चाडपर्वमा सुरक्षा कडा पार्दै प्यूठान प्रहरी,बजारदेखि सडकसम्म निगरानी  

चाडपर्वमा सुरक्षा कडा पार्दै प्यूठान प्रहरी,बजारदेखि सडकसम्म निगरानी  

राम बहादुर बिश्वकर्मा
प्यूठान,दसैँ,तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा प्यूठान प्रहरीले जिल्लाको शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ। चाडपर्वको चहलपहलसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, बजारको निगरानी र सडक सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले शुक्रबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्नुभयो। उहाँले प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले भदौ महिनादेखि हालसम्म गरेका कामको प्रगति विवरणसमेत प्रस्तुत गर्नुभयो।
चाडपर्वका बेला बजार तथा भीडभाड हुने क्षेत्रमा हुन सक्ने चोरी,ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रहरीले प्राथमिकतामा राखेको छ। यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गरिने प्रहरीले जनाएको छ।
अन्तरक्रियामा जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था,अपराध नियन्त्रण,प्रहरी सेवा प्रवाह र समसामयिक सुरक्षा चुनौतीबारे पनि छलफल भएको थियो।चाडपर्वलाई सुरक्षित,व्यवस्थित र भयरहित बनाउन प्रहरीले सुरक्षा निगरानी बढाउने तयारी गरेको छ। चाडपर्वको खुसीमा सुरक्षा चुनौती बाधक नबनोस् भन्ने उद्देश्यसहित प्रहरीको सक्रियता बजारदेखि सडकसम्म केन्द्रित हुने देखिएको छ।