प्युठान कारागारभित्रै उद्यम,श्रमबाट आम्दानी गर्दै कैदीबन्दी

राम बहादुर बिश्वकर्मा
प्युठान,कारागारका अग्ला पर्खालभित्र बित्ने दिनहरू प्रायः बन्दी जीवनका बाध्यता र सीमिततासँग जोडिन्छन्। तर जिल्ला कारागार खलंगाका कैदीबन्दीले यही समयलाई सीप सिक्ने,सामग्री उत्पादन गर्ने र उद्यमशीलताको अभ्यास गर्ने अवसरका रूपमा उपयोग गरिरहेका छन्।
विभिन्न कसुरमा कैद जीवन बिताइरहेका कैदीबन्दीले कारागारभित्रै डोका, नाम्लो, ढाका टोपी, बाँसका मुडालगायत घरेलु सामग्री उत्पादन गर्दै आएका छन्। कारागारभित्रै सीप सिकेर सामग्री निर्माण गर्ने उनीहरूका लागि यो काम समय सदुपयोग गर्ने माध्यम बनेको छ। दैनिक काममा व्यस्त रहँदा उनीहरूले नयाँ सीप सिक्ने र आफूभित्र भएको क्षमतालाई उपयोग गर्ने अवसरसमेत पाएका छन्।
कारागार प्रमुख देवराज कार्कीका अनुसार लामो समयसम्म खाली बस्दा कैदीबन्दीमा दिक्दारी र मानसिक तनाव बढ्न सक्ने भएकाले उनीहरूलाई व्यस्त राख्ने उद्देश्यले उद्यमशीलतासँग जोडिएको हो। जिल्ला कारागार खलंगामा हाल पाँच महिलासहित १०७ जना कैदीबन्दी रहेको उहाँले जानकारी दिनुभयो।
श्रमलाई सीपमा,सीपलाई आम्दानीमा
कैदीबन्दीले उत्पादन गरेका सामग्रीको बजारीकरण कारागार कार्यालयले गर्दै आएको छ। सामग्री बिक्रीबाट प्राप्त रकम सम्बन्धित कैदीबन्दीलाई हस्तान्तरण गर्ने गरिएको कारागार प्रमुख कार्कीले बताउनुभयो। यसबाट कैदीबन्दीले आफ्नो श्रमको प्रतिफल प्राप्त गर्ने अवसर पाएका छन्।
उद्यममा संलग्न कैदीबन्दी शम्भु नेपालीका अनुसार कारागारभित्र मुडा, डोका, पर्स, ढाका टोपी र नाम्लोलगायत सामग्री उत्पादन गरिन्छ। यस्ता सामग्री निर्माणका लागि सीप, धैर्य र अभ्यास आवश्यक पर्छ। काम गर्दै जाँदा सीपमा निखार आउने र खाली समयलाई उत्पादनशील काममा लगाउन सकिने उहाँको अनुभव छ।

ठाउँ र बजारको चुनौती

कारागारभित्र उद्यम सञ्चालन गर्न भने विभिन्न चुनौती छन्। सामग्री उत्पादनका लागि पर्याप्त ठाउँ नहुनु र उत्पादित वस्तुको बजारीकरण गर्नु मुख्य समस्याका रूपमा रहेका छन्। ठाउँको अभावले उत्पादनलाई व्यवस्थित बनाउन कठिनाइ हुने गरेको छ भने उत्पादित सामग्रीलाई बजारसम्म पुर्‍याउन र बिक्री बढाउन थप सहजीकरण आवश्यक देखिएको छ।
कारागार प्रमुख कार्कीका अनुसार चालु आर्थिक वर्षमा कारागार व्यवस्थापन विभागले सीपमूलक उद्यमका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उपलब्ध बजेट र स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै उत्पादनका लागि आवश्यक वातावरण बनाउन सके यस्ता गतिविधिलाई थप व्यवस्थित गर्न सकिने अपेक्षा गरिएको छ।
उत्पादनका लागि उपयुक्त ठाउँ,आवश्यक सामग्री र बजारसँगको पहुँच विस्तार गर्न सके कैदीबन्दीको सहभागिता बढाउन मद्दत पुग्न सक्छ। साथै, उत्पादित वस्तुको गुणस्तर सुधार, बिक्री व्यवस्थापन र बजारको मागअनुसार सामग्री उत्पादन गर्न सके उद्यमलाई थप प्रभावकारी बनाउन सकिने सम्भावना छ।


कारागारपछिको जीवनका लागि सीप

कारागारभित्र सञ्चालन भइरहेका सीपमूलक गतिविधि आम्दानीको माध्यम मात्र होइनन्,भविष्यका लागि उपयोगी सीप र अनुभव हासिल गर्ने अवसर पनि हुन्। कैद जीवनका क्रममा सिकेको सीपलाई कारागारबाहिर पनि उपयोग गर्न सके समाजमा पुनःस्थापित हुन र आत्मनिर्भर जीवनयापन गर्न सहयोग पुग्न सक्छ।
कारागारको बसाइलाई केवल समय बिताउने अवधिका रूपमा सीमित नराखी सीप सिक्ने र श्रम गर्ने अवसरका रूपमा विकास गर्न सके त्यसले कैदीबन्दीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसका लागि सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनु,उत्पादनको बजारीकरणमा सहजीकरण गर्नु र सिकेको सीपलाई भविष्यमा उपयोग गर्न सक्ने वातावरण तयार गर्नु आवश्यक देखिन्छ।