झग बहादुर विश्वकर्मा
भाद्र महिनाको ३० र ३१ गते मुस्ताङको घरपझोङ गाउँपालिकाले गापाको तथा मुस्ताङ जिल्लाकै केन्द्र जोमसोममा आयोजना गरेको जलवायु परिवर्तन राष्ट्रिय सम्मेलन २०८३ मा सहभागी हुन भाद्र २८ गते प्रस्थान गरियो।
उक्त सम्मेलनमा सहभागी हुनका लागि सरुमारानी गाउँपालिका, प्यूठानका प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्का,लामो समयदेखि विपद् फोकल पर्सनका रूपमा कार्यरत प्रशासकीय अधिकृत लक्ष्मण आचार्य,जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा तथा वातावरणीय विकासको क्षेत्रमा सरुमारानी गाउँपालिकासँग साझेदारी गर्दै आएको संस्था PEEDA का मोहन सुवेदी र गाउँपालिकाका चालक देवीराम चर्ती भाइ साथमा हुनुहुन्थ्यो।
पहिलो दिन हामी अर्घाखाँचीको सुपादेउराली, पाणिनी गाउँपालिका हुँदै रिडी पुगेर कालीगण्डकी करिडोर हुँदै अघि बढ्यौँ। मिर्मीमा रहेको कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम साइटमा झरेर दृश्यावलोकन गरियो। त्यसपछि कालीगण्डकी करिडोरमै निस्किएर हाम्रो यात्रा अघि बढ्यो।
बीचबीचमा पाणिनीका अध्यक्षज्यू टेकराज पौडेल, मालारानीका अध्यक्षज्यू दलबहादुर भट्टराई, गुल्मी छत्रकोटका अध्यक्षज्यू रामप्रसाद पाण्डेसँग करिडोरको अवस्थाका बारेमा फोन संवाद भइरहन्थ्यो। उहाँहरूले दिनुभएको सूचना, जानकारी र सल्लाहअनुसार हामी नहिँडेको त्यो रुटको यात्रा सहज भइरहेको थियो। त्यसका निमित्त उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
कालीगण्डकी करिडोर भारत, नेपाल र चीन जोड्ने महत्त्वपूर्ण सडकका रूपमा निर्माण भएको अनुभूति गर्दै क्रमशः गुल्मी,स्याङ्जा, पर्वत र बागलुङका पहाडी मनोरम दृश्यहरू हेर्दै पर्वतको कुश्मानजिक पुगेर सडकबाटै कुश्मा बजार र बन्जी जम्पिङका लागि प्रख्यात झोलुङ्गे पुलको माथिबाटै अवलोकन गरियो। मोबाइलमा केही दृश्य र तस्बिरहरू कैद गर्दै हाम्रो यात्रा बागलुङ बजारतर्फ अघि बढ्यो।
बुटवलमा आईएस्सी पढ्दाका पर्वतका साथी हिमलाल बसेलको याद आइरह्यो। फोन खोजेँ, भेटिएन। अनि चित्त बुझाउनका लागि मनले तरकिब सोचेछ—बसेलजीको घर कुश्मामा होइन, ढुक्क थाहा थियो। अनि मनमनै मेरो तरकिबले आफैँलाई ढाडस दियो-बसेलजीको घर त अलि भित्र, उत्तर या पोखरानजिक पो पर्दो हो!!
अब भने हामी बागलुङ बजारतिर लाग्ने रे! मनमा बागलुङ बजारको काल्पनिक चित्र अनि टिकटकमा देखिरहने पर्वत जोड्ने झोलुङ्गे पुलको कल्पना आयो। मन रोमाञ्चित भयो।
बागलुङ बजारलाई गाडीबाटै निहार्दै र मुस्ताङबाट फर्किँदा कालिका भगवतीको दर्शन गर्ने र राजस्व अधिकृत हाम्रा हिमाल भुसालसँग भेट्ने सल्लाह गर्दै हाम्रो यात्रा कालीगण्डकीको तिरैतिर म्याग्दीको सदरमुकाम बेनीतर्फ सोझियो।यही बीचमा हो या अलि माथि नै पुगेर हो, हिमाल सरलाई पनि फोनमार्फत सम्झिहालेँ र फर्किँदा भेट्ने बाचा पनि।
बेनी बजारलाई वारिबाट देख्दा एकातिर मन प्रसन्न भयो, तर तुरुन्तै मनलाई निराशा र डरमिश्रित आशंकाले छोप्दै गयो। बेनी बजार कालीगण्डकी र म्याग्दी नदीको दोभानको किनारामा अत्यन्तै होचो स्थानमा बसेको रहेछ। माथिबाट तीव्र वेगका साथ आएका दुई नदी जब आफ्नो पूर्ण बैँसमा हुँदाहुन्, त्यतिबेला बेनीवासीका आँखाले त्यो उन्मत्त बैँसलाई हेर्न नसकेर सायद आँखा छोप्छन् होला भन्ने अनुभूति गर्दै अनायासै रसुवाको भोटेकोशीमा भएको हालैको त्रासदीपूर्ण घटनाको नमिठो सम्झना मनमा आइदियो!!!
