राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान पुग्ने जो-कोहीका लागि झिमरुक फाँट एउटा सामान्य भू-भाग होइन। यो जिल्लाको परिचयसँग जोडिएको दृश्य हो। पहाडको काखमा फराकिलो भएर फैलिएको फाँट,बीचबाट बग्ने झिमरुक नदी,ऋतु फेरिएसँगै बदलिने खेतका रङ र वरिपरिका डाँडाले झिमरुकलाई आफ्नै किसिमको सौन्दर्य दिएका छन्।
तर समयसँगै यो दृश्य बदलिँदैछ।कुनै समय टाढाबाट हेर्दा जहाँसम्म नजर पुग्थ्यो,त्यहाँसम्म खेतका गरा देखिन्थे। वर्षायाममा हरिया धानका बोटले फाँट ढाक्थे। धान पाक्ने बेला झिमरुकको स्वरूप नै सुनौलो बन्थ्यो। किसानको श्रम,माटोको सुगन्ध र प्राकृतिक सौन्दर्यले भरिएको त्यो दृश्य अहिले विस्तारै फरक बन्दै गएको छ।
खेतका बीचमा घर देखिन थालेका छन्। खुला जमिनका ठाउँमा संरचना थपिएका छन्। सडकका रेखाहरू खेततिर पसिरहेका छन्। बस्ती फैलिँदै जाँदा कुनै समय निरन्तर देखिने फाँट ठाउँ–ठाउँमा टुक्रिएको देखिन्छ।
यतिबेला भने झिमरुक फाँटमा किसानलाई धान भित्र्याउने चटारो छ। खेतमा पाकेको धान काट्ने,सुकाउने र घर भित्र्याउने काम चलिरहेको छ। दसैंको रौनकसँगै किसानको व्यस्तता पनि बढेको छ। वर्षभरि गरेको मेहनतलाई घर भित्र्याउने यो समय किसानका लागि उत्सवजस्तै हो।
तर खेतमा उभिएर चारैतिर हेर्दा एउटा फरक दृश्य पनि देखिन्छ कृषि र बस्तीबीचको दूरी घट्दै गएको छ।
झिमरुकको सौन्दर्य नियाल्न कुनै विशेष पर्यटकीय संरचना आवश्यक पर्दैन। चेरनेटाको डाँडाबाट तलतिर हेर्दा फैलिएको फाँट आफैंमा एउटा दृश्यावलोकनस्थलजस्तो लाग्छ। सदरमुकाम खलंगाबाट समेत झिमरुकको ठूलो भू-भाग देखिन्छ। बिहानको घामदेखि साँझको उज्यालोसम्म यसको रूप फेरिइरहन्छ।
यही कारण झिमरुकलाई प्युठानको सम्भावित पर्यटकीय सम्पदाका रूपमा पनि हेर्न सकिन्छ।
तर पर्यटनको सम्भावना बोकेको क्षेत्र नै अव्यवस्थित रूपमा विस्तार हुँदै गयो भने भोलि पर्यटकलाई देखाउने के बाँकी रहला? यही प्रश्न अहिले गम्भीर बनेको छ।
विकास रोक्न सकिँदैन। जनसंख्या बढ्छ। मानिसलाई घर चाहिन्छ। नयाँ पुस्तालाई सुविधा चाहिन्छ। सडक,विद्यालय,बजार र अन्य पूर्वाधार आवश्यक हुन्छन्। तर विकासको नाममा कृषियोग्य जमिन र प्राकृतिक दृश्य नै हराउँदै जाने हो भने त्यसको असर तत्काल देखिँदैन,तर केही वर्षपछि यसको मूल्य निकै महँगो हुन सक्छ।झिमरुक फाँटको चिन्ता यही हो।
आज एउटा खेतमा घर बन्छ। भोलि अर्को खेतमा संरचना थपिन्छ। त्यसपछि बीचमा सडक आउँछ। विस्तारै खेतका गरा छुट्टिन्छन्। खुला क्षेत्र साँघुरिँदै जान्छ। अन्ततः कुनै समय टाढाबाट एउटै हरियो चादरजस्तो देखिने फाँट छुट्टाछुट्टै संरचनाको समूहमा बदलिन सक्छ।
