राम बहादुर बिश्वकर्मा
प्यूठान,चाडपर्वको रौनकसँगै बजारमा किनमेलको चहलपहल बढ्न थालेपछि प्यूठान उद्योग वाणिज्य संघले उपभोक्ताको हित संरक्षण गर्दै जिम्मेवार व्यवसाय सञ्चालन गर्न जिल्लाका उद्योगी तथा व्यवसायीलाई अपिल गरेको छ।
बडादसैँ, तिहार,नेपाल संवत् तथा छठ पर्वको अवसरमा बजारमा वस्तु तथा सेवाको माग बढ्ने भएकाले गुणस्तर,मूल्य र सेवामा विशेष ध्यान दिन संघले आग्रह गरेको हो। संघले चाडपर्वलाई व्यापार बढाउने अवसरका रूपमा मात्र नभई उपभोक्ताको विश्वास जित्ने र व्यावसायिक जिम्मेवारी प्रदर्शन गर्ने अवसरका रूपमा लिन व्यवसायीलाई अनुरोध गरेको छ।
संघका अध्यक्ष सन्देश आचार्यले चाडपर्वका बेला उपभोक्ताले सहज,सरल र प्रभावकारी सेवा पाउनुपर्नेमा जोड दिएका छन्। उनले नियमित व्यवसाय तथा सेवामा विशेष छुटको व्यवस्था मिलाउनसमेत व्यवसायीलाई आग्रह गरेका छन्।
म्याद गुज्रिएका वस्तु बिक्री नगर्न आग्रह
उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै संघले म्याद नाघेका तथा गुणस्तरहीन वस्तुको खरिदबिक्री पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ। बजारमा बिक्री हुने सामग्रीमा उत्पादन मिति,उपभोग गर्न मिल्ने अन्तिम मिति र अधिकतम खुद्रा मूल्य स्पष्ट उल्लेख भएको हुनुपर्नेमा संघले जोड दिएको छ।
त्यसैगरी,खाद्य तथा अखाद्य सामग्री छुट्टाछुट्टै भण्डारण गर्न, व्यावसायिक प्रतिष्ठान सफा राख्न र उपभोक्तालाई सामान खरिद गर्दा आधिकारिक बिल उपलब्ध गराउन संघले अनुरोध गरेको छ।
व्यवसाय दर्ता प्रमाणपत्र,साइनबोर्ड र अद्यावधिक मूल्यसूची देखिने स्थानमा राख्नुपर्ने तथा दर्ता प्रमाणपत्रमा उल्लेख भएका वस्तु तथा सेवाको मात्र कारोबार गर्नुपर्ने विषयलाई पनि संघले प्राथमिकतामा राखेको छ।
व्यापारसँगै सामाजिक उत्तरदायित्वमा जोड
चाडपर्वका समयमा बजारमा हुने भीडभाड र कारोबारलाई व्यवस्थित बनाउन व्यवसायीले आफ्नो प्रतिष्ठानको सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने संघको भनाइ छ। सम्भव भएसम्म सीसीटीभी क्यामेरा जडान तथा सञ्चालन गरी व्यवसायको सुरक्षा सुनिश्चित गर्नसमेत आग्रह गरिएको छ।
संघले बजारलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायीको सक्रियता तथा जिम्मेवारी महत्त्वपूर्ण हुने जनाएको छ। उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउने,मूल्य तथा कारोबारमा पारदर्शिता कायम गर्ने र स्वच्छ वातावरणमा सेवा प्रदान गर्ने अभ्यासले व्यवसायप्रतिको विश्वास बढाउने संघको अपेक्षा छ।
चाडपर्वको अवसरमा व्यवसायीले आफ्नो व्यावसायिक मर्यादा कायम राख्दै उपभोक्ताको हितलाई प्राथमिकता दिन सकेमा बजारमा सकारात्मक वातावरण निर्माण हुने विश्वास संघले व्यक्त गरेको छ।
व्यापारमा इमानदारी,सेवामा सहजता र व्यवहारमा जिम्मेवारीलाई आत्मसात् गर्दै अनुशासित तथा उपभोक्तामैत्री बजार निर्माणमा योगदान पुर्याउन प्यूठान उद्योग वाणिज्य संघले जिल्लाका सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई हार्दिक अनुरोध गरेको छ।
प्रतिक्रिया राख्नुहोस्