उफ!!!
मृतकहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना अनि बेपत्ता हुनुभएका हाम्रो पालिकाका किसान सोमै भाइलगायत हजारौँ नेपाली र विदेशी पर्यटकहरूको कुशलताको कामना र प्रार्थना पनि मनमै गर्न पुगेँ!!!
बिचित्र मनोदशा र मन व्यथित भयो!
बेनी बजार, जसरी तिम्रो सभ्यता सजिलै र रातारात बनेको हैन, त्यसरी नै त्यो लाखौँ लाख वर्षसम्म जीवन्त रहिरहोस् है।
बेनीमा केही बेर रोकिएर चिया खाई हाम्रो यात्रा कालीगण्डकीको तिरैतिर लेतेमा बास बस्ने गरी अघि बढ्यो। करिब ८ बजेतिर लेते पुगियो र SEE YOU Lodge भन्नेमा बसियो।
२९ गते
बिहानै जोमसोमतर्फको हाम्रो यात्रा प्रारम्भ भयो। कालीगण्डकीको बगर अपत्यारिलो ढंगले फराकिलो हुँदै गएको, कालीगण्डकीको वेग घटेर मन्द भएको तथा पानीको मात्रा र प्रभाव कम भएको दृश्यले फरक खालको अनुभूति भयो।
विपद्को आँखाबाट हेर्दा कालीगण्डकीको त्यो फराकिलो बगरमा हिमाल हुँदै टुक्रिएर बग्दै आएका लाखौँ-करोडौँ घनमिटर चट्टान,ग्रेगर र बालुवाको थुप्रोले नदीको सतह उठेर सडकसँग झन्डै बराबर हुन आएको दृश्यले गम्भीर जोखिम र संकटासन्नताको अनुभूति गरायो।
कालीगण्डकीको वारिपारि रहेको कोणधारी जंगलको हराभरा दृश्यले मनै लोभ्यायो। यसरी हाम्रो यात्रा मार्फातिर अघि बढ्यो। हामीलाई गाउँपालिकाले व्यवस्था गरेको होटल हिराचन होम्स रहेको मार्फा बजार पुगियो, तर हामी होटलमा प्रवेश नगरी जोमसोमतर्फ अघि बढ्यौँ।
जोमसोममा हामीभन्दा अघि पुग्नुभएका अर्घाखाँची मालारानीका अध्यक्ष दलबहादुर भट्टराई,पाणिनीका अध्यक्ष टेकराज पौडेल, शितगंगाका नगर प्रमुख छविलाल पौडेलजी लगायतको टोलीले पर्खिरहेको थियो।
मार्फाबाट जोमसोम पुग्न भने धेरै समय लाग्दो रहेनछ। जोमसोममा पुगेपछि अर्घाखाँचीका अध्यक्षजीहरूसँग भेट भयो। चिया खाएर गाडीमा तेल राखी हाम्रो टोली जोमसोमबाट कागबेनी हुँदै कोराला नाकातर्फ अघि बढ्यो।
कोराला नाका नेपाल-चीन जोड्ने नाकाहरूमध्ये अहिले महत्त्वपूर्ण नाकाका रूपमा रहेको छ। हालै आएको हिमाली सुनामीले रसुवागढी-केरुङ नाका पूर्ण रूपमा बन्द भएको छ भने हुम्लाको हिल्सा नाका र सिन्धुपाल्चोकको तातोपानी-खासा नाका पनि सञ्चालनमा छैनन्।त्यसैले यतिबेला नेपाल-चीनबीच व्यापार सञ्चालन भइरहेको एकमात्र नाकाका रूपमा कोराला नाका रहेको छ।
कागबेनीबाट कोरालातर्फ अगाडि बढ्दा सडकको अवस्था क्रमशः कच्ची देखिँदै गयो। केही पर पुगेपछि अग्लो पहाडतिर धुलाम्य सडकमा अघि बढ्यौँ। सडक ठाडो थियो।अझ त्यसमा कोरालातर्फबाट जोमसोमतर्फ झारिरहेका कन्टेनर र ईभी गाडीका लावालस्करहरूले उकालो चढ्न अझ चुनौती थपेको महसुस हुन्थ्यो।
