प्युठानमा सडक सुरक्षाको नयाँ अभ्यास,ट्राफिक प्रहरीसँगै बालबालिका

प्युठानमा सडक सुरक्षाको नयाँ अभ्यास,ट्राफिक प्रहरीसँगै बालबालिका

राम बहादुर बिश्वकर्मा 
प्युठान,सडकमा ट्राफिक प्रहरी मात्रै देखिने प्युठानका मुख्य चोक र बजार क्षेत्रमा अहिले बालबालिका पनि सचेतना अभियानको हिस्सा बनेका छन्। हातमा प्लेकार्ड बोकेर उनीहरू चालक र पैदलयात्रीलाई सुरक्षित यात्राको सन्देश दिइरहेका छन्।‘तीव्र गति होइन,सुरक्षित गति रोजौँ’ लेखिएको प्लेकार्ड बोकेर बालबालिका ट्राफिक प्रहरीसँगै सडकमा उभिन थालेपछि अभियानले फरक रूप लिएको छ। विद्यार्थीले सडकमा आवतजावत गर्ने नागरिकलाई ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्रा गर्न आग्रह गरिरहेका छन्।
बालबालिकालाई सानै उमेरदेखि सडक सुरक्षा र ट्राफिक अनुशासनबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले उनीहरूलाई अभियानमा प्रत्यक्ष सहभागी गराइएको हो।सिकेको कुरा व्यवहारमा उतार्दै उनीहरूले आफूसँगै अरूलाई समेत सचेत गराइरहेका छन्।
जिल्ला ट्राफिक कार्यालय प्युठान र इलाका प्रहरी कार्यालय बिजुवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा मित्रमणि चोकबाट अभियान सुरु गरिएको हो। विभिन्न विद्यालयका विद्यार्थी अभियानमा सहभागी छन्।
कार्यक्रममा विद्यार्थीलाई सुरक्षित रूपमा सडकमा हिँड्ने,सडक पार गर्दा अपनाउनुपर्ने सावधानी,ट्राफिक संकेतको अर्थ,पैदलयात्रीका लागि सुरक्षित मार्ग र सवारीसाधनमा यात्रा गर्दा अपनाउनुपर्ने सुरक्षा उपायबारे जानकारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षाका विषयमा अभिमुखीकरण गरेका थिए। त्यसपछि विद्यार्थीलाई स्वयंसेवकका रूपमा सडकमा परिचालन गरिएको हो।
जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार अभियान दुई दिनसम्म सञ्चालन हुनेछ। मुख्य सडक तथा बजार क्षेत्रमा बिहान ८ः३० देखि १० बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म बालबालिकालाई स्वयंसेवकका रूपमा सहभागी गराइनेछ।
पिक आवरमा बजार क्षेत्रमा बढ्ने सवारी तथा पैदलयात्रीको चाप व्यवस्थापन गर्नुका साथै सुरक्षित आवागमन सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको न्यौपानेले बताए। ट्राफिक नियम पालनाप्रति जनचेतना बढाउने र दुर्घटना न्युनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यसमेत रहेको उनले बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं,प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगी,नेपाल रेडक्रस सोसाइटीका सभापति गुमानराज पुलामी,इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख महेश्वरी बिष्ट,ट्राफिक प्रहरी,सुरक्षाकर्मी,सञ्चारकर्मी तथा विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए।
बालबालिकालाई अभियानमा सहभागी गराउनुको उद्देश्य उनीहरूलाई सडक सुरक्षाको पाठ पढाउनु मात्र होइन,सुरक्षित सडक निर्माणमा नागरिकको भूमिकासमेत बुझाउनु रहेको आयोजकको भनाई छ। विद्यार्थीमार्फत परिवार र समुदायसम्म सडक सुरक्षाको सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ।