प्युठान,नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाको तेस्रो अधिवेशनबाट रमेश गिरी अध्यक्षमा निर्वाचित हुनुभएको छ। पुण्यखोलास्थित बहुउद्देश्यीय शैक्षिक भवनमा सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बसन्ता गिरी,सचिवमा टीकाराम रिजाल र कोषाध्यक्षमा सीता केसी निर्वाचित हुनुभएको छ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै शिक्षकका पेसागत हकहितको संरक्षण,शैक्षिक गुणस्तर अभिवृद्धि तथा संगठनात्मक एकतालाई थप सुदृढ बनाउने अपेक्षा अघि सारेको छ।
पुनःअध्यक्षमा निर्वाचित गिरीका लागि संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै शिक्षकका साझा समस्या तथा पेसागत सवाललाई प्राथमिकताका साथ उठाउनु प्रमुख जिम्मेवारी हुनेछ। शिक्षकका अधिकारको संरक्षण,पेसागत सुरक्षा,सम्मानजनक कार्य वातावरण र शैक्षिक सुधारका विषयलाई प्रभावकारी रूपमा अघि बढाउन सके नयाँ नेतृत्वले शिक्षक समुदायमा सकारात्मक प्रभाव पार्न सक्नेछ।
अधिवेशनका विशेष अतिथि तथा नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य विष्णु पोख्रेलले संगठन शिक्षकका पेसागत हकहितको संरक्षण र शैक्षिक सुधारका लागि स्थापित भएको बताउनुभयो। उहाँले शिक्षकको पेसागत सम्मान,अधिकार र शैक्षिक गुणस्तर सुधारमा संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी,नेपाल शिक्षक संगठन प्युठानका जिल्ला उपाध्यक्ष नरबहादुर घर्तीले विद्यालयको शैक्षिक उपलब्धि नै शिक्षकको कामको महत्त्वपूर्ण प्रमाण भएको उल्लेख गर्नुभयो।उहाँले आफ्नो विद्यालयमा केही वर्ष नतिजा कमजोर हुँदा आलोचना खेप्नुपरेको अनुभव सुनाउँदै पछिल्लो समय राम्रो सिकाइ उपलब्धि हासिल भएपछि आलोचना गर्नेहरू मौन रहेको उदाहरण प्रस्तुत गर्नुभयो।
नेपाल शिक्षक संगठन प्युठानका जिल्ला सचिव गोपालप्रसाद घिमिरेले संगठनले विगतदेखि नै शिक्षकका पेसागत हकहितका लागि आवाज उठाउँदै आएको बताउनुभयो।उहाँले आगामी दिनमा पनि शिक्षकका अधिकार,पेसागत सुरक्षा तथा शैक्षिक सुधारका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्युठान नगरपालिका समितिका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन सचिव टीकाराम रिजालले गर्नुभएको थियो भने उपाध्यक्ष बसन्ता गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो।नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिलगायत उपस्थित अतिथिहरूले सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
नयाँ कार्यसमितिले शिक्षकका पेसागत समस्या समाधानका लागि पहल गर्ने,शिक्षकबीच एकता र सहकार्य बढाउने तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। गिरी नेतृत्वको समितिको आगामी कार्यसम्पादनले संगठनले अघि सारेका उद्देश्यलाई व्यवहारमा उतार्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
प्रतिक्रिया राख्नुहोस्