सुरुकै ठाडो र चुनौतीपूर्ण उकालो बाटो र हामी चढेको फोर ह्विल नभएको पुरानो गाडीको अवस्थाले,नढाँटी भन्नुपर्दा,मनमा हल्का चिसो पस्यो।
एउटा उचाइमा पुगेपछि उत्तरतर्फ हेर्दा देखिने भू-दृश्यहरूले हाम्रो मन-मस्तिष्कलाई तरंगित र आनन्दित पनि बनाउँदै लगे। अचम्म त के लाग्यो भने, उचाइमा पुगेपछि फेदीमा झर्ने अनि केही समथर र सोझो सडकमा अघि बढ्ने, केही गाउँपालिकाहरू(दामोदर कुण्ड,लोमान्थाङ) का केन्द्रका समथर र पातलो मानव बस्तीबाहेक पूर्ण रूपमा निर्जन तर विचित्रको वनस्पतिरहित भू-बनोटको यसअघि कहिल्यै नजिकबाट नदेखेको दृश्यहरूको अवलोकन गर्दै हाम्रो यात्रा क्रमशः उचाइतर्फ अघि बढिरह्यो।
यसबीचमा लेक लाग्ने समस्याले हो या सवारीसाधनमा आएको समस्याले या अघि बढिरहँदा एकै खालको हिमाली मरुभूमिको पट्यारलाग्दो दृश्यले हो या सडकको उचाइ र अवस्थाले हो; केही गाउँपालिकाका साथीहरू बीचबाटै जोमसोमतर्फ फर्किनुभयो र हामीलाई पनि फर्किऔँ भन्नुभयो। तर हामी भने नेपाल–चीन सीमासम्म पुगेर चीनतर्फका दृश्यहरू हेरेर मात्र फर्किने संकल्पका साथ निरन्तर अघि बढिरह्यौँ।
लोमान्थाङबाट खाना खाएर कोरालातर्फ अघि बढेका हामी कोराला नाकामा नपुग्दै करिब १५-१६ किलोमिटर वर कन्टेनरहरूको जाम लागेको दृश्य देख्दा कतै यही त कोराला नाका होइन! भन्ने एकछिन दुविधामा पनि पर्यौँ। तर त्यो त नेपालतर्फको भन्सार कार्यालय रहेको ल्होचे पो रहेछ।
कोराला त त्यहाँदेखि अहिलेसम्म पार गर्दै आएका ठाउँहरूमध्ये सबैभन्दा अग्लो,४,७०० मिटर अग्लो पहाड चढेर पो पुगिँदो रहेछ!!मन हल्का आत्तिएजस्तो पनि भयो।
बीचबीचमा सोधेजस्तै मोहन सुवेदीलाई सोधेँ-“मोहनजी, कति हाइटमा आइयो होला ह?”
उहाँले एकैछिन मोबाइल निकालेर हाइट नापेर भन्नुभयो-“अहिलेसम्मको सबैभन्दा उचाइमा आइएछ, ४२०० पो चढियो।”
यसो तलबाट घाँटी तन्काएर आकाशतिर हेरेको त कछुवाजस्तै धिमा गतिमा उकालो चढिरहेका कन्टेनरहरू आकाशतिर उक्लिरहेको जस्तो पो लाग्यो। अनि हामी फोर ह्विल नभएको पुरानो गाडीमा त्यही आकाशतिर धुरीमा उक्लिँदै छौँ भन्ने कल्पनाले एकपटक मन रोमाञ्चित र सिरिङ्ग पनि गर्यो।
यसो मनमनै सोचेँ—कतै चालक भाइलाई पनि मलाई जस्तै त भइरहेको छैन? पुलुक्क अनुहारमा हेरेँ अनि उनको आत्मबल र मनको विचार बुझ्नका लागि प्रश्नको जटारो फालिदिएँ-“ए देवीराम भाइ, माथि हेर्दा त आकाश चढेको जस्तो पो लाग्यो त! ऊ त्यो डाँडाको टुप्पामा देखिएका कन्टेनरहरू त बामे सरेजस्तो पो लाग्यो!हाम्रो फुच्चेमा त अझ फोर ह्विल पनि छैन!”
