राम बहादुर बिश्वकर्मा
प्यूठान,सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै राष्ट्रियस्तरमा ब्रान्डको मान्यता कायम गर्न सफल प्यूठानको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व अब मोहन सुवेदीको काँधमा आएको छ।संस्थाको दोस्रो अधिवेशनबाट सुवेदी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो।
गुणस्तर परीक्षणमा उत्कृष्ट नतिजा हासिल गर्दै पटक–पटक राष्ट्रियस्तरको ब्रान्डको पहिचान कायम गर्न सफल संस्थाको नेतृत्व सम्हाल्नु सुवेदीका लागि अवसरसँगै महत्वपूर्ण जिम्मेवारी पनि हो।संस्थाले हासिल गरेको उपलब्धिलाई जोगाउँदै सदस्यको विश्वास अझ मजबुत बनाउनु र सहकारीलाई थप व्यवस्थित बनाउनु उहाँसामु रहेका प्रमुख अपेक्षा हुन्।
संस्थाको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिनुभयो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधा पुलामी,सचिवमा प्रभात श्रेष्ठ र कोषाध्यक्षमा टोपबहादुर मल्ल चयन हुनुभएको छ।
त्यस्तै,सदस्यहरूमा भुवन सिंह, रमेशकुमार आचार्य, रवीन्द्र रोका, सावित्रा हौजाली र सुशीला नेपाली चयन हुनुभएको छ। अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा डिमराज पोख्रेल तथा सदस्यमा रवीन्द्र पाण्डे र बाबुराम उपाध्यायलाई निर्वाचित गरेको छ।
विभिन्न सामाजिक संस्थामा आबद्ध रहनुभएका सुवेदी वित्तीय क्षेत्रमा समेत अनुभवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाउने, सदस्यको हितलाई प्राथमिकता दिने र संस्थागत सुशासनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सहकारीको सफलता केवल आर्थिक कारोबारमा मात्र सीमित हुँदैन। सदस्यको विश्वास,पारदर्शिता, गुणस्तरीय सेवा र संस्थागत उत्तरदायित्वले पनि यसको पहिचान निर्धारण गर्छन्। यही पहिचानलाई थप उचाइमा पुर्याउनु नयाँ नेतृत्वका लागि महत्वपूर्ण अवसर हुनेछ।
विजय फूलबारी सहकारीले निर्माण गरेको राष्ट्रिय पहिचानलाई निरन्तरता दिँदै बदलिँदो वित्तीय परिवेशअनुसार सेवा विस्तार गर्न सके संस्थाको आगामी यात्रा अझ उपलब्धिमूलक बन्न सक्छ। संस्थाको नीतिगत नेतृत्व निर्वाचित कार्यसमितिले गर्ने भए पनि दैनिक सञ्चालन र व्यवस्थापकीय जिम्मेवारी प्रकाश वैद्यले सम्हाल्दै आउनुभएको छ।नेतृत्व र व्यवस्थापनबीचको समन्वयले संस्थालाई थप व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्