यो केवल दृश्य परिवर्तन होइन। यससँगै कृषि उत्पादन, स्थानीय जीवनशैली, वातावरण र पर्यटनको सम्भावना पनि प्रभावित हुन सक्छ।
झिमरुकको माटोसँग किसानको सम्बन्ध पुस्तौँ पुरानो छ। खेत उनीहरूको आयको स्रोत मात्र होइन,जीवनको हिस्सा हो। यही जमिनमा धान फल्छ,यहीँबाट परिवारको चुलो बल्छ र यहीँको उत्पादनले स्थानीय बजारलाई चलायमान बनाउँछ।
तर कृषि जमिनको मूल्यभन्दा जग्गाको अन्य प्रयोजनबाट प्राप्त हुने आर्थिक लाभ ठूलो देखिन थालेपछि खेती गर्ने मानसिकता कमजोर हुन सक्छ। त्यसको परिणाम खेत बाँझो हुनु मात्र होइन,खेत नै हराउनु पनि हुन सक्छ।
झिमरुक फाँटलाई बचाउने कुरा गर्दा त्यसैले केवल प्राकृतिक सौन्दर्यको कुरा गरेर पुग्दैन। यहाँको कृषि अर्थतन्त्र,किसानको जीवन,बस्ती विकास र पर्यटनलाई एउटै दृष्टिले हेर्न आवश्यक छ।
स्थानीय सरकारसँग भू-उपयोगलाई व्यवस्थित गर्ने अधिकार र जिम्मेवारी छ। कुन क्षेत्र कृषि क्षेत्रका रूपमा जोगाउने, कुन क्षेत्रमा बस्ती विस्तार गर्ने र कुन क्षेत्रलाई पर्यटन तथा वातावरणीय दृष्टिले संरक्षण गर्ने भन्ने स्पष्ट योजना आवश्यक छ।
स्थानीय बासिन्दा पनि यसमा उत्तिकै जिम्मेवार छन्। आफ्नो जमिनमा के बनाउने भन्ने अधिकारसँगै सामूहिक भू-दृश्य र भावी पुस्ताप्रतिको जिम्मेवारी पनि जोडिएको हुन्छ।
झिमरुकलाई संरक्षण गर्नु भनेको विकासको विरोध गर्नु होइन। बरु विकासलाई सही ठाउँमा पुर्याउनु हो।
यदि बस्ती विस्तार आवश्यक छ भने त्यसलाई व्यवस्थित क्षेत्रमा केन्द्रित गर्न सकिन्छ। यदि पर्यटन विकास गर्ने हो भने प्राकृतिक दृश्यलाई नबिगारी दृश्यावलोकनस्थल, पैदलमार्ग र स्थानीय उत्पादनसँग जोड्न सकिन्छ। यदि कृषि जोगाउने हो भने किसानलाई उत्पादनसँग जोडिएका प्रोत्साहन र बजारको व्यवस्था गर्न सकिन्छ।
त्यसपछि मात्र झिमरुक फाँट विकास र संरक्षणको राम्रो उदाहरण बन्न सक्छ।
आज झिमरुकमा धानका बाला अझै झुलिरहेका छन्। किसान अझै खेतमा छन्। डाँडाबाट हेर्दा फाँट अझै सुन्दर देखिन्छ। तर परिवर्तनको संकेत पनि त्यही दृश्यभित्र देखिन थालेको छ।
त्यसैले अहिले नै प्रश्न गर्नुपर्ने बेला हो-हामी झिमरुक फाँटलाई केवल जमिनका रूपमा हेर्दैछौँ कि भविष्यको पुस्ताले पाउने सम्पदाका रूपमा पनि?
समय बित्दै जाँदा घर बनाउन सकिन्छ,सडक बनाउन सकिन्छ, नयाँ संरचना बनाउन सकिन्छ। तर एकपटक हराएको प्राकृतिक दृश्य, टुक्रिएको कृषि भू-दृश्य र गुमेको मौलिकता फेरि उस्तै अवस्थामा फर्काउन निकै कठिन हुन्छ।
झिमरुक फाँटको भविष्य आजका निर्णयसँग जोडिएको छ। आजको एउटा निर्णयले भोलिको झिमरुकको अनुहार निर्धारण गर्न सक्छ।
झिमरुक फाँटलाई बचाउने समय भोलि होइन,यही समय हो।
प्रतिक्रिया राख्नुहोस्