राम बहादुर बिश्वकर्मा
प्युठान,प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएसँगै दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय तहमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ।अस्पताल उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाउँमुखी बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।
‘डाक्टरहरूलाई सहरमुखी होइन,गाउँमुखी बनाउन हामीले ध्यान दिएका छौँ।सुगम ठाउँभन्दा पनि दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको छ,’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यस अस्पतालमा जनशक्तिको व्यवस्थापन गर्नेछौँ।डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि पठाउनेछौँ ।’
१९ करोड ३ लाख ४५ हजार ५ सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो । उद्घाटनसँगै अस्पतालबाट स्वास्थ्य सेवा समेत सुरु भएको छ ।
अस्पताल सञ्चालनमा आएपछि गौमुखी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारलाई अघि बढाएको बताउनुभयो । अस्पतालको भौतिक संरचना निर्माणसँगै आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको पर्याप्त व्यवस्थापनमा समेत ध्यान दिइने उहाँको भनाइ थियो ।
‘अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गरेर नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक छ,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले पछिल्लो समय ३५ वर्षका उपलब्धिलाई बिर्सिएर ‘केही भएन’ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । जनताको सेवाका लागि हरेक सुखदुःखमा साथ दिँदै राजनीतिक संस्कार, समन्वय र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।
स्थानीय तहका साझा समस्या समाधान गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताउँदै उहाँले अधुरा तथा अपुरा आयोजनाको प्रदेश सरकारले अनुगमन गर्ने र आवश्यकताअनुसार समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले आधारभूत अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा उपकरण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । अस्पताल सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि संवेदनशील भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तराज परसाई कलगायतले अस्पतालबाट स्थानीय नागरिकले सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैशीका अनुसार अस्पताल सञ्चालनमा आएसँगै गौमुखी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई स्थानीय तहमै सामान्य स्वास्थ्य उपचार,स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवा उपलब्ध हुनेछ ।
कार्यक्रममा गाउँपालिकाले अस्पतालका लागि आवश्यक जनशक्ति तथा उपकरणको प्रबन्धसहित चारवटा विभिन्न आयोजनालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गर्न मुख्यमन्त्रीसमक्ष माग गरेको थियो।त्यस्तै,महेन्द्र माध्यमिक विद्यालय,पुजा,कोड्का,प्युठानले विद्यालय भवन निर्माण पुरा गर्न आवश्यक बजेट प्राथमिकतामा राख्न मुख्यमन्त्रीसमक्ष अनुरोध गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्