भाइको अनुहारमा मुण्टो छड्के पारेर निहुरिएँ, तर कुनै डरको भाव भने महसुस गरिनँ। एकटक बाटोमै ध्यान थियो। एकैछिनमा सिधा हेर्दै भाइको उत्तर रोचक पो आयो-“कन्टेनर त चौँरीगाईजत्रा पो देखिए त! बाटो उकालो भए पनि ग्रेड मिलेको छ र धुलो छैन। हामी ढुक्कले जान्छौँ।”
देवीराम भाइको उत्तरमा बलियो आत्मविश्वास झल्किन्थ्यो।नबोले पनि भित्रभित्र अलिअलि डराएका हामी भित्रभित्र नै आश्वस्त भयौँ, सायद!!
सबैभन्दा अग्लो सतहमा पुग्दा मैले मोहनजीलाई सोधेँ-“कति छ उचाइ?”
उहाँले हाजिरीजवाफ शैलीमा फुआट्टै भन्नुभयो-“४७१३ देखायो!!”
फर्केर यसो हेरेको, हातैमा मोबाइल रहेछ!! कतै न कतै हामीभित्र उचाइको डरले हुनुपर्छ (??), कति अग्लोमा आइपुगियो होला भनेर थाहा पाइरहन मन लाग्ने मनोवैज्ञानिक स्थिति विकास भएको थियो, शायद!!
धुरीमा पुगेर यसो उत्तर-पश्चिम हेर्दा विशाल फाँट पो देखियो। अलि पर केही भवनहरू पनि देखिए। मन फुरुङ्ग भयो-सबैको मुखबाट एकैसाथ निस्कियो-“आइयो!”
मलाई चिच्याएर भन्न मन लाग्यो-“आइयो, आइयो!!!” तर चिच्याउन सकिनँ।आँखाहरू एकटकसँग ठूलो भवन, ईभी गाडीका थुप्रा अनि दायाँबायाँ र अगाडिको विशाल मैदान, हावाको तीव्र गति, अझ उचाइमा देखिएका हिमाल र वरिपरिको बादल र कुहिरोतिर नै सोझिइरहे। हामी अवाक्, मन्त्रमुग्ध र सम्मोहनको स्थितिमा!!
अन्ततः नेपालको भूमिमा उभिएर चीनको भुमि र मानव निर्मित संरचनाहरू नियाल्दा नियाल्दै मस्तिष्कले हाम्रोतिरको अवस्थासँग तुलना गरिहालेछ!
खै त हाम्रोतिर भवनहरू! अन्य संरचनाहरू!!
ठुलै बस्ती बस्न सक्ने जस्तो ठाउँमा एउटा सानो घर देखियो, बाँकी त हाम्रोतिरका व्यापारीहरूले तम्बु/पाल टाँगेका झुप्राहरू र त्योभित्र सानो बजार!!
उदेक लाग्यो।भन्सार नै त्यति तल १५-१६ किमि टाढा बगरमा रहेछ!! सशस्त्र प्रहरीहरू टिठलाग्दोसँग बसिरहेका। उता चीनतर्फ हेर्दा भव्यता र सम्पन्नता झल्किरहेको जस्तो, अनि यता भने हरितन्नम र राज्यको बेवास्ताको छर्लङ्ग तस्बिर!!
