शुभकामना साटासाटसँगै स्वच्छ प्यूठानको सन्देश प्रवाह गर्दै उद्योग वाणिज्य संघ

शुभकामना साटासाटसँगै स्वच्छ प्यूठानको सन्देश प्रवाह गर्दै उद्योग वाणिज्य संघ


राम बहादुर बिश्वकर्मा
प्यूठान,चाडपर्वको उल्लासलाई सामाजिक सद्भाव, स्वच्छता र नागरिक सुरक्षासँग जोड्दै प्यूठान उद्योग वाणिज्य संघले सरोकारवालाबीच अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। ‘हाम्रो अभियान, स्वच्छ र सुरक्षित प्यूठान’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमले स्वच्छ बजार, स्वस्थ समाज र सुरक्षित वातावरण निर्माणका लागि सबै पक्षको साझा जिम्मेवारीलाई उजागर गरेको छ।
बडा दसैँ, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा बुधबार, २०८३ साल आश्विन २८ गते संघको सभाहलमा आयोजित कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यता,मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको विशिष्ट आतिथ्यता तथा संघका अध्यक्ष सन्देश आचार्यको अध्यक्षता रहेको थियो। सोही अवसरमा हालै जिल्लामा आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई स्वागतसमेत गरिएको थियो।

स्वच्छ र सुरक्षित प्यूठानका लागि साझा पहल आवश्यक : अध्यक्ष आचार्य

 

कार्यक्रममा संघका अध्यक्ष सन्देश आचार्यले स्वच्छ,सुरक्षित र व्यवस्थित प्यूठान निर्माण कुनै एक संस्था वा निकायको प्रयासले मात्र सम्भव नहुने बताए। यसका लागि स्थानीय सरकार, प्रशासन, उद्योगी–व्यवसायी, नागरिक समाज र आम नागरिकबीच प्रभावकारी समन्वय,सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
चाडपर्वका बेला बजारमा उपभोक्ताको चहलपहल बढ्ने भएकाले सरसफाइ,जनस्वास्थ्य, उपभोक्ताको हित तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनले बताए। चाडपर्वलाई खुसी साटासाट गर्ने अवसरमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्वच्छ र सुरक्षित वातावरण निर्माण गर्ने अभियानका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।
‘स्वच्छ र सुरक्षित प्यूठान निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ। आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै साझा अभियानका रूपमा अघि बढ्न सके मात्र व्यवस्थित, स्वच्छ र सुरक्षित प्यूठान निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ,’ अध्यक्ष आचार्यले भने।
उनले ‘हाम्रो अभियान, स्वच्छ र सुरक्षित प्यूठान’ नारालाई व्यवहारमा रूपान्तरण गर्न सबै सरोकारवालाको निरन्तर पहल र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

अभियानमा ऐक्यबद्धता जनाउँदै नगर प्रमुख योगी

 

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विष्णु बहादुर योगीले ‘हाम्रो अभियान, स्वच्छ र सुरक्षित प्यूठान’ अभियानप्रति ऐक्यबद्धता जनाउँदै यसको सुरुवात प्यूठान नगरपालिकाबाट गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वच्छ र सुरक्षित वातावरण निर्माणका लागि स्थानीय तहले अग्रसरता लिनुपर्ने सन्देश दिँदै उनले अभियानलाई व्यवहारमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए।
उनले चाडपर्वले आपसी भाइचारा,आत्मीयता र सद्भावलाई प्रगाढ बनाउनुका साथै सामाजिक एकतालाई बलियो बनाउने उल्लेख गरे। स्वच्छ,सभ्य र संस्कारयुक्त समाज निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
नगर प्रमुख योगीले स्वच्छ र सुरक्षित प्यूठान निर्माणमा स्थानीय सरकारसँगै उद्योगी–व्यवसायी,सामाजिक संघसंस्था र आम नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताए। चाडपर्वलाई सामाजिक सद्भाव अभिवृद्धि गर्ने,आपसी सहयोग बढाउने र सकारात्मक सन्देश प्रवाह गर्ने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए।

बजार व्यवस्थापन र उपभोक्ता हितमा साझा चासो

चाडपर्वका समयमा बजारमा किनमेल गर्ने उपभोक्ताको चाप बढ्ने भएकाले सरसफाइ, जनस्वास्थ्य र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउनु आवश्यक हुन्छ। यही विषयलाई केन्द्रमा राखेर आयोजित अन्तरक्रियामा बजार व्यवस्थापन, स्वच्छता,नागरिकको स्वास्थ्य तथा उपभोक्ताको हित संरक्षणलगायतका समसामयिक विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा उद्योगी–व्यवसायी,स्थानीय सरकार,प्रशासन,राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाबीच जिल्लाको स्वच्छता र बजार व्यवस्थापनका विषयमा विचार आदानप्रदान गरिएको थियो। छलफलमा उठेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्दै सहकार्यलाई निरन्तरता दिन सके बजार व्यवस्थापन सुधार, उपभोक्ताको हित संरक्षण र सुरक्षित वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
शुभकामना आदानप्रदानसँगै स्वच्छता,सुरक्षा र व्यवस्थित बजार निर्माणको सन्देश प्रवाह गरेको संघले ‘हाम्रो अभियान, स्वच्छ र सुरक्षित प्यूठान’ लाई साझा अभियानका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।