२५ वर्षे यात्राको स्मरण गर्दै पत्रकार महासंघ प्यूठानद्वारा रक्तदान

२५ वर्षे यात्राको स्मरण गर्दै पत्रकार महासंघ प्यूठानद्वारा रक्तदान

राम बहादुर बिश्वकर्मा
प्यूठान,नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आफ्नो २५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। स्थापना दिवसको अवसरमा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको हो।
बिजुवारस्थित रक्तसञ्चार सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा पत्रकारहरूले रक्तदान गर्दै स्थापना दिवसलाई सेवामूलक गतिविधिसँग जोडेर मनाएका हुन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठान शाखाका पूर्वअध्यक्ष गिरुप्रसाद भण्डारी,निवर्तमान अध्यक्ष सञ्जय रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले पत्रकार महासंघको २५ वर्षे यात्रा केवल संस्थागत विकासको यात्रा मात्र नभई प्यूठानको पत्रकारिता क्षेत्रको विकास,पत्रकारहरूको पेशागत सुरक्षा तथा हकहितका लागि निरन्तर संघर्ष र योगदानको इतिहास भएको बताउनुभयो।
वि.सं. २०५८ साल असोज २० गते स्थापना भएको नेपाल पत्रकार महासंघ प्यूठान शाखाले जिल्लाको पत्रकारिता क्षेत्रलाई व्यवस्थित र संस्थागत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँहरूको भनाइ थियो।
कार्यक्रममा महासंघको स्थापना तथा विकासमा योगदान पुर्‍याउने संस्थापक,अग्रज पत्रकार तथा शुभेच्छुकहरूको योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले महासंघको गौरवपूर्ण यात्रामा योगदान पुर्‍याउनुहुने सम्पूर्ण संस्थापक तथा अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभयो।
महासंघका संस्थापक सभापति स्वर्गीय सूर्य वि.क.,पूर्वउपाध्यक्ष स्वर्गीय वसन्ता भट्ट तथा सदस्य स्वर्गीय यमबहादुर थापाको योगदानलाई विशेष रूपमा स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
त्यस्तै,प्यूठानको पत्रकारिताको विकास,संस्थागत सुदृढीकरण तथा पत्रकारहरूको हकहितका लागि निरन्तर योगदान पुर्‍याउँदै आएका अग्रज पत्रकार,अक्षयकोष तथा पत्रकार कल्याणकारी कोषका दाता, सहयोगी तथा शुभेच्छुकहरूप्रति कार्यक्रममा हार्दिक आभार व्यक्त गरिएको थियो।
वक्ताहरूले बदलिँदो सञ्चार प्रविधि र चुनौतीपूर्ण अवस्थामा पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि पत्रकार महासंघ अझ सशक्त र जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। पत्रकारहरूको पेशागत मर्यादा,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै पत्रकारहरूको सामाजिक सुरक्षाका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँहरूको भनाइ थियो।
स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमले पत्रकारिता केवल सूचना प्रवाह गर्ने पेशा मात्र नभई समाजप्रति उत्तरदायी र मानवीय सेवासँग जोडिएको क्षेत्रसमेत भएको शाखाका सचिव बासुदेव गिरीले बताउनुभयो।
नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा,पत्रकार कल्याण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।