राम बहादुर बिश्वकर्मा
प्यूठान,विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जिम्मेवारी शिक्षकको मात्र नभई विद्यार्थी र अभिभावकको पनि उत्तिकै रहेको सरोकारवालाले बताएका छन्।एकअर्कालाई दोष देखाएर शैक्षिक उपलब्धि हासिल गर्न नसकिने भन्दै उनीहरूले विद्यालय,शिक्षक,विद्यार्थी र अभिभावकबीच आपसी समन्वय,सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेकोमा जोड दिएका छन्।
शुक्रबार प्यूठान नगरपालिका–९,मरन्ठाना मजुवास्थित श्री बाल विद्या माध्यमिक विद्यालयमा आयोजित सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक,अभिभावक भेला तथा दसैँ–तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले शैक्षिक सुधारका लागि सबै पक्ष सक्रिय हुनुपर्ने बताएका हुन्।
विद्यालयको शैक्षिक वातावरण सुधार्न शिक्षकले आफ्नो शिक्षण पद्धतिलाई प्रभावकारी बनाउनुपर्ने,विद्यार्थी अध्ययनप्रति अनुशासित र लगनशील हुनुपर्ने तथा अभिभावकले बालबालिकाको पढाइप्रति नियमित चासो राख्नुपर्ने उनीहरूको भनाई थियो। विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन घर र विद्यालयबीचको सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा समेत वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष नरबहादुर विष्टले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार रहेको जानकारी गराउनुभयो। सामाजिक परीक्षणले विद्यालयको आर्थिक तथा शैक्षिक गतिविधिमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक केशु गिरीले सामाजिक परीक्षणको आवश्यकता र महत्त्वबारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले विद्यालयको समग्र विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक तथा सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिका–९ का वडाध्यक्ष विकास के.सी.ले पछिल्लो पुस्तामा पठन संस्कृतिप्रति घट्दै गएको रुचिप्रति चिन्ता व्यक्त गर्नुभयो। बालबालिका पुस्तक पढ्नेभन्दा अन्य गतिविधिमा बढी संलग्न हुन थालेको उल्लेख गर्दै उहाँले अध्ययनप्रतिको रुचि जगाउन विद्यालय र अभिभावक दुवैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणले बालबालिकाको सोचाइमा समेत प्रभाव पारेको उहाँको भनाइ थियो। ‘जति पढे पनि विदेश जाने हो’ भन्ने मानसिकता विकास हुँदै गएको महसुस आफुले गरेको उल्लेख गर्दै उहाँले बालबालिकालाई शिक्षाको महत्त्व बुझाउन र अध्ययनप्रति प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो।
पठन संस्कृतिको विकास,नियमित अध्ययनको बानी र अभिभावकको निगरानीले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने भएकाले विद्यालयको शैक्षिक सुधारलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा कार्यक्रमका वक्ताहरूको जोड थियो।
कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति सदस्य रेशमा गिरी,समाजसेवी मानबहादुर के.सी,अभिभावक तुल्सीराम विष्टलगायतले सुझाव तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।
औपचारिक कार्यक्रमसँगै विद्यार्थीहरूले विभिन्न लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयको गतिविधि,शैक्षिक अवस्था र आगामी सुधारका विषयमा छलफल गर्दै अभिभावक तथा सरोकारवालाबीच सहकार्यको आवश्यकतासमेत औँल्याइएको थियो।
प्रतिक्रिया राख्नुहोस्