जहाँ उपचारसँगै भरोसा पनि पाइन्छ : पाँचौँ बसन्तमा निमतारा पोलिक्लिनिक 

आफ्नै माटोमा फर्किएका दुई चिकित्सक दाजुभाइको चार वर्षे स्वास्थ्य यात्राः २० हजारभन्दा बढी 

जहाँ उपचारसँगै भरोसा पनि पाइन्छ : पाँचौँ बसन्तमा निमतारा पोलिक्लिनिक 

 

बिरामी स्वास्थ्य संस्थाको ढोकासम्म पुग्दा उसले रोग मात्रै बोकेको हुँदैन,उ सँगै एउटा आशा पनि आएको हुन्छ ‘म निको हुन्छु कि?’


राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठानको बिजुवार स्थित निमतारा पोलिक्लिनिकमा पुग्ने हरेक अनुहारभित्र यस्तै कुनै न कुनै कथा लुकेको हुन्छ।
कोही टाढाको गाउँबाट बिहानै हिँडेर उपचारको आशामा आइपुगेका हुन्छन्।कोही वृद्ध आमाबुवालाई सहारा दिँदै ल्याएका हुन्छन्। कसैको हातमा स्वास्थ्य परीक्षणको रिपोर्ट हुन्छ,कसैको आँखामा अनिश्चितताको डर। कोही विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आएका हुन्छन्,कोही भिडियो एक्सरे वा प्रयोगशाला परीक्षणका लागि। अनि कोही औषधिको पर्चा हातमा लिएर मनमनै प्रार्थना गरिरहेका हुन्छन्-‘अब सबै ठीक होस्।’यी दृश्य निमतारा पोलिक्लिनिकका लागि सामान्य दैनिक गतिविधि मात्रै होइनन्। यी चार वर्षदेखि निरन्तर जोडिँदै आएका हजारौँ मानवीय कथा हुन्।
चार वर्षअघि बिजुवारबाट सुरु भएको निमतारा पोलिक्लिनिकले आज २० हजारभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ। चार वर्षको यो यात्रा एउटा स्वास्थ्य संस्थाको विस्तारको कथा मात्र होइन,नागरिकको विश्वास बिस्तारै जित्दै गएको यात्राको कथा पनि हो।

आफ्नै माटोले बोलाएपछि...

चिकित्सा पेशामा लागेपछि देशका विभिन्न ठाउँमा काम गर्नु,नयाँ अनुभव हासिल गर्नु र आफ्नो व्यावसायिक भविष्य निर्माण गर्नु सामान्य यात्रा हो।
डा. सुवास जि.सि. र डा. प्रकाश जि.सि. पनि यही यात्रामा थिए।
देशका विभिन्न चर्चित स्वास्थ्य संस्थामा लामो समय काम गर्दै उनीहरूले चिकित्सा क्षेत्रमा अनुभव बटुले। धेरै बिरामीको उपचार गरे। स्वास्थ्य सेवाको आवश्यकता नजिकबाट बुझे।तर आफ्नो पेशागत यात्राका बीचमा एउटा प्रश्न उनीहरूको मनमा बारम्बार आइरह्यो-‘आफ्नै जिल्लाका नागरिकका लागि हामीले के गर्न सक्छौँ?’प्रश्न सानो थियो,तर त्यसको उत्तर खोज्ने यात्रा ठुलो।
जन्मभूमिबाट टाढा रहेर अरूका लागि स्वास्थ्य सेवा दिइरहेका यी दुई दाजुभाइ अन्ततः आफ्नै माटोमा फर्किए।

बिजुवारमा एउटा सपना रोपियो,त्यो सपनाको नाम बन्यो-निमतारा।

बुवा निमान सिंह जि.सि. र आमा तारा जि.सि. को नामको संयोजन बाट राखिएको‘निमतारा’ नाममा पारिवारिक स्नेह मात्र छैन,आफ्नै माटो,आफ्नै समाज र आफ्नै मानिसप्रतिको जिम्मेवारी पनि जोडिएको छ।
यो नाम उनीहरूका लागि एउटा संस्थाको परिचय मात्र होइन,आफ्ना अभिभावकप्रतिको सम्मान र जन्मभूमिप्रतिको मायाको प्रतीक पनि हो।


