कांग्रेस अधिवेशन : प्युठानमा देउवा समुहले बढायो सक्रियता

प्युठान,नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको महाधिवेशनलाई लक्षित गर्दै प्युठानमा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। अधिवेशनका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न प्युठान नगरपालिका-४,बिजुवार बजारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ।
बिहीबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य सरोज थापा ‘रोज राणा’ लगायतका नेताहरूको उपस्थितिमा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।
सम्पर्क कार्यालय स्थापनासँगै जिल्लाका विभिन्न वडामा अधिवेशनसम्बन्धी तयारीलाई समेत तीव्रता दिइएको छ। वडा तहदेखि पालिका हुँदै जिल्ला तहसम्मका अधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले आवश्यक समन्वय र तयारी थालिएको नेताहरूले बताएका छन्।
पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य थापाका अनुसार पालिकास्तरमा संयोजक तोकिसकिएको छ। जिल्लाका सबै वडामा असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका तयार गरिएको उनले जानकारी दिए।
उनले वडा तहमा पार्टी संगठनलाई थप सक्रिय बनाउँदै अधिवेशन प्रक्रियालाई व्यवस्थित र सहभागितामूलक रूपमा अघि बढाउने गरी तयारी भइरहेको बताए।
नेपाली कांग्रेस प्युठानका संयोजक ईश्वरसिंह विष्टका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा अधिवेशन समन्वयका लागि संयोजक तोकिएका छन्।
प्युठान नगरपालिकामा नेत्र केसी,मल्लरानीमा कुमार श्रेष्ठ,ऐरावतीमा एशन शाही,सरुमारानीमा पुष्प न्यौपाने,माण्डवीमा दीपक के.सी, स्वर्गद्वारीमा कृष्णप्रसाद बस्याल, नौबहिनीमा देवीराम पुन मगर,झिमरुकमा प्रमोद पोखरेल र गौमुखीमा अर्जुन गिरीलाई संयोजकको जिम्मेवारी दिइएको विष्टले बताए।
अधिवेशनको तयारीसँगै कांग्रेसभित्र वडा तहदेखि नै संगठन सुदृढीकरण,कार्यकर्ता परिचालन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ। सम्पर्क कार्यालयलाई अधिवेशनसम्बन्धी सूचना, समन्वय तथा आवश्यक गतिविधि सञ्चालन गर्ने मुख्य केन्द्रका रूपमा प्रयोग गरिने तयारी छ।
पार्टीको आन्तरिक अधिवेशनलाई लक्षित गर्दै जिल्लामा विभिन्न समूहले आ-आफ्नो तयारी अघि बढाइरहेका बेला देउवा समूहले पनि प्युठानमा संगठनात्मक गतिविधिलाई सक्रिय बनाएको हो।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै आगामी अधिवेशनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सबै कार्यकर्ताबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।