राम बहादुर बिश्वकर्मा
प्युठान,घरको एउटा कुनामा बिस्तारा थियो।बिस्तारामा थिइन् एक ज्येष्ठ आमा।उमेरसँगै शरीर कमजोर हुँदै गएको थियो।आँखाले धेरै कुरा देखे पनि शरीरले साथ दिन छाडिसकेको थियो। उठेर आँगनसम्म आउन पनि सहारा चाहिन्थ्यो।
वडा कार्यालयसम्म पुग्ने कुरा त झन् टाढाको थियो।तर उहाँले पाउने सामाजिक सुरक्षा भत्ता भने रोकिँदैनथ्यो।त्यो उहाँको अधिकार थियो,बुढेसकालको सहारा थियो। त्यसका लागि नवीकरण गर्नुपर्ने समय आयो।
आमा आफैं वडा कार्यालय जान सक्ने अवस्थामा हुनुहुन्थेन।त्यसपछि वडा कार्यालयले सोच्यो“जब नागरिक सेवा लिन आउन सक्दैनन् भने,सेवा नै नागरिकको घरमा किन नपुर्याउने?”र,यसपटक कार्यालयले नागरिकलाई बोलाएन।कार्यालय आफैं नागरिकको घरतिर लाग्यो।ऐरावती गाउँपालिका-५ का वडा अध्यक्ष चन्द्र बहादुर रोकाको नेतृत्वमा वडा कार्यालयसम्म आउन नसक्ने डाँडाखर्क,बालिबिसौना र गोठिबाङका अशक्त तथा ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको हो।
बिस्तारामा थलिएकी ती आमाका लागि त्यो दिन अरू दिनजस्तो थिएन।आफ्नो कामका लागि टाढाको कार्यालय पुग्नुपर्ने चिन्ता थिएन।कसैलाई गुहार मागेर लैजानुपर्ने अवस्था थिएन। बरु सरकारी सेवा लिएर जनप्रतिनिधि र कर्मचारी आफ्नै घरको आँगनमा आइपुगे।
सायद उहाँको मनमा त्यतिबेला एउटै कुरा चलेको हुनुपर्छ“म जान नसके पनि मेरो सरकार म सम्म आइपुगेछ।”
यो केवल सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया थिएन। यो अशक्त शरीरप्रति देखाइएको सम्मान थियो। उमेरले कमजोर बनाएका नागरिकप्रति गरिएको एउटा आत्मीय व्यवहार थियो।
सामान्यतया नागरिक सेवा लिन कार्यालय पुग्छन्। कार्यालयको ढोकामा पुगेर आफ्नो समस्या सुनाउँछन्। कागज बुझाउँछन् र सेवा लिएर फर्किन्छन्।तर सबै नागरिकका लागि यो सम्भव हुँदैन।कसैका खुट्टाले बाटो टेक्न सक्दैनन्। कसैको शरीरले लामो यात्रा धान्न सक्दैन।कसैलाई घरबाट बाहिर निकाल्नसमेत परिवारका धेरै हात चाहिन्छ। अनि कसैका लागि त बिस्ताराबाट उठेर ढोकासम्म पुग्नु नै ठूलो संघर्ष हुन्छ।
डाँडाखर्क, बालिबिसौना र गोठिबाङका यस्तै नागरिकको पीडा बुझेर वडा घरदैलोमा पुगेको हो।केही किलोमिटरको दुरी सामान्य मानिसका लागि सानो हुन सक्छ। तर अशक्त ज्येष्ठ नागरिकका लागि त्यही दूरी ठूलो पहाड बन्न सक्छ। यसपटक त्यो पहाड नागरिकले चढ्नुपरेन।
वडाले नै त्यो दुरी पार गर्यो
घरको आँगनमा जनप्रतिनिधि र कर्मचारी देखिँदा त्यो केवल सरकारी टोलीको आगमन थिएन। त्यो उनीहरूलाई राज्यले सम्झिरहेको छ भन्ने अनुभुति पनि थियो।सामाजिक सुरक्षा भत्ता उनीहरूका लागि केवल खातामा आउने रकम होइन।बुढेसकालमा औषधि किन्न,दैनिक आवश्यकता पुरा गर्न र परिवारमाथिको आर्थिक भार केही कम गर्न यसले ठुलो अर्थ राख्छ।
त्यसैले नवीकरणका लागि अशक्त शरीर बोकेर कार्यालय धाउनुपर्ने बाध्यता हट्नु आफैंमा ठुलो राहत हो।वडा अध्यक्ष रोकाका अनुसार कार्यालयसम्म आउन नसक्ने अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको हो।
रोकाको नेतृत्वमा घर-घर पुगेको टोलीले कागजी प्रक्रिया मात्र पूरा गरेन। उसले एउटा मानवीय सन्देश पनि बोकेको थियो-जनप्रतिनिधि भनेको चुनावका बेला मात्र नागरिकको घरमा पुग्ने व्यक्ति होइन,नागरिकलाई आवश्यक पर्दा दुःख-सुखमा साथ दिने व्यक्ति पनि हो।
सायद ती आमाको शरीरले वडा कार्यालयसम्म पुग्ने यात्रा गर्न सकेन।तर उहाँको अधिकारले यात्रा गर्यो।
वडा कार्यालयबाट निस्किएको सेवा उहाँको बिस्तारासम्म आइपुग्यो। एउटा अनलाइन नवीकरणको प्रक्रिया पूरा भयो। तर त्यससँगै अर्को महत्वपुर्ण काम पनि भयो नागरिक र राज्यबीचको दुरी केही घट्यो।कहिलेकाहीँ नागरिकलाई राज्य ठुलो भवनमा होइन,आफ्नो घरको आँगनमा देखिन्छ।कहिलेकाहीँ सरकारको अनुभुति ठुलो घोषणा वा कार्यक्रमबाट होइन,बिस्तारामा लडिरहेको वृद्धको हात समाउँदै “तपाईंको काम गर्न हामी आएका हौँ” भन्ने एउटा वाक्यबाट हुन्छ।ती आमाका लागि वडा कार्यालयसम्म पुग्न नसक्नु कमजोरी हुन सक्छ,अशक्तता हुन सक्छ।तर त्यसले उहाँको अधिकारलाई कमजोर बनाउँदैन।
उहाँले पाउने सेवा उहाँसम्म पुग्नैपर्छ।त्यसैले ऐरावती-५ मा गरिएको यो घरदैलो सेवा एउटा सामान्य प्रशासनिक कामभन्दा माथि उठेको छ। यसले सम्झाएको छ सरकार जनताका लागि हो भने,सबैभन्दा कमजोर अवस्थामा रहेका नागरिकसम्म पुग्नु नै सुशासनको सबैभन्दा सुन्दर रूप हो।बुढ्यौलीले थलिएको शरीरले बाटो हिँड्न नसके पनि राज्यको सेवा पाउने बाटो बन्द हुनु हुँदैन।किनकि नागरिकको घरसम्म पुग्ने एउटा सानो कदमले पनि कसैको मनमा ठुलो भरोसा जगाउन सक्छ।र,त्यो दिन ती आमाको बिस्तारासम्म पुगेको टोलीले सायद यही भनिरहेको थियो“आमा,तपाईं वडा कार्यालयसम्म आउन सक्नुभएन भने केही छैन, तपाईंको सेवा गर्न वडा नै तपाईंको घरमा आएको छ।”
प्रतिक्रिया राख्नुहोस्