एउटा सपना,जसको केन्द्रमा थियो-प्युठान


स्वास्थ्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता प्युठानका नागरिकका लागि लामो समयदेखि परिचित समस्या थियो।
उपचारका लागि बाहिर जानु भनेको अस्पतालको खर्च मात्रै होइन।
त्यससँग जोडिन्छ-यात्राको खर्च, बसाइको खर्च, बिरामीसँग जाने आफन्तको समय,काम छुटेको क्षति र सबैभन्दा ठूलो कुरा,बिरामी तथा परिवारले भोग्ने मानसिक तनाव।
यही वास्तविकतालाई नजिकबाट बुझेका दुई चिकित्सक दाजुभाइले जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रयास गरे।आज निमतारामा विभिन्न विशेषज्ञ सेवा,भिडियो एक्सरे,प्रयोगशाला तथा सुपथ फार्मेसीलगायतका सेवा उपलब्ध छन्।
सेवाग्राहीको आवश्यकता र मागअनुसार सेवा विस्तार हुँदै जाँदा उपचारका लागि घरबाट टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम भएको अनुभव सेवाग्राहीले गर्दै आएका छन्।
कुनै परिवारका लागि यो समयको बचत हो।
कुनैका लागि पैसाको।कसैका लागि यात्राको झन्झटबाट मुक्ति र कसैका लागि-आफ्नै ठाउँमा उपचार पाइन्छ भन्ने ढुक्कपन।स्वास्थ्य सेवा,जहाँ आत्मीयता पनि उपचारकै हिस्सा हुन्छ
स्वास्थ्य उपचारमा औषधि चाहिन्छ,उपकरण चाहिन्छ,प्रविधि चाहिन्छविशेषज्ञता चाहिन्छ,तर यतिले मात्रै बिरामीको मन जितिँदैन।
बिरामीले चिकित्सकको बोलीमा भरोसा खोज्छ। नर्सको व्यवहारमा आत्मीयता खोज्छ।आफ्नो पीडा बुझिदिने मानिस खोज्छ।र यही मानवीय पक्षले स्वास्थ्य सेवालाई केवल ‘उपचार’भन्दा माथि उठाउँछ।सायद त्यसैले निमताराको चार वर्षे यात्रामा सबैभन्दा महत्वपुर्ण उपलब्धि कुनै उपकरण,भवन वा सेवाको सुचीभन्दा पनि सेवाग्राहीको विश्वास बनेको छ।
पोलिक्लिनिकका सञ्चालक डा. सुवास जि.सि. का लागि पनि यही विश्वास सबैभन्दा ठूलो पुजी हो।“हाम्रो उद्देश्य नाफा कमाउनु मात्र होइन,सामाजिक सेवामा समेत समर्पित हुनु हो,”उनी भन्छन्।गरिब,विपन्न,असहाय तथा अशक्त नागरिकलाई सक्दो सहयोग गर्ने प्रयासलाई उनी संस्थाको सामाजिक जिम्मेवारीका रूपमा लिन्छन्।
२० हजार संख्या होइन,२० हजारभन्दा बढी कथा
पोलिक्लिनिकका अनुसार स्थापना कालदेखि हालसम्म २० हजारभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिइसकेका छन्।
२० हजार सुन्दा यो एउटा संख्या मात्रै हो।तर त्यो संख्याभित्र पस्दा अनेकौँ कथा भेटिन्छन्।त्यहाँ एउटा आमाको चिन्ता छ,एउटा बाबुको आशा छ,एउटा वृद्धको भरोसा छ।एउटा बालकको स्वास्थ्यसँग जोडिएको परिवारको सपना छ,कसैको पीडा छ,कसैको राहत छ।
कसैले पहिलोपटक आफ्नो स्वास्थ्य परीक्षण गराएको होला। कसैले लामो समयदेखि बोकेको स्वास्थ्य समस्या लिएर आएको होला। कसैले विशेषज्ञ चिकित्सकको परामर्शपछि उपचारको नयाँ बाटो भेट्टाएको होला।कसैले औषधि लिएर घर फर्कंदा परिवारलाई भनेको होला-‘अब डराउनुपर्दैन।’
यी सबै अनुभव जोडिँदै जाँदा बनेको हो-निमताराको चार वर्ष।
त्यसैले २० हजार सेवाग्राही निमताराका लागि केवल तथ्यांक होइनन्।ती २० हजारभन्दा बढी भरोसाका कथा हुन्।‘हामीलाई माया गर्ने मानिसहरूलाई कहिल्यै भुल्न सक्दैनौँ’चार वर्षको यात्रालाई सम्झिँदा डा. सुवास जि.सि. को आवाजमा सेवाग्राहीप्रतिको कृतज्ञता झल्किन्छ।“स्थापना कालदेखि जिल्ला तथा छिमेकी जिल्लाका सेवाग्राहीबाट पाएको माया र विश्वासप्रति हामी गौरवान्वित छौँ,” उनी भन्छन्।
