राम बहादुर बिश्वकर्मा
प्युठान,लुङ्गको माटो,झिमरुकको सम्झना र राइनसम्म पुगेका पाइला यी सबैलाई एउटै कथामा जोड्दा बन्छ,मदनबहादुर केसीको जीवनयात्रा। वर्षौंको व्यावसायिक जिवन,देश-विदेशका यात्रा र समयले दिएका अनेकौँ अनुभुतिलाई अक्षरमा उतार्दै साहित्यकार केसीले आफ्नो दोस्रो कृति ‘लुङ्गदेखि राइनसम्म’ पाठकमाझ ल्याउनुभएको छ।
प्युठानको लुङ्गमा जन्मिएका केसीले जिवनमा देखेका,भोगेका र अनुभुति गरेका विभिन्न घटनालाई पुस्तकका पानामा सुरक्षित गर्नुभएको छ। जन्मभूमिको माटोदेखि देश - विदेशका यात्रासम्मका अनुभव समेटिएको १८८ पृष्ठको कृतिमा व्यक्तिगत जिवनसँग जोडिएका घटना,संघर्ष,पारिवारिक स्मृति, सामाजिक परिवेश,राष्ट्रियता तथा समयसँग सम्बन्धित विविध सवाललाई प्रस्तुत गरिएको छ।
साहित्य परिषद प्युठानको आयोजनामा जुम्रीमा आयोजित कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो। कार्यक्रममा साहित्य परिषद प्यूठानका उपाध्यक्ष ध्रुव गिरी र सदस्य भानुभक्त पौडेलले कृतिको समीक्षा गर्नुभएको थियो।समीक्षाका क्रममा कृतिमा समेटिएका यात्रा,जिवनभोगाइ,पारिवारिक स्मृति र सामाजिक पक्षका विषयमा चर्चा गरिएको थियो।
के.सि को जीवन साहित्य लेखनमा मात्र सीमित छैन। प्युठानबाट आफ्नो व्यावसायिक यात्रा अघि बढाउँदै वित्तीय क्षेत्रमा लामो समय बिताउनुभएका उहाँले विभिन्न बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको छ। जिल्लामा विकास बैंक स्थापनाको अवधारणालाई अघि बढाउँदै तत्कालीन झिमरुक विकास बैंक स्थापनामा समेत उहाँको भुमिका रहेको थियो। वित्तीय पहुँच विस्तार र रोजगारी सिर्जनाका क्षेत्रमा समेत उहाँले योगदान गर्नुभएको छ।
व्यावसायिक जिवनले उहाँलाई देशका विभिन्न ठाउँ र जर्मनका सहरसम्म पुर्याए पनि जन्मभुमि प्युठान भने उहाँको स्मृति र लेखनबाट कहिल्यै टाढा भएन। यही आत्मीयता ‘लुङ्गदेखि राइनसम्म’का पानामा पनि देखिन्छ।
कृतिको शीर्षकले नै लेखकको यात्रा र जन्मभुमिसँगको भावनात्मक सम्बन्धलाई संकेत गर्छ। लुङ्ग उहाँको जन्मभुमि हो भने राइनसम्मको यात्रा जिवनमा बटुलेका अनुभव र अनुभुतिसँग जोडिएको छ।यी दुई भुगोलबीचको यात्रालाई लेखकले व्यक्तिगत जिवनका विभिन्न प्रसङ्गसँग जोडेर प्रस्तुत गर्नुभएको छ।
कृतिमा ‘बम्बई यात्रा’,‘विप्लव र आन्तरिक नियात्रा’,‘पिताजीको पदचाप’, ‘लुङ्गखोलादेखि राइन नदीसम्म’ र ‘दिल्ली भ्रमण’ लगायतका विषय समेटिएका छन्। यी विषयले लेखकको व्यक्तिगत यात्रा र जीवनभोगाइसँगै उहाँले बाँचेको समय र देखेको सामाजिक परिवेशलाई समेत पाठकमाझ ल्याउने प्रयास गरेका छन्।
यसअघि ‘झिमरुकको तिरैतिर’ कृति प्रकाशन गर्नुभएका केसीले दोस्रो कृतिका रूपमा ‘लुङ्गदेखि राइनसम्म’ ल्याउनुभएको हो। पहिलो कृतिपछि प्राप्त पाठकीय प्रतिक्रिया र लेखनप्रतिको निरन्तरताले आफूलाई थप लेख्न प्रेरित गरेको उहाँको भनाई छ।