लघुताबोध पनि भयो। धेरै बेर बस्न पनि मन मानेन हाम्रो, किनकि चीनले बेचेका ईभी गाडीका बथान र पालमुनिका नेपाली व्यापारीहरूको अवस्थाले मन कुँडिएको थियो।प्रहरीलाई दुई देशको सीमा सोधेँ। उनले दक्षिणतिरको सानो गोरेटो देखाए अनि नेपालको र चीनको पहाड पनि चिनाए।
केही क्षणपछि हामी फर्किंदै गर्दा हल्का समीक्षा पनि गर्दै ओरालो, तेर्सो, उकालो, फेरि ओरालो गर्दै ८ बजेतिर मार्फाको होटल हिराचन होम्समा आइपुगियो।
३० गते
बिहान भने ८ बजेबाट नै सुरु हुने भनिएको कार्यक्रममा सहभागी हुन कार्यक्रमस्थल जोमसोममा रहेको घरपझोङ गाउँपालिकाको कार्यालयतिर लागियो। हामी पुग्दा जोमसोममै बसाइ भएका सहभागीहरू प्रायः आइसक्नुभएको थियो।
केहीबेरपछि स्थानीय झाँकीहरूसहित लामाहरूको अगुवाइमा हाम्रो जुलुस सभाहल रहेको स्थलतर्फ अघि बढ्यो। बाटोमा टेलिभिजनहरूले लाइभ प्रसारण गर्दै अघि बढेका थिए। हाम्रो गाउँपालिकाको ब्यानर बोकेको देखेर पनि होला, दुईवटा टेलिभिजनसँग छोटो अन्तर्वार्ता दिने अवसर पनि मिल्यो।
यसरी हाम्रो जुलुस सभाहलमा भित्रिएपछि केही बेरमा नेपाल सरकारका मन्त्री गीता चौधरी, सङ्घीय सांसद मुस्ताङ, गण्डकी प्रदेशका मन्त्री, पूर्वसांसदहरू, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष र महासचिव, नेपाल नगरपालिका सङ्घका अध्यक्ष, स्थानीय सरकारका प्रमुखहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, पत्रकारहरू लगायतको संक्षिप्त शुभकामनासहित कार्यक्रम सुरु भयो।
सोही दिन खाना पछि पनि वातावरण विज्ञहरू लगायतबाट जलवायु परिवर्तनका असर र अनुकूलनका योजनाहरूको सन्दर्भका प्रस्तुति गर्नुका साथै प्यानलगत छलफल र जिज्ञासा सम्बोधन सेसन पनि रह्यो।
शुभकामना मन्तव्य र विज्ञहरूका प्रस्तुतिमा समान महत्त्वका साथ जोड दिइएको विषय भनेको विश्व मञ्चहरूमा हामीले भोगेका जलवायु परिवर्तनजन्य चुनौतीहरूलाई हामीले सामना गर्न परिरहेको, जलवायु परिवर्तनका निमित्त विकसित र औद्योगिक देशहरूको तुलनामा हामी साह्रै कम जिम्मेवार रहेको, भर्खरै आएको हिमाली सुनामीले हाम्रो सभ्यता नै नष्ट गर्ने तहमा पुर्याएको सन्दर्भमा जलवायु न्यायका लागि विश्वका बढी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रहरूलाई घच्घच्याउनुपर्नेमा जोड दिइएको थियो।
साथै प्रधानमन्त्री बालेन्द्र शाहले निकट भविष्यमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हामीले भोग्नुपरेको र भविष्यमा पनि रहेको जोखिमलाई न्यूनीकरण गर्न विश्व समुदायको ध्यान तान्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा सबैको जोड रह्यो।
अन्तिम दिन भने त्यो क्षेत्रका स्याउ खेती अवलोकन गरियो। कर्मा गुरुङको वार्षिक करिब २० करोडको कारोबार हुने स्याउ बगान हेरियो र कार्यक्रमस्थलमा फर्केर यति ठूलो कार्यक्रम आयोजना गरेर हामी स्थानीय तहहरूकै गौरव बढाउनुहुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र जमुना थकाली मगरलाई भेटी सरुमारानी गाउँपालिकाको मायाको चिनो प्रदान गर्दै उहाँहरूलाई बधाई, धन्यवाद, आभार र स्वर्गद्वारी लगायत प्यूठान भ्रमणको निमन्त्रणा दिँदै उहाँहरूको मायाको चिनो बोकेर खाना खाइवरी मार्फातिर हुइकियौँ।
५ वटा वडा र ३१६ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको घरपझोङले कृषि, खास गरी स्याउ र उवा खेती अनि मार्फा र लोकल रक्सीको उत्पादन र बजारीकरण गरेको रहेछ। त्यस्तै प्रसिद्ध र पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर पनि रहेकाले धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमार्फत पनि आयआर्जन गरेको रहेछ।
त्यो दिन बागलुङ बजारमा रहनुभएका हाम्रो पालिकाका तत्कालीन कुशल र युवा लेखापाल अनि हाल आन्तरिक राजस्व कार्यालयका अधिकृत, प्युठानी–दङाली, मेरो मन पर्ने मान्छे हिमाल भुसालको न्यानो आतिथ्यता, त्यो पनि मीठो खाजासहित, बुर्तिबाङ पुग्नुपर्ने मानसिक दबाबले एक क्लिक फोटो खिच्न पनि भुलेर हिँडिएछ।
साँझको बास बुर्तिबाङ अनि मध्यपहाडी लोकमार्ग हुँदै रुकुम पश्चिम मुसिकोट नगरपालिकामा खाना खाएर राति घर आइपुगियो।
यति लामो मुस्ताङ डायरी पढिदिनुभएकोमा धन्यवाद।
बिश्वकर्मा
सरुमारानी गाउँपालिका अध्यक्ष हुनुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्