प्युठानका चार केन्द्रबाट ५२८८ बालबालिकाले लिए स्वर्णविन्दु प्राशन सेवा

प्युठानका चार केन्द्रबाट ५२८८ बालबालिकाले लिए स्वर्णविन्दु प्राशन सेवा

राम बहादुर बिश्वकर्मा
प्यूठान,बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रममा प्यूठानका बालबालिकाको सहभागिता उल्लेख्य देखिएको छ।असोज १९ गते जिल्लाका चार स्थानमा सञ्चालन गरिएको कार्यक्रममा ५ हजार २८८ बालबालिकाले स्वर्णविन्दु प्राशन सेवा लिएका छन्।
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाबाट २ हजार ४९५,बहाने आयुर्वेद औषधालयबाट १ हजार २६४, भिंगृ आयुर्वेद औषधालय चिराबारीबाट ८०२ र माण्डवी नागरिक आरोग्य सेवा केन्द्र देवीस्थानबाट ७२७ बालबालिकाले सेवा लिएका हुन।
चारवटै केन्द्रको तथ्यांक जोड्दा असोज १९ गते मात्रै ५२८८ बालबालिकाले स्वर्णविन्दु प्राशन गरेको देखिएको छ।
केन्द्रका अध्यक्ष रमेश विश्वकर्माले स्थानीय तहसँगको समन्वयमा हाल जिल्लाका चार स्थानबाट सेवा सञ्चालन भइरहेको बताए। कार्यक्रमलाई जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको उनको भनाई छ।
“स्थानीय तहसँग समन्वय गरी हाल चार स्थानबाट सेवा दिइरहेका छौँ। बाँकी क्षेत्रमा पनि सेवा प्रवाहका लागि स्थानीय तहहरूसँग समन्वय भइरहेको छ,” विश्वकर्माले भने।
उनका अनुसार स्थानीय तहसँग आवश्यक समन्वयपछि जिल्लाका थप स्थानमा समेत स्वर्णविन्दु प्राशन सेवा सञ्चालन गरिनेछ। यसबाट आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच थप विस्तार हुनुका साथै ग्रामीण क्षेत्रका बालबालिका समेत लाभान्वित हुने अपेक्षा गरिएको छ।