‘प्युठानको माटोलाई कहिल्यै भुल्न सक्दिनँ’
कृति विमोचन कार्यक्रममा बोल्दै के.सि ले आफ्नो जन्मभुमिप्रति गहिरो आत्मीयता रहेको बताउनुभयो।
“मेरो जन्मभुमि प्युठान हो। प्यूठानको माटोप्रति मेरो माया छ। म यहाँको माटोलाई कहिल्यै भुल्न सक्दिनँ,” उहाँले भन्नुभयो।
प्युठानसँगको यही भावनात्मक सम्बन्धले आफ्नो लेखनलाई समेत निरन्तर प्रेरित गरिरहेको उहाँको भनाइ छ। व्यावसायिक जीवनमा देशका विभिन्न ठाउँमा पुगे पनि जन्मभूमिको सम्झना सधैँ मनमा रहिरहने उहाँले बताउनुभयो।
प्रविधिको विकाससँगै हराउँदै पठन संस्कृति
कृति विमोचनका क्रममा लेखक केसीले पछिल्लो समय समाजमा पठन संस्कृति कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
प्रविधिको तीव्र विकासले मानिसको जीवन सहज बनाए पनि पुस्तक पढ्ने बानीमा भने कमी आएको उहाँको अनुभव छ। मोबाइल,सामाजिक सञ्जाल र डिजिटल माध्यममा मानिसको समय बढ्दै जाँदा पुस्तक तथा साहित्य पढ्ने संस्कार ओझेलमा पर्दै गएको उहाँले बताउनुभयो।
नयाँ पुस्तामा पठन संस्कृतिको विकास आवश्यक रहेकोमा जोड दिँदै उहाँले पुस्तक पढ्ने संस्कारले ज्ञान र चेतनाको विस्तारसँगै समाज र समयलाई बुझ्ने दृष्टिकोणसमेत फराकिलो बनाउने धारणा राख्नुभयो।
उहाँका लागि पुस्तक लेख्नु आफ्ना अनुभवलाई कागजमा उतार्नु मात्र होइन,ती अनुभव आगामी पुस्तासम्म पुर्याउने माध्यम पनि हो। त्यसैले पढ्ने र लेख्ने संस्कृतिलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ छ।
साहित्यिक जमघटमा कृतिको विमोचन
मदनबहादुर के.सि को दोस्रो कृति ‘लुङ्गदेखि राइनसम्म’ बिमोचन
साहित्य परिषद प्यूठानका अध्यक्ष विमला खनालको अध्यक्षता तथा परिषद्का पूर्वअध्यक्ष गेहराज थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। साहित्यकार बीपी सेडाईंले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष मोहन गिरी,जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रमणि पोख्रेल, समाजसेवी उमाराम पौडेल तथा जनता माध्यमिक विद्यालय बासबोटकी शिक्षिका लुइस्याङ के.सि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन साहित्य परिषद प्युठानका सचिव राजकुमारी कुँवरले गर्नुभएको थियो।
‘लुङ्गदेखि राइनसम्म’मार्फत केसीले आफ्ना जिवनका पाना मात्र पल्टाउनुभएको छैन,प्युठानको माटोसँग जोडिएको स्मृति,संघर्ष,यात्रा र समयलाई समेत अक्षरमा सुरक्षित गर्ने प्रयास गर्नुभएको छ। लुङ्गबाट सुरु भएको जिवनयात्रा राइनसम्म पुग्दा बटुलेका अनुभव अब उहाँको निजी स्मृतिमा मात्र सीमित छैनन् पुस्तकका पानामार्फत पाठकका लागि समेत एउटा यात्राको कथा बनेका छन्।
प्रतिक्रिया राख्नुहोस्