जिवनको महत्वपूर्ण यात्राका रूपमा अघि बढाउन पुगे।“साथीहरूको प्रभावले प्रहरी सेवामा लाग्ने अवसर मिल्यो,” उनी सम्झन्छन्, “तर सेवामा प्रवेश गरेपछि यो पेशाप्रतिको जिम्मेवारी र अनुशासनलाई आत्मसात् गर्दै निरन्तर अघि बढेँ।”दुई दशक लामो प्रहरी यात्रामा उनले देशका सुगमदेखि दुर्गम जिल्लासम्म सेवा गर्ने अवसर पाए। फरक भूगोल,फरक समुदाय,फरक परिस्थिति र नागरिकका फरक-फरक समस्या नजिकबाट बुझ्ने अवसर उनका लागि प्रहरी सेवाको महत्वपूर्ण अनुभव बन्यो।प्रहरीको वर्दी लगाएर कर्तव्यमा खटिँदा उनले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी मात्र पूरा गरेनन्, नागरिकका दुःख,समस्या र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पनि पाए। कतिपय ठाउँमा सुविधा सहज थिएनन्,कतिपय अवस्थामा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपथ्र्यो।तर सेवाको जिम्मेवारीले उनलाई परिस्थितिसँग जुध्न र संयमित भएर अघि बढ्न सिकायो।प्रहरी पेशामा अनुशासनलाई सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ। नियमितता,समयको पालना,आदेशप्रतिको जिम्मेवारी र जुनसुकै बेला तयार रहनुपर्ने अवस्था प्रहरी सेवाका अभिन्न पक्ष हुन्।“प्रहरी पेशा यस्तो पेशा हो,जहाँ अनुशासनलाई प्रधान मानिन्छ,”सरद भन्छन्,“कुनै पनि समयमा माथिल्लो तहबाट फोन आउन सक्छ, त्यसपछि हाइ अलर्टमा रहेर जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ। यही पेशाबाट सिकेको अनुशासन र समय व्यवस्थापन अब उद्यमतर्फ अघि बढ्न निकै उपयोगी हुने विश्वास छ।”


उनका लागि प्रहरी सेवामा बितेका २० वर्ष केवल जागिरे जीवनका वर्ष होइनन्। ती वर्ष जीवन बुझ्ने, मानिससँग व्यवहार गर्ने,कठिन परिस्थितिमा निर्णय लिने र जिम्मेवारीबाट पछि नहट्ने सिकाइका वर्ष पनि हुन्।
“नेपाल प्रहरी सेवामा रहेर २० वर्ष राष्ट्र र नागरिकको सेवा गर्ने अवसर पाएँ। यस अवधिमा प्राप्त अनुभव, अनुशासन, जिम्मेवारी र आत्मीयता मेरा लागि अमूल्य सम्पत्ति हुन्,” उनी भन्छन्।
सेवा निवृत्तिको क्षणमा भावुकता पनि स्वाभाविक छ। लामो समय आफूलाई परिचित बनाएको संस्थाबाट औपचारिक रूपमा अलग हुँदै गर्दा सहकर्मी, अग्रज, शुभेच्छुक र सेवाका क्रममा जोडिएका नागरिकप्रति उनको मनमा कृतज्ञता छ।तर सरदका लागि निवृत्ति यात्राको अन्त्य होइन। यो नयाँ यात्राको सुरुवात हो।
अब उनी आफ्नै गाउँठाउँको माटोसँग जोडिन चाहन्छन्। लामो समय राष्ट्रसेवामा बिताएका हातहरू अब कृषि कर्ममा व्यस्त हुनेछन्। कृषि उत्पादनलाई आधुनिक प्रविधि र उद्यमशीलतासँग जोड्ने,स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने उनको सोच छ।


प्रहरी सेवामा सिकेको अनुशासनलाई उनी अब खेतबारी र उद्यममा उतार्न चाहन्छन्। प्रहरी सेवामा समयको महत्व थियो,अब कृषि कर्ममा पनि समय व्यवस्थापन उत्तिकै महत्वपूर्ण हुने उनको बुझाइ छ। प्रहरी सेवामा जोखिमको मूल्यांकन गर्नुपथ्र्यो,उद्यममा पनि जोखिम बुझेर निर्णय लिनुपर्ने हुन्छ। त्यसैले विगतको अनुभव नयाँ यात्रामा उपयोगी हुने उनको विश्वास छ।नेपालमा कृषियोग्य जमिन बाँझिँदै जाने र युवाशक्ति रोजगारीका लागि बाहिरिने अवस्थाले उनलाई पनि सोच्न बाध्य बनाएको छ। आफ्नै ठाउँमा सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश व्यवहारबाटै दिनुपर्ने उनी बताउँछन्।
उनका लागि कृषि केवल खेतमा उत्पादन गर्ने काम होइन। यो रोजगारी सिर्जना गर्ने,परिवारको आम्दानी बढाउने,स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र आत्मनिर्भरताको आधार तयार गर्ने माध्यम हो।दुई दशकसम्म नागरिकको सुरक्षाका लागि खटिएका सरद अब उत्पादन र उद्यमशीलताको माध्यमबाट समाजसँग जोडिन चाहन्छन्। उनको नयाँ यात्रामा व्यक्तिगत आम्दानीको उद्देश्य मात्र छैन,आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास निर्माण गर्ने चाहना पनि छ।
विशेषगरी युवालाई गाउँमै सम्भावना खोज्न प्रेरित गर्न सकिने उनको विश्वास छ।कृषि र उद्यमलाई परम्परागत सोचबाट बाहिर निकालेर व्यवसायिक र उत्पादनमुखी बनाउन सके गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने उनको धारणा छ।वर्दीमा रहँदा उनको हातमा जिम्मेवारी थियो,अहिले त्यही हातमा माटो हुनेछ। हिजो कर्तव्यको समयतालिकाले दिनचर्या निर्धारण गथ्र्यो,अब खेतबारीको मौसम,उत्पादनको चक्र र उद्यमको योजना उनका नयाँ जिम्मेवारी बन्नेछन्।
यो परिवर्तन केवल पेशागत परिवर्तन होइन,सोचको विस्तार पनि हो। राष्ट्रसेवा र समाजसेवा एउटै माध्यमबाट मात्र गर्नुपर्छ भन्ने छैन। भूमिका फेरिन सक्छ,तर सेवाभाव भने निरन्तर रहन सक्छ भन्ने सन्देश सरदको यात्राले दिन्छ।“प्रहरी सेवाबाट निवृत्त भए पनि सेवाभावबाट निवृत्त भएको छैन,” उनी भन्छन्,“अब कृषि र उद्यमशीलतामार्फत समाज र देशको समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य छ।”


जीवनमा केही अध्याय अन्त्य हुन्छन्, तर त्यससँगै नयाँ अध्याय पनि खुल्छन्। सरद के.सी.को जीवनमा २० वर्ष लामो प्रहरी सेवाको अध्याय बन्द भएको छ। तर त्यसको अनुभव,अनुशासन र सेवाभावलाई साथमा लिएर उनले नयाँ अध्याय सुरु गरेका छन्।