राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान बहुमुखी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व बासु केसीले सम्हाल्नुभएको छ। शनिबार सम्पन्न संस्थाको १७औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट केसी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो।
नयाँ नेतृत्व चयनसँगै सहकारीले शेयर सदस्यको आवश्यकता,कर्जा लगानी र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारलाई कसरी अघि बढाउँछ भन्ने विषय आगामी कार्यकालका लागि महत्वपुर्ण रहने देखिएको छ।
अध्यक्षमा निर्वाचित के.सी सहित उपाध्यक्षमा पूर्णबहादुर के.सी,सचिवमा मधुसूदन गिरी र कोषाध्यक्षमा ईश्वरी पोख्रेल चयन हुनुभएको छ। सदस्यमा मीन घर्तीमगर,तारा रोला क्षेत्री, नारायणी बस्नेत, समीक्षा भण्डारी,
कमला भारती,शुसिला परियार र खिमा घर्तीमगर रहनुभएको छ।
अधिवेशनले निवर्तमान अध्यक्ष माधवप्रसाद पराजुलीको संयोजकत्वमा लेखा समिति गठन गरेको छ। समितिमा राधा खड्का र देवी विष्ट सदस्य रहनुभएको छ।
उत्पादनसँग जोड्नुपर्नेमा जोड
प्युठान नगरपालिका–९ का वडा अध्यक्ष विकास के.सीले सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले शेयर सदस्यको आवश्यकता र मागलाई आधार बनाएर कर्जा प्रवाह गर्नुपर्ने बताउनुभयो। सहकारीमा रकम तरल अवस्थामा राखिरहनुभन्दा सदस्यको आयआर्जन बढाउने क्षेत्रमा लगानी गर्न सके सहकारीको भूमिका अझ प्रभावकारी बन्ने उहाँको भनाइ थियो।
समाजमा विकृति तथा विसंगति बढ्दै गएको भन्दै उहाँले समयको सदुपयोग गर्दै उत्पादनमूलक काममा लाग्नुपर्ने बताउनुभयो।उत्पादन,उद्यम र आर्थिक गतिविधिसँग जोडिन सके समाज रूपान्तरणमा समेत योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो।
१६ वर्षमा तीन करोडभन्दा बढी कर्जा लगानी
२०६७ साल जेठ २६ गते २७ जना शेयर सदस्यबाट स्थापना भएको सहकारीले हाल तीन करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।
साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको नियमित बचत २ करोड ६६ लाख ८६ हजार ७ सय ५९ रुपैयाँ रहेको छ। बाल बचत ३० लाख ८३ हजार ७ सय ३ रुपैयाँ र ऐच्छिक बचत १० लाख २८ हजार ७ सय ६५ रुपैयाँ रहेको छ।
सामुदायिक संस्था बचत १० लाख ४० हजार २ सय ५६ रुपैयाँ, नियमित दैनिक बचत ८ लाख ७४ हजार ६ सय १९ रुपैयाँ, आवधिक बचत १ लाख २० हजार ८ सय ३ रुपैयाँ तथा कर्मचारी सञ्चय कोष बचत ९० हजार २ सय ६४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको शेयर पुँजी २१ लाख ३५ हजार रुपैयाँ रहेको छ। आर्थिक प्रतिवेदनअनुसार संस्थाले ७ लाख ५२ हजार १ सय रुपैयाँ खुद नाफा गरेको छ। हालसम्म ३ करोड १२ लाख ४४ हजार ३ सय ८५ रुपैयाँ कर्जा लगानी भएको संस्थाले जनाएको छ।
नयाँ कार्यसमितिको काँधमा जिम्मेवारी
साधारणसभा तथा अधिवेशनले नेतृत्व परिवर्तनसँगै संस्थाको आगामी कार्यदिशाबारे पनि छलफल गरेको छ। नयाँ कार्यसमितिका लागि शेयर सदस्यको विश्वास कायम राख्दै बचत तथा कर्जा कारोबारलाई व्यवस्थित बनाउनुका साथै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु प्रमुख जिम्मेवारीका रूपमा रहनेछ।
कार्यक्रममा उपाध्यक्ष बासुदेव के.सी ले स्वागत मन्तव्य राख्नुभएको थियो। सचिव पूर्णबहादुर के.सी ले संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष मधुसूदन गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष माया गिरी,बाल विद्या माध्यमिक विद्यालयका प्रधानाध्यापक केशु गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्