सेवाग्राहीको यही मायाले आफूहरूलाई थप जिम्मेवार बनाएको उनको भनाई छ।
तर विश्वास पाउनु जति महत्वपुर्ण छ,त्यसलाई कायम राख्नु अझ ठुलो जिम्मेवारी हो।
त्यसैले उनी सेवाग्राहीबाट सुझाव लिन तयार छन्।
स्वास्थ्य सेवा निरन्तर सुधारको विषय भएको बताउँदै उनी भन्छन्-सेवा प्रदान गर्ने क्रममा कुनै कमी वा त्रुटि भए खुलेर सुझाव दिनुहोस्।
किनकि कहिलेकाहीँ एउटा बिरामीको गुनासोले संस्थालाई सयौँ बिरामीका लागि अझ राम्रो बन्ने बाटो देखाउन सक्छ।बिरामीको अनुहारमा मुस्कान फर्काउने यात्रामा चिकित्सक मात्र हुँदैनन्।त्यहाँ नर्सिङ स्टाफ हुन्छन,प्रयोगशालामा परीक्षण गर्ने कर्मचारी हुन्छन,फार्मेसीमा औषधि व्यवस्थापन गर्ने हातहरू हुन्छन्,प्रशासन सम्हाल्ने कर्मचारी हुन्छन र बिरामीको सेवामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अनेकौँ हातहरू हुन्छन्।
चार वर्षको यात्रामा यी सबै हातको पसिना मिसिएको छ।चौथो वार्षिकोत्सवका अवसरमा सञ्चालक डा. प्रकाश जि.सि. ले दिनरात नभनी बिरामीको सेवामा खटिने सम्पुर्ण चिकित्सक,नर्सिङ स्टाफ तथा कर्मचारीप्रति विशेष आभार व्यक्त गरेका छन्।
उनका लागि यो उपलब्धि व्यक्तिगत उपलब्धि होइन।
यो सम्पूर्ण निमतारा परिवारको उपलब्धि हो।
चार वर्ष पुरा भयो,तर सपना अझै बाँकी छ,चार वर्षअघि बिजुवारमा एउटा सानो प्रयास सुरु भएको थियो।आज त्यो प्रयास हजारौँ नागरिकको स्वास्थ्यसँग जोडिएको छ।तर यात्राको गन्तव्य अझै टाढा छ।
सेवाग्राहीको आवश्यकता बुझ्दै थप सेवा विस्तार गर्ने,स्वास्थ्य सेवाको गुणस्तर निरन्तर सुधार गर्ने र नागरिकको पहुँचलाई अझ सहज बनाउने लक्ष्यसहित निमतारा अघि बढिरहेको छ।
किनकि स्वास्थ्य सेवामा ‘अब पुग्यो’ भन्ने ठाउँ हुँदैन।
हरेक दिन नयाँ बिरामी आउँछन,हरेक दिन नयाँ आवश्यकता जन्मिन्छ,हरेक दिन कसैलाई नयाँ आशा चाहिन्छ र हरेक दिन स्वास्थ्यकर्मीका अगाडि नयाँ जिम्मेवारी उभिन्छ।आफ्नै माटोमा फर्किएका दुई चिकित्सक दाजुभाइका लागि यो केवल एउटा स्वास्थ्य संस्था सञ्चालन गर्ने यात्रा होइन।यो आफूले सिकेको ज्ञान आफ्नै समाजलाई फर्काउने यात्रा हो।
यो केवल बिरामीको उपचार गर्ने यात्रा होइन,बिरामीको पीडामा साथ दिने यात्रा हो।यो केवल औषधि दिने यात्रा होइन,अप्ठ्यारोमा आशा दिने यात्रा हो।
यो केवल एउटा व्यवसाय सञ्चालन गर्ने यात्रा होइन,आफ्नो समाजप्रतिको जिम्मेवारी निभाउने यात्रा हो।
अन्त्य होइन,अर्को अध्यायको सुरुवात बिजुवारको एउटा कुनाबाट सुरु भएको निमताराको यात्रा आज प्युठानका धेरै घरपरिवारको स्वास्थ्यसँग जोडिएको छ।चार वर्षको यात्रामा उसले २० हजारभन्दा बढी सेवाग्राहीको उपचार गरेको छ।तर सम्भवतःयो यात्राको सबैभन्दा ठूलो उपलब्धि त्यो संख्या होइन।सबैभन्दा ठूलो उपलब्धि हो-कुनै बिरामीले कठिन समयमा निमतारालाई सम्झिनु,कुनै परिवारले उपचारका लागि यही ठाउँ रोज्नु,कुनै वृद्धले चिकित्सकलाई विश्वास गर्नु,कुनै आमाले आफ्नो सन्तानलाई लिएर ढुक्क भएर फर्किनु र कसैले उपचारपछि फर्कंदै गर्दा मनमनै भन्नु ‘राम्रो भयो, आफ्नै ठाउँमा यस्तो सेवा रहेछ।’चार वर्ष पूरा भएको छ।समयले चार वर्षको एउटा अध्याय बन्द गरेको छ।
तर सेवाको कथा बन्द भएको छैन।बरु,चार वर्षमा कमाएको विश्वासलाई साथ लिएर निमताराले आफ्नो यात्राको अर्को अध्याय सुरु गरेको छ।